
- विरशवावु शाही /पूर्णपुष्टि
- गाइघाट, असोज १६ ।
त्रियुगा नगरपालिकाले डेंगी तथा किटजन्य रोग नियन्त्रण तथा रोकथामका लागि आज (शुक्रबार) देखि नगरभरि ‘हरेक शुक्रबार, सफा शुक्रबार’ अभियान सञ्चालनमा ल्याएको छ।
असोज महिनाभरि सञ्चालन हुने यस अभियानअन्तर्गत नगरपालिकाका १६ वटै वडामा रहेका सार्वजनिक स्थल, सरकारी तथा निजी कार्यालय, विद्यालय र समुदायमा पुगेर लामखुट्टेको सम्भावित प्रजननस्थल खोजी गरी नष्ट गरिनेछ।
अभियानका विषयमा जानकारी दिँदै नगरप्रमुख बसन्त बस्नेतले डेंगीको जोखिम घटाउन स्थानीय समुदायकै सक्रिय सहभागिता आवश्यक रहेकाले अभियान सुरु गरिएको बताए। उनका अनुसार विशेष गरी डेंगीको बढी जोखिम मानिएका वडा नं. ३, १०, ११, १२ र १३ मा विभिन्न सरकारी तथा सामाजिक संस्थाहरूको सहकार्यमा बिहान ६:३० देखि ८:३० बजेसम्म विशेष ‘खोज र नष्ट गर’ (Search and Destroy) कार्यक्रम सञ्चालन गरिएको छ।
यस अभियानका साथै नगरपालिकाले डेंगी रोकथामका लागि नगरवासीमा जनचेतनामूलक प्रचारप्रसार, विद्यालयहरूमा स्वास्थ्य शिक्षा र व्यापक सरसफाइ कार्यक्रमसमेत थप प्रभावकारी रूपमा अघि बढाउने जनाएको छ। नगरपालिकाले सम्भावित महामारीबाट जोगिन आफ्नो घर-आँगन र वरपर पानी जम्न नदिन तथा सरसफाइमा ध्यान दिन नगरवासीमा अपिलसमेत गरेको छ।
