चौथो पत्र

गोठकृष्ण ठकुरी

निक्कै सताई रहेछ अचेल तिम्रो यादले । यदि तिम्रो यादहरुको यो सम्पति बेच्न कुनै बजार पाए तिम्रो बालबच्चा र तिम्रो बुढो संसारकै धनी परिवारमा गनिने थियो । बुढि पत्र लेख्दा पीडा त कम नहुँदो रहेछ मात्र सहने बानीको विकास चाहिँ हुँदो रहेछ । बुढि मलाई त के छ र हिजो पनि एक्लै थिएँ । आज पनि एक्लै छु । चिन्ता यति मात्र हो, तिमीले आफ्नो जीवन पुरा जिउन पाएनौ । मेरो मन साँघुरो भएर होला तिमीले आकाश रोज्यौ । प्रयास त गरेकै हो हामीले तिमीलाई निको बनाउन भाग्यमा आएर अड्कीनु प¥यो । तिमीले नै भनेकी थियौ । मन दरो बनाउनु, मैले मन यति दरो बनाएको छु कि अब तिमी बाहेक कसैले तोड्न सक्दैन । तिमीले भनेको होईन हिम्मत नहार्न, हारेको छैन बुढी मैले हिम्मत । हिम्मत गरेरै तिमीले छाड्दा पनि बाँचीरहेको छु र हेरिरहेको छु सबै कुरा ।

उस्तै छ
मोतिगडा चोक
अनि चोकमा
तिमीले खाने
चाउमिन पसल
उस्तै छ
चौधरी टोल हुँदै
तिमीले माइत जाने बाटो
ठाडी खोला
त्यो फ्याक्टरी
अनि हरेक साँझ
तिमी फर्की आउने
तिम्रो पुरानो घर
उस्तै छ
मेरो बाटो हेरेर
तिमी उभिने घर अगाडिको सडक
बरण्डा, दलान
घरको ढोका देखि
आगनको डोकासम्म
सबै उस्तै छ
खोज्दै जाने हो भने
अझै ताजै भेटिदो हो
ठाडी खोला किनारै किनार
तिमी र मैले हिडेका पाइतालाका डोबहरु
अझै उस्तै होला
झण्डी डाँडा पारी
तिमीले र मैले झारेका
गायोका रुखहरु
त्यतै होला
ख्याँक्क ख्याँक्क खोकेर
हामीलाई तर्साउने
बाँदरका बथानहरु
अझै उस्तै होला
तिमी र मैले डुलेका रनवन
सावेकट्टा डाँडा
हावा खाने डाँडा
रातो पैरो
तरुनी चोक
जहाँ हामीले साटेका थियौँ
माया प्रेम
अझै उस्तै होला
तिमी र मैले सेउला विछाएर
थकाई मारेका ठाउँहरु
उस्तै छ
गाईघाट बजार
तिमीले दलाली गर्ने कपडा पसल
पिपल चोकको मम पसल
भेनाजुको कस्मेटिक पसल
शुभ लक्ष्मी सिनेमा हल
सबै उस्तै छ
छैनौ त केवल तिमी
अचेल
मोटर बाइकमा
भित्रि मधेश गाईघाटबाट
तल बाहिरी मधेश झर्छु
गोरो गाउँको म
कालो गाउँमा काम गर्छु
रंगहरु बीचको यो चालिस किलोमिटर यात्रामा
असी पटक जति म तिमीलाई सम्झन्छु
कहिले किराले आँखामा हिर्काएर आँसुआउछ त
कहिले तिम्रो यादहरुले हिर्काएर आँसु आउँछ

बाँकी अर्कोमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: