पूर्णपुष्टि/उदयपुुर साउन १
जिल्ला अदालत उदयपुरले न्याय सम्पादनमा अहिलेसम्मकै ऐतिहासिक रेकर्ड राखेको छ । ५४ वर्षे इतिहास बोकेको अदालतले आर्थिक वर्ष २०७४/०७५ मा सबैभन्दा बढी मुद्दा दर्ता र फछ्र्यौटको रेकर्ड राखेको हो ।
जिल्ला न्यायाधीस तेजेन्द्रप्रसाद शर्मा सापकोटाका अनुसार अदालतप्रतिको सर्बसाधारणको विश्वास बढेकाले मुद्दा संख्या बृद्धि भएको र सोही ढंगले न्याय सम्पादन गरिएकाले अहिलेसम्मकै राम्रो उपलब्धी हाँसिल भएको हो । कुल मुद्दा संख्या एक हजार चारसय १५ वटा रहेकामा एकहजार ६४ वटाको न्याय सम्पादन सकिएको छ । मुद्दा फस्यौट संख्या ३ सय ५१ मात्र रहेका छन् ।
पाँचसय ८५ वटा मुद्दा अघिल्लो वर्षबाट सरिआएकोमा ८ सय ३० वटा नयाँ मुद्दा दर्ता भएको हो । अघिल्लो आर्थिक वर्षमा ७० प्रतिशत मुद्दा फछ्र्यौटको लक्षसमेत पुरा गर्न नसकेको ग वर्गको सो अदालतले ७५ दशमलब १९ प्रतिशत फस्र्यौट गरेको हो ।
विगतको ढिला न्याय सम्पादनलाई ध्यानमा राख्दै दुुई जना न्यायाधीस, कर्मचारीहरु खटिरहेकाले उपलब्धी सम्भव भएको हो । अर्का न्यायाधीस तीर्थराज के.सीले बताउनुभयो । छिटो न्याय सम्पादनबाट बादी र प्रतिवादी दुबैका लागि फाईदाजनक रहेको उहाँले बताउनुभयो ।
यसअघिका चार आर्थिक वर्षलाई हेर्दा ०७०/७१ मा लगत मुद्दा एकहजार दुईसय ८७ मा नौंसय १३, ०७१/७२ मा एकहजार ८४ मा आठसय दुई, ०७२/७३ मा एकहजार ९७ मा छसय ४२, ०७३/७४ मा एकहजार एकसय ७६ मा पाँचसय ९१ मात्र फछ्र्यौट गरेको अभिलेख छ ।
पुराना मुद्दा पछ्यौटलाई प्राथमिकता दिइएकाले २ वर्ष नाघेको मुद्दा सुन्यामा झरेको छ । १८ महिनादेखि २ वर्षभित्रका मुद्दा पनि २ वटा मात्र छन् । १ वर्षदेखि १८ महिनाभित्रका ५० र नौं महिनादेखि एक वर्षभित्रका ८८ वटा मुद्दा छन् । अवको चालु आर्थिक वर्षदेखि एक वर्ष नाघेका मुद्दा सुन्यमा झार्ने लक्ष लिएको अदालतमा नौं महिनाभित्रका २११ वटा मुद्दा छन् ।
न्याय सम्पादन अलावा अन्य व्यवस्थापकीय पक्ष प्रभावकारी रहेकाले अदालतले लक्ष भन्दा बढि उपलब्धी हाँसिल गरेको स्रेस्तेदार ऋतबहादुर पुलामी मगरले बताउनुभयो । सिर्जनशिल नेतृत्व, कर्मचारीको सक्रियता, सेवा प्रवाह र प्रक्रियामा पारदर्शीताकाले पनि उपलब्धी हाँसिल भएको उहाँको भनाई छ । मुद्दाको प्रकृति हेर्दा सबैभन्दा बढी विगो भर्याउने र बण्डा छुट्याउने रहेका छन् । विगो भर्याउने ७३ र बण्डा छुट्याउने ४९ रहेको तहसिलदार कुलबहादुर खत्रीले बताउनुभयो ।
मेलमिलापलाई पनि महत्व दिदै आएको अदालतले यस आर्थिक वर्षमा एकसय दुई वटा मेलमिलापमा पठाएको छ ।
यसरी अदालतबाट न्याय सम्पादन छिटो छरितो भएपछि पिडितले वास्तविक न्यायको प्रत्याभूति गर्ने नेपाल बार एशोसिएसन उदयपुरका अध्यक्ष शिव कार्कीले बताउनुभयो । २०२१ सालमा उदयपुरगडीमा स्थापना भएको जिल्ला अदालत २०२८ सालदेखि सदरमुकाम गाईघाटमा रहेको छ ।