जनकपुरमा विवाह पञ्चमीको रौंनक, सीतारामको विवाह महोत्सव

पूर्णपुष्टि, मंसिर २२
जनकपुरधाममा आज विवाह पञ्चमीको रौंनक छाएको छ । सीता र रामको विवाह महोत्सव धुमधामका साथ मनाईदैँ छ । मंसिर शुक्ल पञ्चमीका दिन त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान राम र आदर्शनारी सीताको विवाह भएको हो । सोही दिनको सम्झनामा विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ । विवाह महोत्सवका अवसरमा बुधबार प्रदेश २ सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।
विवाह पञ्चमीमा राम जानकीको डोलालाई जनकपुरमा स्वयम्बर गरी वैदिक परम्परा अनुसार विवाह गर्ने प्रचलन छ । बुधबार दिउँसो साधुसन्तको अगुवाइमा झाँकी, किर्तनसहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निकालेर ऐतिहासिक रंगभूमि मैदान (बाह्र बिघा)मा डोलाफेर गरी सीतारामको स्वयम्बर हुने कार्यक्रम रहेको छ ।
रामजानकीको डोलासहित जनकपुरधाम नगर परिक्रमा गर्दै जानकी मन्दिरमा साँझ प्रवेश गरेपछि रामजानकीको विवाहको कार्यक्रम हुनेछ । राम मन्दिर र जानकी मन्दिरबाट डोला निस्केपछि डोला दर्शन गर्न श्रद्धालु भक्तजनहरुको व्यापक भिड रहन्छ ।
यस महोत्सवमा दर्शनका लागि नेपाल तथा भारतका विभिन्न स्थानहरुबाट लाखौँ श्रद्धालु भक्तजनहरु जनकपुरधाम आएका छन् । साताव्यापी रुपमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सवमा नगरदर्शन, फूलबारी लिला, धनुषा यज्ञ, तिल्कोत्सव, मटकोर कार्यक्रम सम्पन्न भइसकेको छ भने आज सीतारामको विवाह पश्चात बिहीबार रामकलेवा गरी विधिवत रुपमा विवाह पञ्चमी महोत्सव समापन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0