जिल्ला अस्पतालप्रति चिन्तित हुदै नागरिक सामाजिक अभियान समिति गठन

पूर्णपुष्टि, मंसिर २२ गते ।

जिल्ला अस्पताल उदयपुरबाट नागरिकहरुले प्रभावकारी सेवा नपाएको भन्दै नागरिक सामाजिक अभियान समिति गठन भएको छ । नागरिकको तर्फबाट अस्पतालको सुधारका लागि ठोस कदम चाल्ने भन्दै समिति गठन भएको हो ।

सरकारी अस्पताल भएर पनि सामान्य उपचार र औषधिसमेत नागरिकले पाउन नसकेको भन्दै आइतबार गाईघाटको थारुहट रंगशालामा भएको नागरिक भेलाले किरण राईको संयोजकत्वमा समिति गठन गरेको हो । सुमन्त कोइराला उपसंयोजक र सिर्जना दनुवार सचिव रहेको समितिले नागरिकहरुलाई स्वस्थ्य चेतना जगाई सरकारी हस्पिटलबाट नागरिकले पाउनु पर्ने सेवा र सुविधाहरु प्रभावकारी ढंगले दिन दवाव सिर्जना गर्ने जिम्मेवारी पाएको छ ।

लामो समयदेखि दरबन्दी अनुसारको डाक्टर नहुने, पर्याप्त कर्मचारी, उपकरण नहुने र भएकाहरुबाट पनि प्रभावकारी सेवा, सुविधा प्रवाह नहुने भएपछि नगारिकहरु अभियानमै उत्रनु परेको समितिका अध्यक्ष किरण राईले बताउनुभयो ।

उपचार सेवा राम्रो नहुनुका साथै अस्पताल भित्र र बाहिर फोहोर व्यवस्थापन नहुनु, खानेपानी र चर्पीको उचित ब्यवस्था नहुँदा अस्पतालप्रति नागरिकहरुमा वितृष्णा जागेको छ । आप्mनो ठाउँका अस्पताल विग्रदै जाँदा वितृष्णा पैदा हुनु भन्दा पनि सुधारका लागि पहल गर्न सचेत नागरिकको कर्तब्य ठान्दै नागरिकहरु एकजुट देएिका छन् । सोही अनुरुप उनीहरुले समिति गठन गरेको समितिकी सचिव सिर्जना दनुवारले बताउनुभयो ।

बर्षौंयता विभिन्न डाक्टर र अस्पताल ब्यवस्थापन समिति परिवर्तन भएपनि समस्या भने ज्यूका त्यू रहनुले नागरिकहरुले सशक्त ढंगले लाग्नु जरुरी देखेको भन्दै स्थानीय, प्रदेश र केन्द्र तीन वटै तहका सरकारलाई दबाव सिर्जना गर्ने योजना समितिको छ ।

निःशुल्क औषधिको पूर्ण व्यवस्था, दरबन्दी अनुसारको डाक्टर, चिकित्सक र कर्मचारी, पारदर्शी प्रशासन, दिगो र भरसिलो व्यवस्थापन समिति नभएसम्म अभियानलाई आन्दोलनकै रुपमा अगाडी बढाउने प्रण गरिएको समितिका उपाध्यक्ष सुमन्त कोइरालाले बताउनुभयो ।

नागरिकको स्वस्थ्य जस्तो गम्भिर विषयमा थालिएको अभियानलाई गलत मनोसायले राजनीतिकरण  वा व्यक्तिवादी सोच हावी हुन नदिन सचेत गराईएको छ । नागरिकहरुले अभियानमा सबै किसिमको साथ र सहयोग दिने प्रतिबद्धता जनाएका छन् ।

अस्पतालमा नागरिकहरु जम्मा भई सरसफाईको कार्यदेखि अभियानको थालनी गरिने भएको छ । अभियानको क्रममा व्यवस्थापीय हिसावले जिल्ला समन्वय समिति र सहयोगीको रुपमा त्रियुगा नगरपालिकालाई जिम्मेवारी र जवाफदेखि बनाउदै लगिने अध्यक्ष राईले बताउनुभयो ।

विशेष गरी त्रियुगा नगरबासी, जिल्लाबासी र छिमेकी जिल्ला खोटाङसम्मका विरामीले उपचार सेवा पाउने हस्पिटललाई राम्रो हस्पिटलको रुपमा स्थापित गराउने भूमिकाका लागि राजनीतिक दल, संघीय तथा प्रदेश सांसद र सरोकारवाला निकायलाई आव्हान गरिएको छ ।

अस्पतालमा सबैभन्दा डाक्टर ल्याउने विषय जटिल रहेको भन्दै सबै राजनीतिक दल र सांसदहरुको पहल आवश्यक रहेको पूर्व अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राकेश खत्रीले बताउनुभयो ।

चानचुने हिसावले समिति गठन नभएको भन्दै प्रभावकारी अभियानसहित ठोस काम गर्ने गरी लागी पर्ने समितिले प्रतिबद्धता जनाएको छ । कार्यक्रममा विभिन्न राजनीतिक दलका युवा नेताहरुको सहभागिता थियो ।

तस्विरहरु :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0