Tuesday, June 30News That Matters

ताप्लेजुङमा निःशुल्क आँखा शिविर, ७० जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया

पूर्णपुष्टि,फागुन २२ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा तिलगङ्गा आँखा प्रतिष्ठान र फक्ताङलुङ गाउँपालिकाद्वारा आयोजित निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । उत्तः शिविरमा ७० जना मोतियाविन्दुका स्थानीय बिरामीहरुको शल्यक्रिया गरिएको छ ।

गाउँपालिकाका विभिन्न ठाउँमा भएको आँखा जाँच तथा सामान्य उपचारका क्रममा फागुन ८ गतेदेखि भेटिएका मोतियाविन्दुका बिरामीको गत शनिबार र आइतबार शल्यक्रिया भएको हो । नेत्र रोग विशेषज्ञ चिकित्सक सन्दुक रुइतसहित आँखाका स्वास्थ्यकर्मीको टोलीले शल्यक्रिया गरेको हो । शिविरमा २ हजार चार सय ३० जना आँखाका बिरामीको जाँच तथा सामान्य उपचार भएको छ।

गाउँपालिकाको केन्द्र तापेथोकमा शल्यक्रिया गर्ने व्यवस्थापन गरेर मोतियाविन्दुको समस्यामा परेकाको उपचार भएको गाउँपालिका प्रमुख मुक्ति लाबुङको भनाइ छ। बिरामीलाई शल्यक्रिया गर्ने स्थानसम्म आउन सवारी साधन र खानबस्नेको व्यवस्था गाउँपालिकाले गरेको थियो।