प्रधानमन्त्री शेरबहादुर देउवा लण्डनमा व्यस्त

पूर्णपुष्टि, कार्तिक १३
प्रधानमन्त्री शेरबहादुर देउवा अहिले लण्डनको भ्रमणमा छ । देउवाको लण्डनमा व्यस्त कार्यतालिका सार्वजानिक भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६ औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वर्ल्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार राति लण्डन पुगेका छन् ।

प्रधानमन्त्री देउवासँग दिउँसो बेलायत–नेपाल समाजका प्रतिनिधि र बेलायत–नेपाल गैरसरकारी संस्था मञ्चका विशिष्ट व्यक्ति, गैरआवासीय नेपाली सङ्घका पदाधिकारी, बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिलगायतले भेट्ने कार्यक्रम रहेको छ । आजै साँझ उनले नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले आयोजना गने स्वागत कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।आइतबार बिहान उनीसँग भूतपूर्व गोर्खा सङ्गठनका प्रतिनिधिले भेट्ने र प्रधानमन्त्री देउवा उनको सम्मानमा लण्डनस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनुहुने मन्त्रालयले जनाएको छ । आइतबार साँझ उनी स्कटल्याण्डको इडिनवर्ग हुँदै ग्लास्गो प्रस्थान गर्नेछन् । कोप–२६ अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म ग्लास्गोमा आयोजना हुँदैछ ।

लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपालका लागि सर्वदलीय संसदीय समूहका अध्यक्ष सांसद वीरेन्द्र शर्मा, बेलायतका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाललगायतले स्वागत गरेका थिए ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल शनिबार र आइतबार यहीँ रहने र विभिन्न भेटवार्ता तथा कार्यक्रममा व्यस्त रहने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यहाँको स्थानीय समयानुसार शनिबार बिहान उनीसँग बेलायतको दुवै सदनका केही सांसदहरु तथा पूर्व रक्षामन्त्री लर्ड लनकास्टरले भेट्ने कार्यक्रम रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0