बालिकामाथि बलात्कार प्रयास गर्ने एक अभियुक्त तीन सातापछि पक्राउ

पूर्णपुष्टि, असोज १७
११ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको अभियोगमा बिराटनगरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बिराटनगर महानगरपालिका–४ का ५० वर्षीय लभ कोइरालालाई बालिका बलात्कार प्रयास गरेको अभियोगमा शनिवार बिहान पक्राउ गरेको हो । कोइरालालाई प्रहरीले तीन सातापछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार कोइरालाले गत भदौ २२ गते दिउँसो बालिकामाथि जबरजस्तीको प्रयास गरेको खुलेको छ ।
बालिकालाई कोठाभित्र लगेर कोइरालाले जबरजस्ती कपडा खोल्न थालेपछि अर्की छिमेकी ५ वर्षीया बालिका त्यहाँ पुगेको खुलेको छ । ५ वर्षीया बालिका पुगेपछि ११ वर्षीया बालिका बलात्कृत हुनबाट जोगिएको पत्ता लागेको प्रहरीको भनाई छ ।
डिएसपी श्रेष्ठका अनुसार घरमा अभिभावक कोही पनि नभएको र एक्लै रहेको मौकामा छिमेकी बालिकामाथि बलात्कारको प्रयास भएको थियो । उनका अनुसार घटना बाहिर नल्याउन विभिन्न धाक, धम्की दिएका कारण बालिका डराएकाले बलात्कार प्रयासको घटना तीन सातासम्म गुपचुप रहेको पाइएको हो । बालिकाले एकोहोरो भइरहने, बोल्न मन नगर्ने तथा परिवर्तित व्यवहार देखाउने गर्न थालेपछि अभिभावकले सोधीखोजी गर्दा बलात्कार प्रयासको घटना बाहिरिएको हो । सोधीखोजी हुन थालेपछि बालिकाले आफूमाथि छिमेकीले जबरजस्ती गर्न खोजेको बताइएकी थिइन् ।
त्यसलगत्तै बालिकाका अभिभावक र स्थानीयले नियन्त्रणमा लिएर कोइरालालाई प्रहरीको जिम्मा लगाएका छन् । उनले घटना स्वीकार गरेका छैनन् । डीएसपी श्रेष्ठले शनिबार बिहान कोइरालालाई नियन्त्रणमा लिइएको पुष्टि गरे । उनका अनुसार बालिकामाथि बलात्कारको प्रयास गर्ने कोइरालाविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा चलाउने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0