
पूर्णपुष्टि, असार १६ ।
उदयपुरको बेलका नगरपालिकाको कार्यालयमा ढुंगामुढा भएको छ । स्थानीयको ऐलानी जग्गालाई कबुलियत वन बनाउन सिफारिस गरेको भन्दै सोको विरोधमा गाउँलेहरुले ढुंगामुढा गरेका हुन् । ढुंगामुढाबाट नगरपालिकाको कार्यालयमा क्षती पुगेको छ ।
विरोध गर्दै नगरपालिकामा जम्मा भएको गाउँलेहरुले ढुंगामुढा गरेपछि प्रहरीसंग झडप भएको थियो । झडपमा प्रहरी र गाउँले दुबैपक्षका केही घाइते भएका छन् । तनावग्रस्त स्थिति नियन्त्रणका लागि प्रहरीले केही राउन्ड हवाईफायर र अश्रुग्याँस प्रहार गरेको थियो । स्थानीय १६ जनालाई पक्राउ समेत गरेको जनाइएको छ ।
आप्mनो हक अधिकारको रक्षाका लागि शान्तिपूर्ण आन्दोलन गरेका गाउँलेमाथि प्रहरी दमन भएको भन्दै विभिन्न राजनीतिक दलले विज्ञप्ती निकालेका छन् । बेलका नगरका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा नेपालपक्र र नेकपाले विज्ञप्ती निकालेका हुन् । जनतामाथि अश्रग्यांस, गोली, लाठी प्रहार गरिनु निन्दनीय कदम भनेका छन् । पक्राउ परेकाहरुलाई विनासर्त रिहाइ गर्न र गाउँलेको माग पुरा गर्न भनिएको छ । अन्यथा आन्दोलन गर्ने चेतावनी दिइएको छ ।
यसैबीच पक्राउ परेका १६ जनालाई दलका नेताहरुको रोहबरमा बेलुका छाडिएको छ । आन्दोलनरत पक्षले जनताको ऐलानी जग्गा कबुलियत वन बनाउन गरिएको सिफारिस फिर्ता नभएसम्म आन्दोलन गर्ने जनाएका छन् ।
