दुर्घटना बढेपछि सिटि तथा टेम्पो चालकलाई कडाई

पूर्णपुष्टि/उदयपुर, पुस ६ गते ।

सिटिरिक्सा तथा टेम्पोहरुको बढ्दो चाँपका कारण दुर्घटना बढेपछि जिल्ला प्रहरी कार्यालय उदयपुरले चालकहरुलाई सचेत गराएको छ ।

विहिबार जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले चालकहरुलाई कत्ति पनि लापरवाही र ट्राफिक नियमको उलंघन नगर्न, गरेको पाईएमा कारवाही गर्ने भन्दै सचेत गराउनु भएको हो ।

धेरैजसो दुर्घटना सवारी चालक अनुमतिपत्र नभएकाबाट भएको जनाउदै आगामी दिनमा चालक अनुमतिपत्र नभएकालाई चलाउन नदिइने बताउनुभयो । यसबाहेक ३÷४ जनाको क्षमता भएकोमा बढि यात्रु राख्ने, अगाडी चालक मात्र बस्नुपर्नेमा दायाँबायाँ यात्रु राखेर कुदाउनाले पनि दुर्घटनाको जोखिम बढेको भन्दै त्यस्ता कार्य बन्द गर्न आग्रह गर्नुभयो । साथै सवारीको सम्पूर्ण पार्टपूर्जाको चेकजाँच र मर्मत बेलाबेलामा गर्न भन्नुभयो ।

हाइवे र पहाडी भिरालो सडकमा कुदाउन नपाइनेमा साउने रौतासम्म पुग्ने गरेको पाईएकोले त्यसलाई बन्द गर्न आग्रह गर्दै अवका दिनमा लगेको पाईए सिधै कारवाही गरिने बताउनुभयो । साथै मादकपदार्थ सेवन गरेर चलाए वा ट्राफिक नियम विरुद्ध जुनसुकै गल्ती गरेको पाईएमा कारवाही गरिने बताउनुभयो । एसपी भट्टले थोरै पैसाको लोभमा विचारै नगरी कुदाएर पछि पछुताउनु भन्दा पहिले नै सचेत हुन चालकहरुलाई आग्रह गर्दै अटेर गर्ने चालकलाई कारवाही गर्न ट्राफिकलाई निर्देशन दिनुभयो ।

रिक्सा तथा टेम्पो यातायात व्यवसायी संघ गाईघाटका अनुसार सदरमुकाम गाईघाटमा मात्र डेडसयको बढिको हाराहारीमा टेम्पो तथा सिटि रिक्सा रहेका छन् । त्यसमा थुप्रै चालकहरुको सवारी चालक अनुमति पत्र नरहेको, कतिपय बनाउने प्रक्रियामा रहेको संघले जनाएको छ ।

बेरोजगार युवाका लागि उपयुक्त पेसा बनेको यो व्यवसायमा सरकारले सवारीचालक अनुमतिपत्र दिने व्यवस्था समयमा नखुलाउदा समस्या परेको पनि संघले जनाएको छ ।

छोटो समयमै टेम्पो टथा सिटि रिक्साको संख्या बढेको र अनगिन्ति सामान्य दुर्घटनाकाबीच केही दिन अघि दुई ओेटा युवाको ज्यान जानेगरी दुर्घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0