दशवटै स्थानीय तह सडक सञ्जालमा जोडियो

पूर्णपुष्टि/खोटाङ, ७ पुस ।

जिल्लाको दशवटै स्थानीय तह सदरमुकाम दिक्तेलसँग सडक सञ्जालमा जोडिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा सबै स्थानीय तह दिक्तेलसम्मको सिधा सडक सञ्जालमा जोडिएको हो ।

गत वर्षसम्म सदरमुकाम दिक्तेलबाट सिमित ठाउँमा मात्र यातायात सेवा सञ्चालन हुँदै आएको जिल्लामा यस वर्षबाट सबै स्थानीय तहमा सञ्चालन गरिएको यातायात व्यवसायी सङ्घ खोटाङका महासचिव रामकुमार हिङ्माङले बताउनुभयो । “यसअघि जिल्लामा निर्माण भएका सडकमा पनि यातायात सञ्चालन भएको थिएन ।” उहाँले भन्नुभयो, “सेवाग्राहीको समस्यालाई ध्यानमा राखेर यस वर्षबाट सबै स्थानीय तहसँग जोडिएको सडकमा यातायात सेवा सञ्चालनमा ल्याइएको हो ।”

सबै स्थानीय तहबाट सदरमुकाम दिक्तेलसम्म सिधा यातायात शुरु भएपछि दुर्गम क्षेत्रका स्थानीयवासी समेत एकै दिनमा घरबाट हिँडेर पुनः घरै पुग्न थालेका छन् । यातायात सेवा नहुँदा यसअघि जिल्लाको उत्तरी र दक्षिणी क्षेत्रका स्थानीयवासी तीन दिनसम्मको पैदल यात्रापछि सदरमुकाम आउने गरेका थिए ।

जिल्लाको प्रमुख मार्ग जयरामघाटमा पक्की पुल बनेपछि उत्तरी क्षेत्रमा पर्ने ऐसेलुखर्क गाउँपालिकाबाट सिधै काठमाडौं, कटारी लगायतका ठाउँमा समेत सिधा यातायात शुरु गरिएको महासचिव हिङ्माङले जानकारी दिनुभयो । गत मङ्सिर ८ गतेबाट दूधकोसीस्थित जयरामघाटमा निर्माण गरिएको पक्की पुल सञ्चालनमा आएपछि खोटाङ राजधानी काठमाडौं लगायतका जिल्लासँग सिधा सडक सञ्जालमा जोडिएको हो ।

जिल्लाकै प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारदेखि गत मङ्सिर १९ गतेबाट छिमेकी जिल्ला भोजपुरसम्म सिधा यातायात सेवा सुचारु गरिएको छ । अर्को छिमेकी जिल्ला भएर तराईका अन्य जिल्ला जोड्ने फोक्सिङ्टारस्थित सुनकोसीमा निर्माणाधीन अस्थायी बेलिब्रिज जडान सकिए लगत्तै दिक्तेल–गाईघाट सडक पनि सञ्चालनमा ल्याउने तयारी गरिएको यातायात व्यवसायी सङ्घले जनाएको छ ।

२०६४ सालबाट यातायात सेवा शुरु भएको जिल्लामा अहिले साना ठूलागरी करिब २०० को हाराहारीमा सवारी साधन सञ्चालनमा रहेका छन् । दुई वटा राष्ट्रिय राजमार्गले छोएको खोटाङ जिल्लामा हालसम्म सबै सडक कच्ची अवस्थामै रहेको छ ।
मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी र दिक्तेल–चखेवा सडक अहिले तीव्रगतिमा कालोपत्रे गर्ने काम भइरहेको छ । तराईका जिल्ला जोड्ने अर्को सडक सगरमाथा राष्ट्रिय राजमार्गको महुरे–फोक्सिङ्टार खण्डमा पनि कालोपत्रेको काम थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0