तान बुन्ने आमासंग (कविता)

जीवन आराेही

बर्षाैदेखी
रहरहरु बन्दकी राखेर
तान बुनिरहेछिन प्राचीन आमाहरु ।

रहरसगै बन्दकमा छन्
अाेठकाे मुस्कान र अधुरा सपनाहरु पनि ।
चर्खा तान्दा तान्दै
तन्कने ठाउँ नपाएर
चाउरी परिसक्याे
अनुहारकाे अादिम धागाेहरु,
बरु खुम्चिदै गईरहेछन जीवनकाे आयतन ।
र पनि चर्खासगै दाैडिरहेछन्
आमाकाे प्राचीन हात र आैलाहरु ।

आमा र याे समयसँग
केही त छ -सम्बन्ध ।
जस्ताे कि-
बर्षाैँ पहिले जसरि नै
अामाकै अाँखाकाे अागन टेकेर गएकाे घाम
हरेक साझ बिहान
अस्ताउदै जान्छ बैँस बिसाउदै,
उदाउदै आउँछ बैँस फिजाउदै ।
ख्वै कहाँ कहाँसम्म पुगेर घर फिर्छन हाेला
अामासगै ब्युझेका गाैथली चराहरु ?
कतिवटा बगैचाकाे साैन्दर्य चुमेर अाईपुग्छन्
आमासगै घरबाहिर निस्किएका
प्रेमदुत जस्ता माहुरिहरु ?
वा पर्याे कि कुनै दुस्मनकाे चेकपाेष्ट तिर ?
पधेरामा भेट भएका आमाकाे मन जस्तै पानीका थाेपा
कत्ति छागा, छहारा र नागबेली टेक्दै
पुग्छन हाेला समुन्द्री सहर ?

तर प्राचीन आमाहरु
बेपर्वाह चर्खा घूमाउदै
धागाे तानिरहेछन्
आफ्नै जिन्दगीकाे ।

थाहा छैन
अब, गाैथली झैँ उड्छ कि उड्दैन
आमाकाे मन ?
फूल झैँ फूल्छ कि फुल्दैन
अब, आमाकाे बैँस,
क्षितिजबाट खस्नेे जुन झैँ
खस्छ खस्दैन
ओठबाट मुस्कान ?

नानीहरु हाे !
एकैछिन आमालाई हेरिराख्नु है,
एउटा माेनालिसा अनुहार हेर्नुछ
आमाकाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0