सप्तकोशीमा जलयात्रा लोकप्रीय

भोटराज राई/उदयपुर, जेठ २३ गते

-यतिबेला पूर्वमा जल यातायात लोकप्रीय बन्दै गएको छ । उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहा नगरपालिकाको बीचमा रहेको सप्तकोशी पुलबाट भोजपुरको हलेदे र धनकुटाको सिम्लेसम्मको जल यातायात लोकप्रीय बन्दै गएको हो । त्यहाँ दुईओटा जेटबोटबाट यात्रु तथा पर्यटकहरुलाई जलयात्रा गराईराखिएको र आवत जावतका लागि यात्रुको कमी नरहेको जेटबोटका क्याप्टेन बृक्षसिंह दनुवारले बताउनुभयो । नेपालकै पहिलो जेटबोट क्याप्टेन दनुवारका अनुसार पर्यटक तथा यात्रुहरुले जलयात्रा मनपराईदिएकाले जल यातायातको सम्भावना राम्रो देखिएको छ ।

सप्तकोशीको वहावसंगै करिब १५ किलोमिटरको दुरीमा रहेको सो ठाउँमा जल यातायात नहुदा विकटताका कारण हिडेर ७ घण्टासम्म लाग्ने गरेकामा जेटबोटबाट १५ मिनेटमै दुरी पार गर्ने गरेका छन् । भोजपुर, धनकुटा र उदयपुरकै माथिल्लो भेगका बासिन्दाहरुलाई मधेस र पहाड आवत जावतमा बरदान झै सावित भएको छ । पर्यटकहरुलाई सप्तकोशीको मनमोहक र रमणीय दृष्यहरु अवलोकन गर्दै यात्रा गर्न सहज भएको छ । बराहा मन्दीर धाउने दर्शनार्थीहरु पनि जेटबोट बाटै आवतजावत गर्ने गरेका छन् । सडक भएका क्षेत्रमा पनि सडक मर्मतको अवस्था रहेको र धुलोमैलो तथा दुर्घटना जोखिमका कारण यात्रु तथा पर्यटकहरुले जलयात्रा नै चुन्ने गरेका छन् ।

हाल भोजपुरको हतुवागडी गाउँपालिका ९ हलेदे र धनकुटाको खाल्सा छिन्ताङ सहिद गाउँपालिका १ सिम्लेसम्म सञ्चालन भईरहेको जल यातायातका कारण मधेस झर्न र पहाडतिर जान यात्रुहरुलाई छिटो र सहज भएको छ । सप्तकोशीको चतरापुलबाट चलेको जेटबोटले बराहा मन्दीरभन्दा केही माथिबाट छुट्टीने सुनकोशी, दुधकोशी, तामाकोशी र भोटेकेशी मिसिएको पानीको वहाव प्रयोग गर्दै भोजपुरको हलेदे पुर्याउछ भने अरुन, बरुन र तमरनदी मिसिएको वहाव प्रयोग गर्दै धनकुटाको सिम्ले पुर्याउने गरेको छ ।

एक महिना अघि सुरु भएको जल यातायातले पर्यटक तथा यात्रुहरुलाई राम्रो सुविधा दिइरहेको वराहा क्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रा.लि.का अध्यक्ष सन्तोष भण्डारीले बताउनुभयो । जल यातायात व्यवसायी पर्शुराम राईका अनुसार सुनकोशीतर्फको केही अवरोध हटाउन सके दोलालघाटसम्मको जलयात्रा तय गर्न सकिनेछ भने अरुण नदीतर्फको अवरोधलाई हटाउन सके तुम्लिङटारसम्मको जलयात्रा तय गर्न सकिन्छ । राईका अनुसार सुनकोशीतर्फमा उदयपुरको बेलका बेलका ७ र भोजपुरको हतुवागडी ९ को बीचमा पर्ने लामपाते घागीमा अवरोध रहेको छ । त्यसको केही माथि बेलका ७ र भोजपुरको आमचौकबीचमा पनि अवरोध छ । प्राकृतिकरुपकै चट्टानका कारण अवरोध देखिएको उक्त ठाउँहरुमा पानीको वहाव राम्ररी हुने गरी गहिराई बनाउन सकेमा ढुंगा चलाउन सकिन्छ । जसले खोटाङ र सिन्धुली मात्र नभई दोलालघाटसम्मकै यात्रा करिब डेड घण्टामा पुरा गर्न सकिने उहाँले बताउनुभयो ।

सो ठाउँको जलयात्रासंग प्रत्यक्ष जोडिएका उदयपुरको बेलका नगरपालिका, सुनसरीको बराहा गाउँपालिका, भोजपुरको हतुवागडी र धनकुटाको खाल्सा छिन्ताङ सहिद गाउँपालिकाले जलयात्रा र जल पर्यटनलाई विशेष रुपमा हेरेका छन् । बेलका नगरपालिकाले पर्यटनको गुरुयोजनामै जलपर्यटनलाई प्राथमिकताका साथ राखेको बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले बताउनुभयो । त्यहाँको जल यातायातले प्रदेश नं. १ को पर्यटन विकास र समृद्धिमा ठूलो टेवा पुर्याउने सम्भावनाहरु प्रशस्त देखिएको बेलका पर्यटन विकास समितिका संयोजक रमण भट्टराईले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0