आफन्तबाटै खाडीमा बेचिन्छन नेपाली महिला

पूर्णपुष्टि, ५ साउन ।
बेरोजगारको सिकार बनिरहेकी कयौँ नेपाली महिलाहरु रोजगारको नाममा खाडीमा बेचिरहेको छ । उनिहरुलाई बेचबिखन गर्ने मान्छेहरु भने आफन्तहरुनै भएको पाईन्छ । आफन्तकै जालोमा परी ऋणको भारीले थिचिंएकी दाङ बबई–७ की ३२ वर्षीया लुम्बिनी–१ (परिवर्तित नाम) विदेशिने सोचमा पुगिन् । उनलाई यो सोच बनाउन गाउँकै मामा नाता पर्ने जीतबहादुर थापाले सघाए । भारत ओहोर–दोहोर गरिरहने थापाले लुम्बिनी–१ लाई फ्रि भिसा, फ्रि टिकटमा विदेश जान पाइने र कमाइ पनि राम्रो हुने भनेर लोभ्याए ।

भने जस्तै सहयोग पनि गरे थापाले । पासपोर्ट बनाउँदा र विदेश जान लाग्ने सबै खर्च उनैले व्यहोरे । घरेलु कामदारमा मासिक ६० हजारसम्म कमाइ हुन्छ भनेपछि मामा नाता पर्ने थापाको विश्वासमा विदेश उड्न तयार भइन्, लुम्बिनी–१ ।

जीतबहादुरले उनलाई रामेछापका रमेश पाण्डे भन्ने अर्का एजेन्टसँग भेट गराए । पाण्डेले उनलाई नेपालगञ्ज नाकाहुँदै भारत पुर्‍याए । त्यसपछि दिल्ली हुँदै २०७७ चैतमा लुम्बिनी–१ कुवेत पुगिन् । केही दिन एउटा कोठामा राखेर लुम्बिनी–१ लाई स्थानीयको घरमा काम गर्न पठाइयो ।

पुगेकै दिनदेखि उनका कहाली लाग्दा क्षण सुरु भए । बिहान ७ बजेदेखि राति २ बजेसम्म गर्दा पनि नसकिने काम थियो घरमा । दैनिक १८ घण्टा काम गर्दा पनि मालिक खुसी हुँदैनथे । केही दिनपछि त स–सानो बहानामा नै कुट्न, पिट्न थाले ।

‘सुरुमा भाषा नबुझेर के गरौं, कसो गरौं हुन्थ्यो । एक थोक भनेको मैले अर्कोथोक बुझ्दा कुट्ने, पिट्ने गर्थे’ लुम्बिनी–१ ले भनिन्, ‘विस्तारै यातनाले शरीरभरि नीलडाम र घाउ नै घाउ हुन थाल्यो ।’

अरबीको छोरा बेला बखत नराम्रो व्यवहार गथ्र्यो । हुँदाहुँदा एकदिन घरमा कोही नभएको मौका छोपेर उसले जबरजस्ती गर्‍यो । ‘यस्तो काम तीन महिनासम्म चल्यो’ लुम्बिनी–१ ले भनिन्, ‘त्यसपछि मैले घर पठाइदेऊ भनेर रोइ–कराइ गर्न थालें । तर, उनीहरूले मानेनन्, उल्टो मारेर फालिदिन्छु भनेर मलाई धम्काए ।’

लुम्बिनी–१ भन्छिन्, मेरो मोबाइल खोसेर राखेका थिए । एकदिन धेरै रोइकराइ गरेपछि दिए । त्यसपछि नेपालमा माइतमा फोन गरेर उद्धार गर्न भनें । परिवारको पहलमा २०७८ मंसिरमा म स्वदेश फर्कन पाएँ ।’ उनी भन्छिन्, ‘त्यो नर्कबाट म बाँचेर फर्किन्छु भन्ने लागेकै थिएन । परिवारले मलाई बचाएर फर्कायो, मैले दोस्रो जीवन पाएँ ।’

दृष्टान्त–२

दाङ, घोराहीकै ३५ वर्षीया लुम्बिनी–२ ९परिवर्तित नाम० पनि जेठाजु नाता पर्ने भीमबहादुर विकको भर परेर विदेश जान तयार भइन् । स्थानीय एजेन्टको रूपमा वैदेशिक रोजगारीमा पठाउने काम गरिरहेका विकले फ्रि भिसा, फ्रि टिकटमा विदेश पठाइदिने र महिनाको ५० हजार रुपैयाँ कमाइ हुने लोभ देखाए ।

आफन्तबाटै बेचबिखनमा परेका पीडितको घर रहेको दाङको एक वस्ती ।
विकले पासपोर्ट पनि आफ्नै खर्चमा बनाइदिए । जेठाजुको विश्वासमा परेर उनी २०७८ माघ दोस्रो साता घरबाट हिंडिन् । भीमबहादुरले प्रेम सुनार भन्ने अर्का एजेन्टसँग लुम्बिनी–२ को भेट गराए । सुनारले नै उनलाई नेपालगञ्ज नाकाहुँदै भारत पुर्‍याए । विदेशमा काम गर्ने र पैसा कमाउने लोभमा निस्किएकी लुम्बिनी–२ लाई कहाँ जाँदैछु भन्नेसम्म पनि राम्ररी थाहा थिएन ।

‘१७ दिन म सहित २० नेपाली महिलालाई भारतमा एउटा कोठामा राखियो’ उनले भनिन्, ‘त्यसपछि भिजिट भिसामा हामीलाई दुबई लगियो ।’ सुरुमा ओमन जाने भनेका एजेन्टले दुबईबाटै उनीहरूलाई कुवेत पुर्‍याएका थिए । कुवेतमा घरेलु कामदारका रूपमा उनलाई स्थानीयको घरमा पठाइयो ।

‘घर मालिकले पहिलो दिनदेखि नै मलाई बन्धक बनाएर राखे । दुई महिना बित्दा पनि परिवारसँग सम्पर्क गर्न दिएनन्’ लुम्बिनी–२ ले भनिन्, ‘१६ घण्टासम्म काम गर्दा पनि सकिंदैनथ्यो ।’ उनमाथि पनि विस्तारै कुटपिट र नराम्रो व्यवहार हुनथाल्यो । छोटो समयमै उनलाई थाहा भयो, ‘यहाँ बसेर काम गर्न सकिंदैन ।’

एकदिन उनले आफूलाई घर फर्काइदिन भनेर झगडा गरिन् । रिसाएका मालिकले उनलाई पाँच लाख ९नेपाली रुपैयाँ० मा किनेको र त्यति पैसा दिए मात्र घर जान दिने बताए । अनि उनी छाँगाबाट खसे जस्तै  भइन् ।

‘अनि मात्रै मैले आफू बेचिएको थाहाँ पाएँ’ लुम्बिनी–२ ले भनिन्, ‘अब मात्रै मलाई थाहा भयो जेठाजु विक र एजेन्ट सुनारले विना श्रमस्वीकृति अवैध रूपमा मलाई त्यहाँ पुर्‍याएका रहेछन् ।’ विस्तारै उनले लुकीछिपी इमो ९सामाजिक सञ्जाल० बाट परिवारलाई सम्पर्क गरिन् र आफूलाई उद्धार गर्न भनिन् । नेपालबाट परिवारको जोडबलले झण्डै  दुई महिनापछि उनको उद्धार भयो ।

‘बिरामी भए पनि आराम नपाइने । मैले त्यहाँ जिउँदै नर्क देखें’ लुम्बिनी–३ भन्छिन्, ‘डिप्रेसनको शिकार भएपछि मैले रोइकराइ गरेर घर पठाइदेऊ भनें तर मालिकले मानेन ।’

दृष्टान्त–३

लुम्बिनी–३ ९परिवर्तित नाम० को व्यथा पनि उस्तै छ । भारतमा मजदुरी गरिरहेका श्रीमानको कमाइले मात्रै नपुग्ने भएर उनी छट्पटाउँदै बसिरहेकी थिइन् । यस्तैमा एक जना आफन्तले दाङकै एजेन्ट किसन विकसँग भेट गराइदिइन् । विक गौरीशंकर ओभरसिज नामक म्यानपावर कम्पनीको एजेन्टका रूपमा कामदार विदेश पठाउने काम गर्दै आएका थिए ।

एजेन्ट विकले उनलाई पनि उही भाषा दोहोर्‍याए । फ्रि भिसा, फ्रि टिकट छ, विदेश जान पैसा लाग्दैन । घरेलु काममा जाने हो, घरमा गरे जस्तै काम हो, दुःख हुन्न । आरामले महिनाको ४५ हजार कमाइ हुन्छ भनेपछि अरू केही सोच्ने कुरा पनि आएन । लुम्बिनी–३ ले भनिन्, ‘उसैको भर परेर हुन्छ भनें ।’

नभन्दै किसनले पासपोर्ट बनाइदिनेदेखि हवाई टिकटसम्मको खर्च आफैं व्यहोरे । १८ असार २०७९ मा हातमा भिजिट भिसा थमाइदिंदै किसनले सिकाए, ‘एअरपोर्टमा श्रीमानलाई भेट्न दुबई जान लागेको भन्नु, दुबईमा तिमीलाई लिन एक जना मान्छे आउँछ, उसैसँग जानु ।’

उनले किसनले सिकाए झैं गरिन् र त्रिभुवन विमानस्थलहुँदै दुबईका लागि उडिन् । दुबईमा लुम्बिनी–३ लाई केही दिन एउटा घरमा राखेर घरेलु कामदारका रूपमा कुवेत पठाइयो ।

कुवेतमा एक स्थानीयको घरमा उनी दैनिक १६ घण्टा बढी काम गर्थिन् । पहिले, पहिले दुई छाक खान पाउने उनले विस्तारै एक छाक मात्र खान पाउन थालिन् । कुटपिट हुन थाल्यो र हुँदाहुँदा शारीरिक शोषण पनि । नेपालमा आफ्नो परिवारसँग सम्पर्क गर्न नदिने, शारीरिक र मानसिक यातना मात्रै दिने घर मालिकको व्यवहारले उनी बिरामी परिन् ।

‘बिरामी भए पनि आराम नपाइने । मैले त्यहाँ जिउँदै नर्क देखें’ लुम्बिनी–३ भन्छिन्, ‘डिप्रेसनको शिकार भएपछि मैले रोइकराइ गरेर घर पठाइदेऊ भनें तर मालिकले मानेन ।’ त्यहाँ जसोतसो चार महिना बिताएपछि एक दिन उनी भागेर नेपाली दूतावास पुगिन् । परिवारसँग सम्पर्कमा आएपछि २०८० जेठमा घर फर्कन पाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0