प्रकृया विपरित गोरखापत्र संस्थामा कर्मचारी नियुक्त गरेको भन्दै खारेज गर्न सतर्कता केन्द्रको निर्देशन

पूर्णपुष्टि, साउन १० । गोरखापत्र संस्थामा प्रकृया विपरित करारमा १२ जना कर्मचारी नियुक्ति गरेको भन्दै खारेज गर्न राष्ट्रिय सतर्कता केन्द्रले संचार तथा सुचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।

गोरखापत्र संस्थान कर्मचारी सेवा शर्त विनियामावली २०५२ को विनियम बमोजिम पदपुर्ती सिमतिको सिफारिसको आधारमा उपयुक्त व्यक्तिलाई गर्नुपर्नेमा, विनियानामावलीको प्रकृया पालना नगरी टिप्पणी आदेशको भरमा नियुक्ति गरिएको भन्दै कार्यकारी अध्यक्ष विष्णु प्रसाद सुवेदी सहित पाचँजनालाई कारवाही गर्न समेत केन्द्रले निर्देशन दिएको छ ।

कार्यकारी अध्यक्ष सुवेदीले १२ जनालाई करारमा प्रकृया विपरित नियुक्त गरेको केन्द्रको ठहर छ । अध्यक्ष सुवेदीले उपसंपादक पदमा दिनेश लुईटेल र विनोद न्यौपाने, समाचारदातामा सूर्य प्रसाद पाण्डे, अशोक अधिकारी, मित्रलाल भण्डारी, लोक बहादुर कटुवाल, श्रृजना खत्री, गोविन्द रेग्मी र सनम महर्जन, वरिष्ठ सहायक पदमा युवराज खतिवडा, ध्रुव कुमार सिंह र परामर्शदातामा रविराज वराललाई ठाडो तोकी आदेशको आधारमा नियुक्त गरेको केन्द्रले जनाएको छ ।

‘सो कार्य छानबिनको क्रममा गोरखापत्र संस्थानले उपलब्ध गराएको जवाफ तथा कागजातबाट समेत पुष्टि भएको’ सतर्कता केन्द्रले जनाएको छ । कर्मचारी नियुक्त प्रकृयामा संलग्न अध्यक्ष सहित गोरखापत्रका कर्मचारी प्रशासन शाखाका वरिष्ठ सहायक रुप चन्द्र भट्ट, वरिष्ठ प्रशासन अधिकृत विमला खड्का, शाखा प्रमुख बिक्रमवाबु राई र प्रशासन विभागका निमित्त निर्देशक ओमप्रकाश भुसाललाई प्रचलित नियम अनुसार कारवाही गर्न २०८०÷४÷४ गते सचिव स्तरिय निर्णय गरी निर्देशन दिएको सतकर्ता केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0