जनतासंग माओवादी – विशेष रुपान्तरण अभियानको सुरुवात : पुरिएको घर उद्धारदेखि अवरुद्ध सडक खुलाइयो

पूर्णपुष्टि, १७ भदौ ।

जनतासंग माओवादी –विशेष रुपान्तरण अभियानको पहिलोदिन भदौ १६ गते उदयपुरको ताप्ली गाउँपालिकाको वडा नं. ३ का सर्बसाधारण प्रेमनारायण श्रेष्ठको पहिरोले पुरिएको घर उद्धारदेखि विभिन्न अवरुद्ध सडकहरु खुलाइ यातायात सेवा सुचारु पारियो । श्रमदानमा जुटेका अभियानकर्ताहरुले श्रेष्ठको पहिरोले पुरिएको निम्न बर्गिय श्रेष्ठको घरलाई दिनैभरजसो खटेर कुटो कोदालेले माटो हटाइ बस्न योग्य बनाइदिएका थिए । अभियानकर्ताहरुले अवरुद्ध पन्छाएपछि लिम्चुङबुङ, रौतामाई, ताप्ली, उदयपुरगढीको नौवटा सडक सञ्चालन भएको छ ।

अधिकांश वडाहरुमा स्वास्थ्य संस्था, विद्यालय, सार्बजनिक स्थान र बजारको सरसफाई गरियो ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय अनुशासन आयोगका प्रमुख टंक राईले जिल्ला सदरमुकामस्थित उदयपुर अस्पतालको सरसफाई गर्दै अभियानको उद्घाटन गरे । त्रियुगा नगरपालिका १० नं. वडा पार्टीको संयोजनमा अस्पताल र परिषर आसपालको अब्यवस्थित फोहोर सफाई गरी जलाएका थिए । प्रमुख राईको कमाण्डमा त्रियुगाको १६ र रौतामाईको ८ वडामा विविध गतिविधिका साथ अभियान उद्घाटन भयो ।
पूर्वमन्त्री एवम् केन्द्रिय सदस्य अमनलाल मोदीले बेलका नगरपालिकाको १ नं. वडामा कोणसभालाई सम्बोधन गर्दै अभियानको उद्घाटन् गरे । उनको कमाण्डमा बेलकाको ९ वडा र चौदण्डीगढी नगरपालिकाको १० वडाहरुमा विविध कार्यक्रमसंगै अभियान सुरुवात भयो ।

राष्ट्रिय सभाको प्रमुख सचेतकसमेत रहेका पार्टी केन्द्रिय सदस्य गोपी अछामी र उदयपुर जिल्ला इन्चार्जको जिम्मेवारीमासमेत रहेकी केन्द्रिय सदस्य एवम् संघीय सांसद धनमाया विक को कमाण्डमा कटारी नगरपालिकाका १४ वडामा अभियान उद्घाटन भयो । केन्द्रिय सदस्य मुक्साहाङ मेनेङ्वोको कमाण्डमा उदयपुरगढीको ८ वटै वडामा अभियान सुरुवात भयो । त्यस्तैगरी संघीय सांसद तथा केन्द्रिय सदस्य रामकुमार राईको कमाण्डमा ताप्लीको ५ र लिम्चुङबुङको ५ वडामा अभियान सुरुवात भयो ।

अभियान सुरुवातको क्रममा शहिद परिवारको सम्मान, शहिदको शालीकमा माल्यार्पण, एकल महिला सम्मान, खेलकुद गतिविधि लगायतसमेत भएको छ । समग्रमा उदयपुरमा अभियानको सुरुवात प्रभावकारीरुपमा भएको र त्यसले कार्यकर्ता र जनतामा उत्साह जगाएको जिल्ला इन्चार्ज धनमाया विकले बताइन् ।

दोस्रो कार्यकाल पनि चुनाव जितेका, गाउँपार्टी अध्यक्षसमेत रहेका लिम्चुङबुङका पालिका अध्यक्ष मेजरकुमार राई कार्यकर्ता र जनतासंगै कोदालो बोकेर श्रमदानमा खटेका थिए । रौतामाई गापा अध्यक्ष एवम् गाउँपार्टी अध्यक्षसमेत रहेका बिरेन्द्र मगर वडा नं. १ मा कार्यकर्ता र जनतासंगै श्रमदानमा खटेका थिए भने ताप्लीका पालिका अध्यक्ष ढुंगराज विक पनि कार्यकर्ता र जनतासंगै गतिविधिमा खटिएका थिए । चार गाउँपालिका र चार नगरपालिका गरी आठ स्थानीय तह मध्ये यी तीन पालिका माओवादी केन्द्रले जितेको पालिका हुन् । अहिलेको अभियानलाई आठै पालिकामा माओवादी नेतृत्व ल्याउने लक्षसहित सबै पालिकाका वडाहरुमा अभियान सञ्चालन भएको पार्टी जिल्ला समन्वय समितिका संयोजक विनोद कटुवाल (दिवस)ले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0