अदुवामा पिथियम रोग लागेपछि कटारीका किसान चिन्तित

पूर्णपुष्टि, भदौ २५ । उदयपुरको कटारी नगरपालिकामा अदुवामा पिथियम रोग लागेपछि किसानहरु चिन्तित भएका छन् । उत्पादन दिने बेला रोगका कारण बोट पहेंलो हुने र कुहिने भएपछि व्यवसायिक अदुवा खेती गर्दै आएका किसान चिन्तित बनेका हुन् ।

कटारीको वडा नं ११ बाट सबैभन्दा बढी अदुवा उत्पादन हुदैँ आएकोमा यसपालि रोगले उत्पादनमा कमी आउने भएपछि ठुलो क्षती भोग्नु पर्ने किसानहरु बताउँछन् । ११ नं वडाबाट मात्रै वर्षेनी किसानहरुले ६० लाख सम्मको अदुवा बेच्दै आएकोमा यसपटक उत्पादन घट्ने देखिएको कटारी ११ का कृषक नुजराज कार्कीले बताएका छन् ।

यस रोगले बोट पहेंलो हुने, गाना कुहिने र क्रमश अदुवाको बोटहरु ढल्दै जाने नगरपालिकाका कृषि शाखाका प्राविधिक रविन्द्र राईले बताएका छन् । उनका अनुसार अदुवाको नमुना वाली रोग अनुसन्धान खुमलटार पठाईएपछि पिथियम रोग पुष्टि भएको हो । रोग पुष्टि भएपछी नगरपालिकाले कृषकहरुको घरघरमै पुगेर औषधि छर्किएको राईले बताए ।

अदुवा खेती वडा नम्बर ८ , ९ , १० , ११ , १२ , १३ र १४ मा हुने गरेको नगरपालिकाको कृषी शाखाले जनाएको छ । कटारीमा उत्पादन भएको अदुवा कटारी बजार , गाईघाट , सिन्धुली देखि नेपालको पूर्वी सहर काकटभिट्टाहुँदै भारतसम्म निर्यात हुने गरेको कृषकहरु बताउँछन् । कटारीमा अदुवाबाट किसानहरुले बर्षेनी करोडौँको आम्दानी गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0