यु–१९ एसिया कपमा नेपालको लगातार दोस्रो हार

पूर्णपुष्टि, मंसिर २४ ।  यु–१९ एसिया कपमा नेपालले लगातार दोस्रो खेलमा हार व्यहोरेको छ । आज समुह चरणको दोस्रो खेलमा अफगानस्थानसँग ७३ रनले पराजित भएको हो ।

दुबईस्थित आइसीसी एकेडेमी ओभल २ मा भएको खेलमा अफगानस्थानले दिएको २६२ रन पछ्याएको नेपालले ४०.१ ओभरमा अलआउट हुँदै १८८ रन मात्र जोड्न सफल भयो । नेपालका लागी ओपनर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गर्दै अर्ध शतक प्रहार गरे । अन्तिम विकेटको रुपमा आउट हुनुअघि अर्जुनले ९१ रन जोडे। उनले १०८ बल खेल्दा १३ चौका प्रहार गरेका थिए। कुमालबाहेक अन्य ब्याट्सम्यानले खुलेर रन बनाउन सकेनन् ।

कप्तान देव खनाल २४ रन बनाएर पभेलियन फर्किए भने गुल्सन झाले १७ रन तथा दीपक बोहराले १५ रन बनाए । त्यस्तै दीपेश कँडेलले ११ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

यस अघि टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको अफगानस्तानले ४९.३ ओभरमा अलआउट हुँदै २६१ रन बनाएको थियो । अफगानस्तानको लागी जाम्सीद जार्दानले शतक र नुमान शाहले अर्धशतक प्रहार गरे । अन्तिम ओभरमा रिटायर्ड हट हुनुअघि जाम्सीले १५२ बलमा ८ चौका प्रहार गर्दै १०६ रन बनाए भने नुमान शाहले आउट हुनुअघि ४१ बलमा ३ छक्का र ५ चौका प्रहार गर्दै ६० रन जोडे । रहिमुल्लाह जुरमतिले ३५ रन, ओपनर वाफिउल्लाहले १५ रन, खलिल अहमदले १३ रन र खालिदले १० रन बनाए ।

बलिङमा नेपालका हेमन्त धामी, सुवास भण्डारी र गुल्सन झाले २–२ विकेट लिए। आकाश चन्द र दिपेश कँडेलले १–१ विकेट हात पारे । ८ देश सम्मिलित जारी प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान समूह ‘ए’मा छन् भने श्रीलंका, बंगलादेश, युएई र जापान समूह ‘बी’मा छन्। दुई समूहको शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल जितेका दुई टिमले पुस १ गते एसिसी यू–१९ एसिया कपको उपाधिका लागि खेल्नेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0