चौदण्डीगढीका ३२ घर भुमिहिन दलितले लालपुर्जा पाउँदै

पूर्णपुष्टि, २७ मंसिर ।
चौदण्डीगढी नगरपालिका वडा नं २ का ३२ घर परिवार भुमिहिन दलितले लालपुर्जा पाउने भएको छ । लालपुर्जाको लागि राष्ट्रिय भूमि आयोग जिल्ला कार्यसमिति उदयपुरमा जग्गा दर्ताको काम धमाधम भैरहेको छ । जग्गा दर्ताको कार्य सँगै लालपुर्जा वितरणको काम अन्तिम तयारीमा पुगेको आयोगका अध्यक्ष बल बहादुर तामाङले बताए ।

तामाङ्का अनुसार हालसालै चौदण्डी २ का झोडापाटा र चारघरेका ३२ मुसर समुदायका घर परिवारलाई लालपुर्जा वितरण गरिने छ । त्यसका लागि जग्गा दर्ताका काम बुधबारदेखी सुरु भएको छ । आयोगले अहिले भुमिहिन परिवारलाको जग्गा दर्ता, पुर्जा तयारी, स्रेस्ता र फिल बुक तयारी धमाधम गरिरहेको अवस्था छ ।

ऐलानी जग्गामा बिगतबाट भोग चलन गर्दै आएको जग्गालाई आवास सहित ७ कठ्ठा पाउने प्रावधान रहेको आयोगका भनाई छ । कृषिका लागि ६ कठ्ठा र आवासलाई १ कठ्ठा पाउने भनिएको छ, अध्यक्ष तामाङले भने । सोही बापतको जग्गा उपलब्ध गराई उनिहरुलाई लालपुर्जा प्रदान गरिने तामाङले जनाए ।

जिल्लाभरी यस्ता धेरै घर परिवारहरु रहेको आयोगको भनाई छ । भुमिहिन दलित र भुमिहिन सुकुम्वासी गरी दुई थरीका सुकुम्वासीहरु जिल्लामा धेरै रहेको आयोगको ठहर छ । अन्यलाई पनि विस्तारै लालपुर्जा मिलाउँदै जाने जनाईएको छ । उक्त क्षेत्रमा भने एकै प्लट सबै मिलेको कारण तत्काल पुर्जा वितरणमा सहज भएको जनाईएको छ । अन्य ठाउँहरुमा भने आवासको लागि एक कठ्ठा भनिएकोमा सो भन्दा बढी भएकाले यसका लागि कसरी वितरण गर्ने भन्नेमा मापदण्ड र प्रावधान बन्दै गरेको जनाईएको छ । गत साल पनि आयोगले बेलकाको ५ नं वडा सुपाडेमा जग्गाको लालपुर्जा वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0