कटारीमा लागू औषध सेवन नगर्ने युवाहरुको दृढता

पूर्णपुष्टि, माघ ६ ।
उदयपुरको प्रमुख ब्यापारिक केन्द्रहरु मध्येको एक कटारीमा “लागू औषध सेवन नगर्ने मैले दृढता गरे” भन्दै युवाहरुले लागूऔषध दुब्र्यसनमा नफस्ने प्रतिबद्धता गरेको दिन आज हो । जिल्ला प्रहरी कार्यालय उदयपुरले थालेको लागू औषधविरुद्धको अभियान अन्तर्गत कटारीमा गरिएको कार्यक्रममा युवाहरुले अबदेखि लागू औषध सेवन नगर्ने प्रतिबद्धता गरेका हुन् । उनीहरुले अभियानबोर्डमा हस्तारसहित लिखित प्रतिबद्धता जनाए । जिल्ला प्रहरी प्रमुखमा एसपी रमेश थापा आएसंगै समाजमा ब्यप्त लागूऔषध दुर्ब्यसनविरुद्ध अभियान थालिएको हो ।
अभियानमा लागूऔषध सेवनकर्ता युवाहरु र उनीहरुको संगतमा परेकाहरुलाई जम्मा गरेर लागू औषध सेवन नगर्न र त्यसबाट हुने हानी, नोक्सानी, कानुनी कारवाहीको बारेमा सचेतना दिने गरिएको छ । लागूऔषध सेवन त्यागेर समाजसेवामा लागेकाहरुबाट लागूऔषधविरुद्धको ज्ञान, अनुभव र चेतनाका कुरा सुनाउने गरिएको छ । पिडित अभिभावकको पिडा, ब्याथा सुनाइन्छ । सुरक्षा, कानुन, न्याय, सञ्चार, चिकित्सा क्षेत्रका विज्ञ र अगुवाबाट लागूऔषधविरुद्धको मन्तब्य राख्ने गरिएको छ ।
शरीर र दिमागलाई योगामार्फत तन्दरुस्त बनाई सुरु गरिने कार्यक्रमको बीचबीचमा सांगीतिक प्रस्तुतीबाट पनि लागूऔषधविरुद्धको सन्देश दिने गरिएको छ । सेवनकर्ताहरुको अभिभावकसमेतको उपस्थिति रहने कार्यक्रमलाई स्थानीय तह, प्रशासनको प्रत्यक्ष सहयोग रहने गरेको छ ।
गाईघाट र बेल्टार बजारमा भइसकेको यस कार्यक्रम कटारी नगरपालिकाको सहयोगमा आज भएको हो । नयाँ पुस्ताका युवाहरुलाई लागूऔषध दुर्ब्यसनबाट जोगाउने अभियानलाई विशेष महत्वका साथ हेरिएको छ । कटारीको कार्यक्रममा मेयर राजेशचन्द्र श्रेष्ठ, उपमेयर गिता खड्का, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मी, इलाका प्रशासन कार्यालय कटारीका प्रमुख भीमप्रसाद भट्टराई, सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता उत्तम श्रेष्ठ, कटारी अस्पतालका डा. गौरव साह, वडाध्यक्षहरु, त्रियुगा नगरपालिकाकी योजना शाखा प्रमुख रोनिसा खतिवडा, कर्मचारी भगवती खतिवडा, पत्रकार महासंघ उदयपुरका सल्लाहकार भोटराज राई, अभिभावक निरा राईको उपस्थिति थियो । वहाँहरुले मन्तब्य राख्दै युवाहरुलाई लागूऔषध सेवन त्यागेर राम्रो बाटोमा लाग्न प्रेरित गरेका थिए । सेवनबाट हुने स्वास्थ्य समस्या, कानुनी झमेलाका साथै आर्थिक, सामाजिक, मानसिक, पारिवारिक सबैखाले समस्या प्रस्ट्याएका थिए ।
कार्यक्रममा पूर्व प्रयोगकर्ताहरु गाईघाटका सागर नेपाल, चौदण्डीगढीका मुकेश राई र कटारीका नारायण राईको प्रस्तुती रोचक थियो । लागूऔषधमा फस्नु भनेको नारकीय जीवन जीउनु हो, फसेकाले अव त्याग्न सके सार्थक जीवन, नयाँ जीवन पाउने बताएका थिए । साथीको गलत संगत, देखासिकी र विविधि वहानामा लागु औषधमा फसिने उनीहरुले बताए । तर, आफुहरुको जीवन बर्बात हुनै लागेको अवस्थामा चेत खुलेर सुध्रेको र सार्थक जीवन पाएको बताएका थिए । उनीहरुले यो अभियानले युवाहरुलाई सुध्रिने मौका मिलेको बताए । सुधारका लागि अभिभावक र समाजको भुमिका पनि महत्वपूर्ण रहेको बताएका थिए ।
फाइदा एउटै नहुने, सबै हानी मात्र हुने लागूऔषध सेवन गर्दै नगरेको बेस, सेवन गर्ने बानी परेकाले बेलैमा छाड्दा उत्तम हुने चेतना कार्यक्रममा दिइएको थियो । सेवनकर्ताहरुले आजकै दिनदेखि मनैदेखि मैले छाड्छु भन्ने प्रतिबद्धता गर्न प्रेरित गरिएको थियो । सोही अनुरुप उपस्थित ४६ जना युवाहरुले लागू औषध सेवन नगर्ने दृढता ब्यक्त गरे । यसअघि गाइघाटमा ५२ जना र बेल्टारमा ४२ जनाले दृढता ब्यक्त गरेकाे र उनीहरुमा सुधार देखिएकाे छ । उनीहरुलाई समाजमा रहेका अन्य प्रयोगकर्तासमेतलाई सम्झाइ बुझाइ लागूऔषध सेवन त्याग्न लगाउने काममा लाग्न प्रेरित गरिएको छ ।
समाजमा सबै अभिभावकहरुले निगरानी बढाउने, लागूऔषध कारोवारी, ओसारपसारकर्ताहरुलाई कडा निगरानी र कारवाही गर्ने जानकारी दिइएको थियो । त्रियुगा संगीत विद्यालयका अध्यक्ष शैलेन्द्र खतिवडा लगायतका कलाकारले सांगितिक प्रस्तुती राखेका थिए ।
लागूऔषध सेवन नगर्ने प्रतिबद्धता जनाएका युवाहरुलाई प्रहरीले निरन्तर निगरानी गर्ने, उनीहरुको गाउँ र घरसम्म बेलाबेलामा पुगेर भेट्ने, छाडे/नछाडेको कुरा अभिभावकसंग जानकारी लिने अभियानको गतिविधिमै पर्दछ । उनीहरुलाई निरन्तररुपमा दुर्ब्यसन त्यागेर राम्रो काममा लाग्ने र असल नागरिक बन्नेतर्फ प्रेरित गर्ने अभियानको उद्देश्य छ । अभियानसंगै प्रहरीले बजार, समाज र नाकाहरुमा लागू औषधविरुद्धको निगरानी र कारवाही तिब्र बनाएको छ ।
प्रहरीले थालेको यस अभियानलाई आमनागरिकले आफ्नाे अभियानको रुपमा स्विकारेको आभास कटारीमा भएको छ । अब बेलका नगरपालिकामा कार्यक्रम गर्ने तयारी रहेको प्रहरीले फागुन ४ गतेलाई गाईघाटमा लागूऔषध विरुद्धको विशेष दिनको रुपमा मनाउने तयारी गरेको छ । त्रियुगा उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवको सो एकदिन चर्चित र्यापर तथा हिमालय रोडिजका निर्णायक लाहुरेको विशेष प्रस्तुतीबाट लागूऔषध दुर्ब्यसनविरुद्धको सन्देश फैलाउने तयारी छ । र्यापर लाहुरे लागूऔषध सेवन त्यागेर समाजमा स्थापित भएका लोकप्रिय कलाकार हुन् । युवा पुस्तामा उनको फ्यान धेरै छन् ।
फाेटाे फिचर :
        

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0