शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

खोरियादेखि ठाडीसम्म (कथा)

एई ! छिटो उठ । गोपालले केटी भगायो रे । सबै जना तँलाई खोजी रा’छन् । आमाले कोठाको ढोका ढ्याकढ्याक पार्दै कराउनु भयो ।

मुलाले, लान्छु त भन्थ्यो तर मिति भनेको थिएन । आज पो लगेछ । आँखा मिच्दै उठँे, लागेँ गोपालेको घरतिर । सानो तिनो विवाह जत्तिकै मान्छे भेला भइसकेका रहेछन् । मलाई देख्ने वित्तिकै चारैतिरबाट फात्तफुत्त प्रश्नहरु आउन थाल्यो । कहिलेदेखि थियो ? कता लग्यो ? त्यत्तिकैमा गोपालेको आमाले नजिक आइन् र कराइन् ‘तैँले पहिले नै भन्दिएको भए म रोक्थेँ’ । कुटुला झैँ गरिन् ।

मलाई पहिले नै थाहा छ भन्ने थाहा पाउने उनले पहिले सोधेकी थिइनन् । सोधेकी भए सायद भनिदिने थिँए । आज सबैले थाहा पाइसकेपछि पहिले थाहा पाउने मलाई केर्दै थिए ।

गोपाल मेरो कन्धनी लाउने बेला देखिकै साथी हो । होइन, होइन सिङ्गल कट्टु लाउने बेला देखिको हो ।  हामीसँगै हुर्कियौँ । त्यस्तै  हामीसँगै हुर्किदै गएको थियो हाम्रो गाउँ र हाम्रो स्कुल । हामी सानो हुँदा हाम्रो गाउँको नाम खोरियाटोल थियो । २०४६ सालको आन्दोलनताका फडानी गरेर बस्ती बसेको हुनाले यसलाई खोरियाटोल भनिएको हो । उदयपुर जिल्लाको सदरमुकाम गाइघाट वारीको गाउँ हो यो । बीचमा त्रियुगा खोला छ । उत्तरपश्चिममा सगरमाथा राजमार्ग छ । हामी गाडीबाट ओर्लने ठाउँमा एउटा मात्र चिया पसल भएको सानो चोक थियो मोतिगडा ।  पुर्वमा ठाडी खोला छ । यो चुरे पहाडबाट आउने खहरे खोला हो । हामीलाई  हाम्रा बुबाले सरदमुकाम छेउ राखियो भने छोराछोरीले आँखा देख्छन् भनेर यहाँ झार्नु भएको हो  । बुबाको लागि यो गाउँ आशानगर थियो । मेरो लागि सपनामा पनि निद्रा देख्ने ठाउँ । हाम्रो पहाडको घरलाई बुबा एक्लैले यहाँ सार्नु भएको थियो । त्यो दुःखनगरबाट यो आशानगरसम्म । बुवाको दुर्याेधन म थिएँ । बुबा मलाई आफुले नदेखेको संसार देखाउनु चाहानुहुन्थ्यो । आफुले नभोगेको सुख भोगाउनु चाहानुहुन्थ्यो । र त बेलाबेलामा मैले गल्ती गर्दा आमातिर पुलुक्क हेर्दै भन्नुहुन्थ्यो ‘भो नकरा यस्कै लागि त हो ।’ सँधै नौ बजिसक्यो भन्दै विहान ६ बजे मलाई उठाउनु हुने मेरी आमाले जहिले मैले पैसा चोर्ने झोलामै पैसा राख्नु हुन्थ्यो । बुबाले मागेको बेला आमाले पैसा दिन नसक्दा बुबा र आमाबीच झगडा हुन्थ्यो । जसको कारण म हुन्थेँ । त्यसबेला आमा मतिर लाग्नु हुन्थ्यो र भन्नुहुन्थ्यो ‘छोड्नुस् छोरा मान्छेले आफुखुसी गर्न पायो भने आँटिलो हुन्छ ।’ त्यसबेला मलाई यति मात्र थाहा थियो । बुबाले कुट्नुभयो भने आमा छेउ जानुपर्छ र आमाले कुट्नुखोज्नु भो भने बुबा तिर भाग्नुपर्छ ।  त्यस्तै गोपाललाई पनि उसको बुबाले यहि सोचेर यहाँ झारेको थियो  । बुबाहरुको एकआपसमा कुरा हुन्थ्यो । हामी सुन्थिम् । हामी एउटै गाउँबाट पनि यहाँ आएका होइनौ । तेसो त हाम्रो टोलमा कुनै घर पनि एकै ठाउँबाट बसाँई आएका थिएनन् । यहाँ एकअर्कासँग कसैको विचार भाषा शैली, रहन सहन केही पनि मिल्दैन थियो । त्यसैले मान्छेहरु हाम्रो गाउँलाई ७६ जिल्लाको गाउँ पनि भन्थे । इण्डियाबाट पनि हाम्रै गाउँमा आएर बसेका थिए नि त । त्यसबेला हाम्रो गाउँमा कसैले भैँसीको दुध बेचेर गुजार गर्थे भने कसैले दाउरा बेचेर त कसैले खेती गरेर । हामी दुध बेच्नेमा पर्थियौँ । यहाँ दुध बेच्नेकै बाहुल्यता थियो । त्यसैले कचेरी बज्यैले हाम्रो गाउँलाई भन्ने गर्थिन् । सुर्य उदाय दुध गाईघाट कुदाए । कचेरी बज्यै गोपाले र मैले भन्ने नाम हो । उनको आँखा भरि कचेरा हुन्थ्यो तेही भएर हामी कचेरी बज्यै भन्थियौँ । उनको असली नाम हामीलाई थाहा भएन । गाउँ यसरी तिब्रगतिमा परिवर्तन हुँदै थियो कि । को आयो, को गयो, केही थाहा हुँदैन थियो । दुइ महिना अघि बसाँइ आएको मान्छे बसाँइ हिडिसकेका हुन्थे । ती बज्यै पनि त्यसरी आइन् गइन् । कति त अलिकति नाफा लियो बेच्यो, अलि परतिर स¥यो बस्यो गर्थे । गोपाले र हामी चाँही त्यही थिम् । कतै सरेनौ । त्यही भएर हाम्रो घनिष्टता बढ्यो ।

हाम्रो टोल भन्दा दक्षिणतिर चुरेजंगल छ भने उत्तरतिरबाट बग्छ, त्रियुगा खोला । पानी मुनीे पुल भएको खोला भनेर  प्रख्यात थियो त्रियुगा खोला । पानी मुनीको पुल तीन तहले बनेको थियो । पहिलो तह जहाँ गाडी, मान्छे, हिड्ने सडक थियो । पानीले नखोलोस भनेर अर्को तह थियो । त्यो पनि सडक जस्तै थियो । सडक जत्रै थियो । पहाडको बारीको गरा जस्तो । भित्ता भने दम्साइलो दम्साइलो पारेर मुरलीको टुप्पो जसरी तासिएको थियो । ताकी पानीको बहाव कम होस् । दोश्रो स्टेप पार गरिसके पछि मात्र पानी छाँगा बनेर बगरमा खस्थ्यो र दह बन्थ्यो । सिमेन्टले ढलाइ गरिएको यो दुइ स्टेपमा पानी नजमे पनि निरन्तर पानी बगीरहनाले गर्दा हरियो लेउ लागेको हुन्थ्यो । हाम्रो गाउँ ,चाप, मोतिगडा, मिलनचोक, गाइघाट लगाएत आसपासका केटाकेटीहरु त्यही भेला भएर  चिप्लेटी खेल्थीम् । हामी ठिङ्ग उभिएर चिप्लिदै  ओल्लो छेउदेखि पल्लो छेउसम्म पुग्थियौँ र दहमा झ्वाम्म हाम्फाल्थियौँ । बाहिरबाट आउने मान्छेहरु  धङ्धङी लागे झैँ विस्तारै हिड्थे । कति त उत्तानो परेर पछारिन्थे ।  हामी हाँस्थिम् । यो चिप्लेटी खेल्न मलाई गोपालले नै सिकाएको थियो । ‘इ ! यसरी नडराई जानु पर्छ क्या सरर’ भन्दै उस्ले चिप्लिदै मलाई देखाएको थियो । गोपाले र म गर्मीमा यसरी खोला खेल्थियाँै भने जाडोमा रातभरि गाउँभरि हात्ति लखेट्न आगो बालेको थुप्रो थुप्रोमा जान्थ्यौँ । दक्षिणबाट उत्तर तर्फ बग्ने ठाडी खोलाको किनारमा अबस्थित यस बस्ती तीन भागमा बाँडिएको थियो ।  हाम्रो गाउँ चुरेजंगलसँग जोडिएकोले सिरानमा पथ्र्याे । बीचमा चौधरीटोल र पुछारमा मुसहरीटोल थियो । हामीले हल्ला गरेपछि चौधरीटोल मुसहरीटोल पनि आगो बालेर हल्ला गर्थे । गोपाले मलाई सुनाउँथ्यो, ‘मुला, यसपाली त पाँचवटा ठुलो हात्तिको जेर आछ रे ।’ कहिले कहीँ  हामी त्यत्तिकै पनि ‘आयो है आयो’ भन्दै हल्ला गर्थियौँ । हाम्रो गाउँमा मात्र दुइवटा कुराको डर थियो । वर्षामा त्रियुगा खोलाले बगाउला भन्ने डर । हिँउदमा हात्तिले मार्ला भन्ने डर । यत्ति हो ।  हिउँदमा हामीलाई चिप्लेटी खेल्न मज्जा भएपनि वर्षामा भने त्रियुगा खोलाले धेरै मान्छेहरुको ज्यान लिने गरेको थियो । यसपाली मानेको बाउलाइ बगायो । विहान खान खाएर अफिस हिँडेको उनी बेलुका फर्किएनन् । गाडीको छतमा चढेर त्रियुगा खोलाको बाढी तर्दै गरेको उनी बाढीले गाडी ढलपल भएपछि अब गाडि पल्टिन्छ भन्ने ठानेर बीच बाढीमा हाम फालेछन् ।  गाडी पार भयो । उनी पार भएन । उनी बाढीमा बग्दै गए । तीन दीन पछि उनको लाश तल जोगीदह छेउमा भेटियो ।  त्यस्तै पोहोर सौरभेको आमालाई हिउँदमा हात्तिले मा¥यो । हामीले देखेनौ । भनेको सुनेका थियाँै । कोषीटप्पु बन्यजन्तु आरक्षणबाट बच्चासहित आएको ४ वटा हात्तिको समुहले उनलाई कुल्चिएर मारेको रे । राती गाउँमा धान खान आएको हात्तिलाई सौरभको आमाले  ‘साँडीले सबै सकि हाल्यो नि’ भन्दै लखेट्न गएकी थिन् रे त्यहिबेला उनलाई हात्तिले सुँडले टिपेरे पछार्दै खुट्टाले किचेर मारेको रे । यसरी हिउँद लागेपछि चुरे जंगलबाट खाना खोज्दै आउने हात्तिको हामिलाई बर्सिउनी डर हुन्थ्यो ।

त्रियुगा खोला बाढीको कारणले गर्दा नजिकै गाइघाटको स्कुल छाडेर गोपाले र म एकवारे पर्ने अलिटाढाको स्कुल देउरीमा पढ्थिम् । स्कुल पनि हामी कक्षा चढेसँगै निमावि मावि बन्दै थियो । त्यो स्कुलको पहिलो व्याज हामी । पढ्न त हामी के पढ्थिम् । गोपाले र मलाई सब भन्दा बढि झ्याउ लाग्ने काम भनेको पढ्ने काम थियो । पढेर के हुन्छ हामीलाई थाहा थिएन । यत्ति थाहा थियो । पढेन भने घरमा बाउले कुट्छ, स्कुलमा सरले । हामी मात्र बा र सरको लागि पढ्न जान्थ्यौँ । स्कुलमा हामी पछाडिबाट बस्न शुरु गथ्र्यौ । पछाडि बस्दाका फाइदाहरु हामीलाई मात्र थाहा थियो । जस्तो कि, कसैले यो फोहोरी नजान्ने भन्न पाउथेन । सरको पहिलो नजर हामीमा पर्दैन थियो । बेलाबेला गफ गर्न पाइन्थ्यो । सर पछाडि आउँदै गरेको थाहा पाउँथ्यौँ । अनि सहत्रक हुन्थ्यौँ । हाम्रो आवाज ठुलो भएको जानकारी सरबाटै पाउँथ्यौँ । चुप लाग्थ्यौँ । सरले अगाडिबाट हानेको चक डस्टरको प्रहार कम गतिमा हामी माझ आइपुग्थ्यो । छेलिन भ्याउँथ्यौँ । लागि हाले पनि कम चोट लाग्थ्यो । स्कुलबाट भाग्न  पनि सजिलो हुन्थ्यो । पछाडिको कस्ले हिसाब राखोस् । एउटा साथी स्कुल पछाडिको झ्यालमा गयो अर्काेले सबै किताब उस्लाई पास ग¥यो । उ स्कुल पछाडिबाट सबैको किताब लिएर कसैले नदेख्ने गरी  छेल पर्दै लहारी बारीबारी भागेर बाटोमा निस्कन्थ्यो । अरु खेलेझै गर्दै बाटैबाटो उस्लाई भेट्न आइपुग्थ्यौँ । अनि सबैजना जम्मा भयो आ–आफ्नो किताब ढाडमा हाल्यो । सर्टले कम्मरमा बाध्यो, हिड्यो । हात त बेलाबेला सिँगान पुछ्न, अर्काको फलफुल चोर्न खाली चाहिन्थ्यो नि त ।  हाम्रो ग्रुपमा जम्मा चार जना थियौँ । सबै स्ट्रा । सौरभ, आवाज ठुलो मान्छे सानो । उमेरले होइन, उचाईले । अँध्यारोमा बसेर करायो भने सबै थर्किने । जस्लाई हामी पिच्यूँ भन्थ्यौँ । माने, सानैमा जुंगा आएको, जसको उपनाम जुंगे ।  जुंगे भन्यो भने रिसाउँथ्यो । इ जुंगे भन्दै गुप्ताङ्ग देखाउँथ्यो । हे हे गर्दै हामी हास्थ्यौँ । अनि म गणेश । म अलि उनीहरु भन्दा गोरो थिँए । सौरभ म भन्दा नि सानो भएर मात्र हो नत्र सौरभेको उपनाम मैले पाउँथे । त्यो पाइन तर च्वाँचेको उपनाम मैले पाँए । जो जे भन्दा रिसाउँछ त्यसको तेही उपनाम राख्ने चलन थियो । मनपरी होइन अर्थपुर्णकै उपनाम राखिन्थ्यो ।  गोपाले जस्को गुप्ताङ्ग हाम्रो भन्दा साइजमा ठुलो थियो ।  चिप्लेटी खेल्दा देखेका थिम् नि त । त्यसैले उसको उपनाम घोडी  । यति नै हो हामी । जो सँगै स्कुलबाट भाग्न राजी हुने, सँगै अर्काको आँप चोर्न जाने । सँगै फिलिम हेर्न जाने । सँगै पौडी खेल्ने । परी आएको खण्डमा अरुसँग एकमत भएर फाइट खेल्ने । देउरीमा नयाँ सिनेमा हल बनेको थियो ।  जस्को रोड साइडको भित्तामा टलक्क टल्कीने अक्षरमा लेखिएको थियो पुनम टाकिज देउरी । नयाँ फिलिम लाग्यो भने  हामी ९ बजे स्कुल जाँदै गर्दा बाटोमा देख्थिम् ।  रिक्साको दुबै साइडमा हिरोले उडीउडी हानेको । हिरोनी नाचेको । ठुलो पोष्टर राखेर माइकमा ‘लौ त याद गर्नुहोस् तँपाइहरुकै आफ्नै बजारमा याक्सनै याक्सन मनोरञ्जनले भरिपुर्ण सुपरहिट नेपाली चलचित्र अपार भिडका साथ चलिरहेछ । तपाईहरुकै मन पसन्द कलाकारको साथमा आउनुहोस हेर्नुहोस ।’ भन्दै कराउँदै आइरहेको हुन्थ्यो । फिलिमको प्रचार गर्नेले जस्तो सुकै फलप फिलिम होस उसले ‘सुपरहिट’ भन्न छुटाउथेन । हलमा एकजना पनि नजावस् ‘अपार भिडका साथ’ भन्न छुटाउथेन । जस्तो सुकै कलाकार होस ‘मनपसन्द’ भन्न छुटाउदैन थियो । त्यस्तै थियो गोपाले । जनुसुकै फिलिमको प्रचार आवस उ मलाई ‘खतरा छ रे मुला’, भन्न छुटाउथेन । म पनि ‘पैसा छैन’ भन्दै चुँइकिन छुटाउदिन थिएँ । हामी चारै जना जुनसुकै फिलिम आवस प्राय हेर्न छुटाउदिन थियाँै ।

फिलिम हेर्दा चाहीँ हामी अगाडि बस्थिम् । अगाडि सस्तो हुन्थ्यो नि त । फिलिम हेर्नको लागि त्यसबेला चारजनाको लाग्ने जम्मा रकम रु २४ प्रथमश्रेणीको । जसरी हुन्छ , जताबाट हुन्छ, हामी जुटाउँथियौँ । गोपाले र सौरभले बाउको पैसा हाल्ने स्टकोट कहिले एकान्तमा पाउनु । मैले आमाले दुध बेचेको पैसा कहाँ राख्छीन पत्ता लगाउनु । मानेले एक्लै भएको घर फेला पार्नु कम्ता मुस्किल हँुदैन थियो । फेरी कसैले थाहा नपाइ झिक्नु पर्ने । एक दुइवटा भिलेन सबैको घरमा थियो बहिनी या भाइ ।  उनीहरुले थाहा पाए भनि भन्ने एउटै डाइलग हुन्थ्यो ‘भन्दिन्छ’ु । कलाइ भन्दिन्छ  हाम्लाई थाहा थियो । उसले नभने पनि एक न एक दिन त थाहा भइहाल्थ्यो । ढिलोचाँडो हामी सजायका भागीदार हुन्थ्यौँ । सजाय पाएको भोलीपल्ट एकले अर्कालाई सुनाउँथ्यौँ । सजाय पाउने रुन्चे अनुहार लाउँथ्यो । अरु हेहे गरेर हाँस्थ्यो । सजाय पाउनेले त्यो दिन  घोषणा गथ्र्यो  ‘कस्सम अब त म चोर्दिन’ । अरु जिल्ल पर्थे । पछि उही मैले फेला पारे नि  भन्दै सुनाउँदै आउँथ्यो । हामी घरको पैसा चोरथ्यौँ अरुको फलफुल । स्कुल जाने बाटोमा हाम्रा अगाडि फल्न हिम्मत गर्ने आँपहरु प्राय पाक्न पाउँदैन थियो । चिचिल्ला लागेदेखि टोक्न थालेको आँप कोया पस्दासम्म सकि सक्थ्यो । आँपवालाले हामीलाइ धरापमा पार्न खोज्थ्यो । हामी पत्तातोडले भाग्थ्यौँ । उ पनि हामी भागोस नै भनेर परैबाट हल्ला गर्दै आउँथ्यो । हामी भागी दिन्थ्यौँ । उ भन्थ्यो ‘बरु मागेर खानु नि,’ हामी उस्ले नसुन्ने गरी भन्थीम ‘मागेर दैनिक दिन्छस् र, अर्कोले थप्थ्यो ‘त्यहि त हामीलाई पुग्ने दिन्छस् र ।’ जब भागेर सुरक्षित छाँै भन्ने ढुक्क भएपछि यस्ता कुरा गर्थिम् । कसैलाई कुहेको आँप प¥यो भने राँडीको बानको आँप भन्दै फाली दिन्थीम् । विचरा, आँपवालालाई के थाहा  हामीले गाली गरेको ।

अब हामी शनिबारे छुटिमा आफै नुहाउने, आफ्नो कपडा आफै सफा गर्ने भइसकेका थियौँ । नुहाइ सकेर तेल लाउने कपाल छड्के पारेर कोर्ने गर्न थालेका थियौँ । यसो भनौँ हामी आफ्नो सरसफाईमा ध्यान दिन थालेका थियौँ । हामी तन्नेरी हुन थालेका थियौँ । गोपाले र मैले अब काँचो आँप खाने फिलिम हेर्ने कार्यलाई केटाकेटीले गर्ने काम हो भन्न थालेका थियौँ । सडकमा हिड्ने केटीहरुलाई रातो लाउने मेरो, हरियो लाउने तेरो भन्न थालेका थियौँ । विचरा त्यो केटीहरुलाई के थाहा  उ कस्को कस्को । हाम्रो खोरियाटोल अब तीनैगाउँको बस्ती जोडिएर एउटै ठुलो गाउँ बनेको थियो । जुन गाउँ खोरियाटोलबाट ठाडीटोल बनिसकेको थियो । हाम्रो गाउँ भन्दा दक्षिण पश्चिम साइडको चुरेजंगल छेउमा क्याम्पस थियो । मोतिगडा चोक बजार बनिसकेको थियो ।  क्याम्पस पढ्न आउने केटीहरु हेर्न हामी मोतिगडा चोक धाउन थालेका थियौँ । क्याम्पस टाइम भएपछि चिरिच्याट्ट परेर हामी जुल्फी हल्लाउँदै क्यारिम बोर्ड खेल्ने बहानामा केटीहरु हेरेर बस्थ्यौँ । आफ्नो त क्याम्पस जाने हैसियत भए पो त । एस.एल.सी मै गुल्टी गाको । बा र सरमेडमको लागि पढेर भए पनि टेष्टसम्म त पास गरियो । रेगुलरमा त तीन विषय लागेछ ।  चान्स पनि पाइएन । दोश्रो चोटी झ्याप्टेट दिएर बल्ल पास गरियो । गोपाले पनि दोश्रो चोटी हो तर उसले चाहीँ चान्स पाएर पास ग¥यो ।

हाम्रो गाउँमा २०५२ साल देखि २०५७ सालसम्ममा  यो बस्तीको चाप बढेको हो । दशवर्षे जनयुद्धको कारण गाउँमा बस्न असुरक्षित भएपछि मानिसहरु सुरक्षित र सस्तो खोज्दै हाम्रो गाउँमा बसाइ आएका थिए । भुल्केमा आर्मि क्याम थियो भने गाइघाट सरमुकाम थियो । यहाँ माओवादीहरुको तेति चलखेल थिएन । त्यसैले मान्छेहरु यहाँ आएका हुन् । तेही सिलशिलामा भोजपुरबाट शर्मिला मगरको परिवार पनि गोपालेको घर भन्दा तीनचार घर परतिर श्याम बहादुरको घर किनेर बँसाइ आएका थिए । उनी पनि एस.एल.सी दिएर आएकी थिइ । उनको पनि हाम्रो जस्तै समस्या थियो । क्याम्पस जान पास भएकी थिइन । स्कुल पढ्न जाने कुरा भएन । केही गर्न नपाए पछि गोपाले र सर्मिलाले प्रेम गरे । साथी वा हुलाकीले गर्ने फर्मालिटी मैले पुरा गरेँ । हुन त सबै सम्बन्धहरु चटक्क छाडेर आएको यो मान्छेहरुको बस्तीमा गोपाले र शर्मिला एउटा प्रतिनिधि मात्र हुन् । उमेर पुगेका केटाकेटीहरु कतिलाई घरपरिवार कै सल्लाहामा गाउँमै विवाह गरिदिन्थे भने कति गोपाले जस्तै भागेर जान्थे । अहिले यो गाउँका मान्छेहरु कति मितबा मितआमा त कति  सन्धीसम्धीनी बनीसकेका छन् । सायद मान्छेहरुमा जुन कुराको अभाव हुन्छ त्यसलाई पुरा गर्ने चाहानाले यस्तो भएको होला । अहिले गाउँ नातै नाताले भरिएको छ । आज फेरी अर्को अपरिचितहरु नातामा बाँधिए ।

प्रतिक्रिया