शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

गाइघाट चौतारी

कविता

दाइ
चुरिया मन्दिर आइपुग्यो
नमस्कार गरौँ
यहाँ त सम्झाएको मात्र हो दाइ
नमस्कार खानेहरु त तलै गाउँतिर बस्छन्
आउनुस् दाइ
बसेर कुरा गराैैं
हेरेर कुरा गरौँ
उ त्यो डाँडा छ नि दाइ
त्यो बोक्से हो
वैदेशिक रोजगारीमा नजानेहरु तेतै रोजगारी गर्छन्
तेतै भेटिन्छ, कलम बोक्ने बन्दुक बोक्नेहरु
अलि मास्तीर चाहीँ
यतापटि बन्दुकले जग्गा किन्नेहरु बस्छन्
उतापटि गुलेलीले जग्गा किन्नेहरु बस्छन्
अनि
त्यो तल्लो भाग देखिन्छ नि दाइ
त्यो चाहीँ गाइघाट बजार हो
त्यहाँ भाउमा तलमाथि होला दाई
तर व्यापारीको दाउमा तलमाथि छैन
सबैको एउटै दाउ छ कमाउने
अनि
त्यो खोला छ नि दाइ
त्यो त्रियुगा खोला हो
यहाँ यसैकोे राज चल्छ
नगरपालिका, क्याम्पस, अस्पताल, विद्यालय
सबै यसैको हो दाइ
हाम्रो त केही छैन
देशले किनारा लगाएका हामी यस्कै किनारामा बस्छाँै
अनि
यतापटिको गाउँ छ नि दाइ
त्यो दशवर्षे जनयुद्धमा मास्तिरबाट झरेका हुन्
उतापटिको गाउँ चाहीँ
तराइआन्दोलनमा तलतिरबाट चढेका हुन
आपतको बेला शान्ति खोज्दै आउने ठाउँ
यहि त हो नि दाइ

दाइ
हामी यहाँ बाहुनको गोठको दाने गाइ जस्तै छाँै
काले, गोरे, चुच्चे, थेप्चे, जुंगे, दारी
सबै बस्छाै
दाइ यहाँ
मुस्लिमले अल्लाहा भने पछि
हिन्दु उठेर मन्दिर जान्छ ।
दाइ
माथिका वाक्यहरु
जिस्कदा उच्चरण हुन बाहेक
अन्यथा नसोच्नु होला
सोच्नु भए पनि केही छैन दाइ
हामी शिरमा रौतामाई राखेर
छातीमा त्रियुगा बगाउने मान्छे हौँ
सानो तिनो चोटको निशाना भेटिदैन ।
उठाै दाइ
जाउँ अब
उ त्यो सिमेन्ट उद्योगलाइ गएर सोधाँै
कतिलाइ  धुलो खुवाइस्
अनि कतिलाइ …

प्रतिक्रिया

%d bloggers like this: