मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

रेडियोभित्र गीत गाउने मान्छे खोज्दा बाजेको रामधुलाई खाँए : गायक भुवन सुप्तिहाङ राई/कुराकानी

अहिले के मा व्यस्त हुनुहुन्छ ?

अहिले म मेरो एल्बम सम्मान मेरो को प्रमोशनमा लागिरेको छु । यो दशैं, तिहार, छठ पर्वको उल्लासमय माहौलसंगै एल्बमको प्रमोशनमा छु ।

एल्मब सम्मान मेरो को प्रमोसनका लागि के के गर्दै हुनुहुन्छ ?

काठमाठौंमा त निकै नै यसको प्रचार प्रसारका काम भए, यो उल्लसमय पर्वको माहौलमा पूर्वी भेगमा गरौं भन्ने हो । तसर्थ विभिन्न ठाउँमा कन्सर्टहरु रहेका छन्, मिडियामा भेटघाट, कुराकानी, जस्तै की आज हजुरसंग भयो । अनि अन्य पम्प्लेटिङ, पोष्टरिङ लगायत छन् ।

सम्मान मेरो कस्तो खालको एल्बम हो ?

अहिले एक अर्कामा सम्मान गर्ने परिपाटी हराउदै गएको छ । चेलाले गुरुलाई गर्ने सम्मान, नयाँपुस्ताले अग्रजलाई गर्ने सम्मान, सानाले ठूलालाई गर्ने सम्मानमा कमी आएकको छ । कला, प्रतिभा, सिर्जनाका लागि हुनुपर्ने सम्मानमा कमी आएको छ । त्यसैले अहिलेको समय र अवस्थालाई मध्येनजर गरेर ल्याएको एल्बम हो । सम्मान गर्नुपर्नेलाई सम्मान गरौं, माया गर्नेलाई माया गरौं । सहयोग गर्नुपर्नेलाई सम्मान गरौं । कला, सिर्जना र प्रतिभालाई कदर गरौं भन्ने सन्देश बोकेको एल्बम हो यो ।

त्यसो भए सम्मान मेरो एल्बमले खासगरी क कस्लाई सम्मान गर्नुभएको छ ?

सम्मान मेरो सबैलाई हो । ज जस्लाई सम्मान गर्नुपर्ने हो, उहाँहरु सबैका लागि सम्मान गरेको छु । सम्मानीत, अग्रजहरुकै लागि समर्पित छ यो एल्बम् ।

कस्ता कस्ता गीत छन्, यहाँ ?

सबै खाले गीत छन् । म सबैखाले गीत गाउन रुचाउने भएकोले सबैखाले छन् ।

सानो छदा गायक बन्छु भन्ने लागेको थियो ? संगीतिक क्षेत्रमा कसरी प्रवेश भो ?

थिएन । गायक बनुला भन्ने थिएन । तर गीतसंगीत प्रति भने औधी रुची थियो । यतिसम्मकी मेरो बाजेको एउटा रेडियो थियो । त्यो रेडियोमा गीत बज्थ्यो । म खुब सुन्थेँ । अनि त्यहाँ एकजना बोल्ने, एकजना गीत गाउने, एकजना मादल बजाउने, अर्को जना बासुरी बजाउने, कोही तबेला बजाउने । अनि यति सानो रेडियोमा कत्ति धेरै मान्छे अटेको होला ? कत्रा छन् ती मान्छेहरु भन्ने जिज्ञासा अति धेरै लाग्थ्यो । अनि मलाई उनीहरुलाई हेर्न साह्रै नै मन लाग्ने । एकदिन बाजे बाहिर गएको मौका पारेर डराउदै डराउदै रेडियो खोलखाल पारेँ, अनि कुनाकुनासम्म खोलेर हेरेँ, तर रेडियोभित्र मान्छे कहाँबाट हुनु (हा हा हा… लामो हाँसो) । दुइटा व्याट्री, तारहरु अनि के के ससाना मेसिनरी सामानहरु मात्र रहेछन् । यतिगर्दासम्ममा तारहरु चुडिएर रेडियो नै नबज्ने भएछ । पछि बाजे आएर मेरो कर्तुत थाहा पाईहाल्नु भो, अनि बाजेको दह्रो राम धुलाई खाईयो । संगीतको भुत चढेकैले मैले बाजेको रामधुलाई खानु परेको थियो । त्यसपछि पनि म गाउँघर, विद्यालयमा गीत गाईरहन्थेँ । त्यसैलाई देखेर मेरो काकाले ममा केही सम्भावना देख्नुभयो र मलाई अलि राम्रै ठाउँमा लैजाने मनोसायका साथ काठमाडौं लानुभयो । म त्यही गएर राम्ररी सिक्ने, साधना र संघर्ष गर्दै अगाडी बढेको हुँ ।

यहाँको साह्रै लोकप्रीय गीत, यस्तो भा छ मायालु… निकै चलेको हो नी ?

हो, मेरो दोस्रो एल्बममा समेटिएको त्यो गीत निकै हिट भयो । मेरो गायन क्षेत्रको एउटा टर्निङ प्वाईन्ट नै हो त्यो गीत ।

आफुलाई कस्तो खाले गायक ठान्नुहुन्छ ?

म भर्सटायल गायक बन्ने कोसिसमा छु ।

कतिजति गीतहरु गाईसक्नु भयो ?

पाँचसय बढि गीतहरु गाईसकेको छु ।

संगीत पनि गर्नुहुन्छ ?

हजुर, गाउँनुभन्दा धेरै नै कम्पोजिसन गरिसकेँ ।

गायन र संगीत कसरी संगसंगै लानुभएको छ ?

गाउनु सजिलो हो, सिर्जना गर्नु निकै गाह्रो हो । मलाई चै सिर्जनामा एकदमै मजा आउछ ।

दुईमध्ये एक रोज्नु पर्यो भने कुन ?

यो एउटै चिज हो तर, म रोज्दा चै गायन नै रोज्छु ।

फ्यानहरु कति छन् ?

धेरै हुन्छन् । तर म चाँही मेरो भन्दा पनि मेरो गीतको प्mयान होस् भन्ने चाहन्छु ।

यस क्षेत्रमा लाग्दाको विशेष तितो अनि मिठो कुरा के के छन् ?

धेरै नै संघर्ष गरियो त्यस्ता क्षणहरु धेरै नै छन्, तरपनि संगीत क्षेत्रमा लागेर आफुलाई सक्सेस गरे त्यो नै सबैभन्दा खुसीको कुरा हो ।

नयाँ पुस्तालाई छोटो सुझा राखिदिनुस् न ।

साधना, त्याग तपश्या तीनवटा कुरा महत्वपूर्ण छन् । अनुशासनले काम गर्नुपर्छ ।

अन्तमा केही छ की ?

अन्तमा हजुर र पूर्णपुष्टि मिडियालाई धन्यवाद । अहिले म सम्मान मेरो एल्बमको प्रमोसनको सिलसिलामा पूर्वमा छु । एल्बम बजारमा आएको छ । साथै एक्स्ट्रा मनोरञ्जनले भिडियो पनि ल्याइसकेको छ । गीत सुनिदिएर, भिडियो हेरिदिएर सल्लाह, सुझाव दिन अनुरोध गर्दछु ।

प्रस्तुती : भोटराज राई
पूर्णपुष्टि, असोज २८ गते ।

प्रतिक्रिया

%d bloggers like this: