शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

कोरोनाविरुद्ध रौतामाईको उच्च सतर्कता, आइस्योलेशन र काेष स्थापना

पूर्णपुष्टि, चैत १२ ।

उदयपुरको रौतामाई गाउँपालिकाले कोरोना भाइरस विरुद्धको उच्च सतर्कता अपनाउदै स्वास्थ्यचौकी मुर्कुचीमा आइस्योलेशन स्थापना गरेको छ । साथै पालिकाका स्वास्थ्यचौकीहरुमा हेल्पडेक्सहरु राखिएका छन् । स्वास्थ्य चौकीका स्वास्थयकर्मीहरुलाई व्यक्तिगत सुरक्षाका साधनहरु उपलब्ध गराईएको छ । आवश्यकता अनुसार भुट्टार र रौताको स्वास्थ्यचौकीमा पनि आइस्योलेशन स्थापना गरिने पालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताउनुभयो ।

अध्यक्ष खड्काले पालिकामा संक्रमण बढेमा नियन्त्रण तथा उपचारमा टेवा पुर्याउन कोषको पनि स्थापना गरिएको बताउनुभयो । कोषमा पालिकाको विपद् व्यवस्थापनबाट ५ लाख, जनप्रतिनिधिरुको पाँचदिनको सुविधा, कर्मचारीहरुको एकदिनको सुविधा गरी करिब १० लाखको कोष स्थापना गरिएको छ । कोषलाई आवश्यकता अनुसार बृद्धि गर्दै जाने उहाँले बताउनुभयो ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले पालिकामा कोरोना भाइरसको संक्रमण विरुद्ध उच्च सतर्कता अपनाइएको बताउनु भयो । विभिन्न माध्यमबाट पालिकाबासीलाई सचेतना जगाउने काम गरिएको बताउनुभयो । पालिकामा हालसम्म कोही पनि संक्रमित तथा संकास्पद मानिस नभेटिएको पनि बताउनुभयो । विशेषगरी बाहिर देशबाट आएका मानिस र विरामी भएका मानिसहरुको निगरानी गरी सम्बन्धीत निकायमा बेलैमा खबर गर्ने र उपचारका लागि चेकजाँच गर्न आव्हान गरिएको बताउनुभयो ।

यसअघि नै पालिकाले सरकारको निर्देशन बमोजिम सबै विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिसकेको छ । अतिआवश्यक सेवाहरुबाहेकका सरकारी कामकाज पनि बन्द गरिएका छन् । कर्मचारीहरुलाई घर वा डेरामै बसेर काम गर्न निर्देशन दिइएको छ । पालिका क्षेत्रमा यातायात र मानवीय भीड हुने गतिविधी, कार्यक्रमहरु पनि निशेष गरिएको उहाँले बताउनुभयो छ ।

स्वास्थ्यकर्मीहरु चाँही कार्यालयमै रहेर जुनसुकै समयमा उपचार तथा परामर्श सेवा पुर्याउने गरी व्यवस्थित गरिएको पालिकाले जनाएको छ ।

पालिकाले पालिकाभित्र सञ्चालनमा रहेका चारवटा एम्बुलेन्सहरुलाई हरदम तमतयार राखेको जनाएको छ । एम्बुलेन्समा कोरोना भाइरस संक्रमित वा शंकास्पद मानिस भेटिएमा निःशुल्क उम्बुलेन्स सेवा प्रदान गर्ने पालिकाले निर्णय गरेको छ ।

 

प्रतिक्रिया

%d bloggers like this: