शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

सूर्य उपासनाको पर्व : छठ

अजयकुमार साह

नेपाल बहुजातीय, बहुभाष्ािक, बहुसाँस्कृतिक र बहुधार्मिक मुलुक हो । विविध जातजाति, भेषभूषा, रीतिरिवाज, धर्म, सँस्कृति, रहनसहन र परम्पराहरु यहाँका सम्पदा हुन् । नेपालमा असंख्य चाडपर्वहरु मनाइने गरिन्छन । यी चाडपर्वहरुमा विशेष गरी तराई–मधेश क्षेत्रमा मनाइने छठ पर्वको महत्वपूर्ण स्थान छ । छठ पर्व धार्मिक, साँस्कृतिक एवम सद्भाव बढाउने पर्व हो । यो पर्व नेपालको तराई–मधेशमा मात्र नभएर काठमाडौं उपत्यकालगायत नेपालका धेरैजसो शहरी क्षेत्रमा धुमधामका साथ मनाइन्छ । यस पर्वलाई छइठ, छठी, डाला छठ वा सूर्य षष्ठी व्रत पनि भन्ने गरिन्छ ।

सृष्टिको शुरुआतदेखिनै सूर्यको उपासना गरिदै आएको पाइन्छ । हिन्दूहरुको प्राचीन ग्रन्थ ऋग्वेदमा पनि सूर्य उपासनाको उल्लेख भएको छ । ऋग्वेदको चौधौं अध्यायमा सूर्यलाई विश्वको आत्मा मानिएको छ । अर्थववेदमा सूर्यलाई ब्रह्माको साकार रुप मानिएको छ, सूर्यलाई नै भगवान भनिएको छ । “ऊँ भूर्भुस्व ः तत्सवितुर्वरेण्यं भर्गाेदेवस्यः धी मही धियो योनः प्रचोदया” भनिने गायत्री मन्त्रमा सूर्यको प्रार्थना गरिएको छ । भविष्य पुराणमा उल्लेख भएअनुसार सूर्य प्रत्यक्ष देखिने देवता हुन, सूर्य समस्त जगतका आाखा हुन र सूर्यबाट नै दिनको सिर्जना हुन्छ । सूर्य शक्तिमान छ र भेदभावरहित भई आफ्नो प्रकाश छर्दछ । वेदहरुमा सूर्यलाई १४ वटा पर्यायवाची नामले सम्बोधन गरिएको छ । महाभारतमा सूर्यको १०८ र अमरकोशमा ५४ वटा पर्यायवाची नाम पाइन्छ भने ब्रह्मा पुराणको सूर्य सहश्रनामस्तोत्रमा सूर्यको एक सहर्ष नामको उल्लेख पाइन्छ । अग्निपुराणमा पनि षष्ठी ब्रतको प्रसङ्ग उल्लेख छ भने सूर्य पुराणमा अत्रिमुनीकी पत्नी अनुसुयाले छठ ब्रत गरी अटल सौभाग्य र पति प्रेम प्राप्त गरेको प्रसंङ्ग छ । भागवत पुराणमा राजा प्रयिवतले षष्ठी देवीको पूजाबाट पुत्र प्राप्त गरेको र शाम्ब पुराणमा शाम्बले सूर्याेपासना गरी कुष्ठरोगबाट मुक्त भएका कथाहरु पाइन्छन ।

महाभारत वनपर्व सूर्याेपनिषद्मा सूर्यलाई ब्रह्मा, विष्णु र रुद्र भनिएको छ । ऋग्वेदमा सूर्यसम्बन्धी १० वटा सूक्त छन् । ऋग्वेदमा सूर्यको उद्भव विराट पुरुष भगवानको आँखाबाट भएको उल्लेख छ भने याज्ञवल्क्यद्वारा रचित सूर्यस्तोत्रमा सूर्यलाई अग्नि र सोमबाट उद्भव भएको भनिएको छ । लोकमानसमा सूर्यको उपासना आदिमकालदेखि प्रचलित हुँदै आएको छ । संम्पूर्ण संसारलाई पक्षपातरहित प्रकाशित गर्नु सूर्यको विशेषता हो । वेदहरुमा सूर्यको भव्य, गरिमामय, उज्ज्वल र दिव्य रुप वर्णन गरिएको पाइन्छ । वेदको एउटा मन्त्रमा सूर्यलाई आकाशको सुनौलो रत्न भनिएको छ । सूर्याेपासनाका आधारमा छठ पर्वलाई प्राचीन पर्व मानिए पनि यस पर्वको विधिवत शुरुआत कहिलेदेखि भयो भन्ने कुराका ठोस प्रमाणहरु पाईदैनन । श्रीमद्भागवतको कथाअनुसार सत्राजीत नाम गरेको एक यादवले शरद ऋतुमा सूर्यको उपासना गरेपछि सेवन्त नाम गरेको प्रकाशमान मण्ािमाला प्राप्त गरेको पाइन्छ भने रामायणकालमा अगस्त्य ऋष्ािले भगवान रामचन्द्रलाई सूर्यमन्त्र सुनाएको एवं हनुमानले सूर्य भगवानलाई आफ्ना गुरु बनाएको तथा राजा दशरथकी महारानी कौशल्याले छठ ब्रत गरेका लोककथाहरु पनि पाइन्छन ।

छठ पर्वको शुरुआतको सम्बन्धमा व्याप्त किम्वदन्तीहरुमध्ये महाभारतकालमा चौध वर्षको वनबासको बेला कुन्ती–द्रौपदीसहित पाँचै पाण्डवले यो षष्ठी ब्रत गरेको तथा पाण्डवहरुले विराट राजाको दरबारमा एक वर्षको गुप्तवास बिताउने क्रममा द्रौपदीले छठ ब्रत गरेको किम्वदन्ती पाइन्छ । आज पनि मिथिला क्षेत्रमा छठ पर्व विशेष रुपले मनाउने प्रचलन छ । यसैगरी भारतमा गुप्तकालीन समयमा सूर्यको पूजा र प्रार्थना गर्ने भावनाको झन विकास भएको पाइन्छ । स्कन्द पुराणमा उल्लेख भएअनुसार यो ब्रत आचार, नियम र आस्था एवंम् निष्ठाका साथ जो कोहीले पनि लिन सक्दछ । यस पर्वमा जाति, धर्म, लिङ्गको विभेद र बन्धन छ्रैन । सूर्यको पूजा हिन्दूहरुले मात्र नभई बौद्ध धर्म मान्नेहरुले पनि गर्ने गरेको बौद्ध पालि धर्मग्रन्थहरुबाट प्रमाण्ाित हुन्छ ।

भविष्य पुराणमा उल्लेख भएअनुसार सूर्यको उपासनाबाट सौभाग्य, अतुलकान्ति, श्रीसौन्दर्य, धर्म र आरोग्य प्राप्त हुने तथा शत्रु नाश हुने हुन्छ । भक्तिभावले सूर्य भगवानसँग जुनसुकै वर मागे पनि पूरा भई मनोकामना पूर्ण हुने र सूर्याेपासक मनुष्यलाई धन, आयु, यश, विद्य्या र अतुल प्रभाव प्राप्त हुन्छ भन्ने आत्मविश्वास पाइन्छ । हिन्दू परम्परा अनुसार नामाकरण सँस्कारको समयमा बालबालिकालाई सूर्यको दर्शन गर्न लगाइन्छ । यसै गरी नेवार समाजमा बेल विवाह (इही) भन्दा पहिले कन्याहरुलाई गुफामा राखी गुफाबाट निकालेर सर्वप्रथम सूर्यको दर्शन गराउने प्रचलन छ । वैज्ञानिक मान्यताअनुसार सूर्यको प्रकाशबाट भिटामिन डी प्राप्त हुने र सूर्यको प्रकाशले चर्मरोग निको हुन्छ भन्ने विश्वास गरिन्छ । प्राकृतिक चिकित्सा पद्धतिमा पनि सूर्य नमस्कार तथा सूर्य रश्मीको महत्व रहेको पाइन्छ ।

शरद ऋतुको आगमनसँगै शुरु हुने छठ पर्वले हाम्रो दैनिक जीवनमा सूर्यको महत्वलाई समेत दर्शाएको छ र यस पर्वमा शिव र शक्तिको संयुक्त पूजा हुन्छ । साँस्कृतिविद् डा.रामदयाल राकेशका अनुसार सूर्यको उपासना गर्ने चलन नेपाल र भारतमा मात्र नभएर सूर्याेदयको देश मानिने जापानमा पनि छ । उदाउँदो र अस्ताउँदो सूर्यको प्रकाश मानव शरीरमा प्रवेश गर्दा उसको शरीरमा नयाँ स्फूर्ति, नयाँ ऊर्जा उत्पन्न हुन्छ । बिहानको सूर्यको प्रकाश शरीरमा प्रवेश गरेपछि अनेकौं रोग निको हुँदै जान्छ । इलामको महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक केशवप्रसाद खरेलका अनुसार अन्धकाररुपी शत्रुलाई नष्ट गरी प्रकाशपुञ्जले मानव जातिलाई अभिप्रेरित गरेर अटल शौभाग्यशाली सूर्य भगवान चराचर जगतको कल्याणमा सदा लागिपरेको देखिन्छ । उनी शक्तिका अधिष्ठाता र रोगमुक्तक हुन् ।

पुराणवाचक चक्रपाण्ाि पौडेलका अनुसार कात्तिक शुक्ल प्रतिपदादेखि सप्तमीसम्म सूर्यको किरणमा पूर्णतया अमृत तत्व रहने भएको हुनाले सूर्यको उपासना गर्ने परम्परा छ । साँस्कृतिविद् सत्यमोहन जोशीका अनुसार सूर्यको उपासना नै छठ पर्व हो । सूर्यको प्रकाशबाट भिटामिन डी प्राप्त हुने भएकोले शरीर विज्ञानमा पनि यस ब्रतको उत्तिकै महत्व छ । नारायणस्थान मन्दिरका पूर्व पूजारी उपेन्द्र पोखरेलका अनुसार सूर्यमा पुरुष र प्रकृति दुवै तत्व अन्तर्निहीत रहेकोले सूर्यलाई शक्ति रुप र पुरुष रुप दुवै भावले पूजाअर्चना र उपासना गरिन्छ एवंम् मनोकामना पूर्ण हुने विश्वास गरिन्छ ।
छठ पर्व कात्तिक शुक्ल चौथी तिथिदेखि प्रारम्भ हुन्छ । छठको ब्रत राख्ने श्रद्धालुले चौथीको दिन नुहाईधुवाई गरी चोखो सात्विक खानेकुरा खान्छन, जसलाई नहायखाय भनिन्छ । पञ्चमीको दिन दिनभरि उपवास बसेर साँझ खीर र पुरी पकाई ब्रतालुले त्यही खीर छठ परमेश्वरीलाई चढाएर प्रसादको रुपमा आफूले खाने र अरुलाई पनि बाँड्ने गर्दछन, यसलाई खरना भनिन्छ । षष्ठीको दिन ब्रतालुले बिहानैदेखि पूर्ण रुपमा निराहार उपवास बस्नुपर्दछ । सूर्य भगवानलाई अर्घ दिन पकाइने ठेकुवा (गहुँको पीठोबाट तयार गरिएको एक प्रकारको बिस्कुट), कसार (चामलको पीठोबाट तयार गरिएको एक परिकार), खाजा मिठाई, पुरीजस्ता प्रसाद बनाउन ब्रतालु स्वयं नै लाग्नुपर्ने हुन्छ भने प्रसाद बनाउन सघाउने व्यक्ति पनि शारीरिक रुपमा पवित्र र शुद्ध हुनुपर्दछ । यसैगरी फलफूलमा केरा, नरिवल, उखु, भोगटे, सुन्तला, कागती, ज्यामिर, स्याउ, बोटसहितको अदुवा, बेसार, हलेदो, मुला, बोडीजस्ता फलफूल आवश्यक हुन्छन् । सुठुनीजस्ता कन्दमूल एवंम् भिजाएको केराउ र अलुवा चामल पनि आवश्यक हुन्छ ।

षष्ठीको दिन साँझपख प्रसाद, फलफूल र पूजाका अन्य सबै सामग्रीहरु ढाकीमा राखेर नदी खोला,पोखरी वा पानीको मूल भएको ठाउँमा लगी पूजाको लागि तयार गरिएको स्थानमा राखिन्छ । यसपछि ब्रतालुले पश्चिम दिशामा अस्ताउन लागेको सूर्यतिर फर्केर पूजाका सबै सामंग्रीहरु सुपली (बाँसको एक प्रकारको थाली) मा राखी सुपलीलाई दुवै हातमा लिएर पालैपालो अर्घ दिन्छन् । यसलाई साँझघाट भनिन्छ । भोलिपल्ट सप्तमीको बिहान पनि यसरी नै ब्रतालुले पूर्व दिशामा उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि ब्रत सम्पन्न हुन्छ र सबैले प्रसाद ग्रहण गरेपछि छठ पर्व सम्पन्न हुन्छ, जसलाई पारन भनिन्छ ।

यसरी पञ्चमीको बिहान शुरु भएको छठ ब्रत अन्तर्गत सप्तमीको बिहानसम्ममा ब्रतालुले एकपल्ट मात्र पञ्चमीको दिन साँझ खीर खान्छन र ब्रतको बेला पानीसमेत नखाई निराहार बस्नुपर्ने हुँदा यसलाई कठिन ब्रत पनि भनिएको छ । सूर्य भनेका आदिशक्ति हुन्, सूर्य सर्वशक्तिमान र प्रत्यक्ष छन् । सूर्यविनाको संसार आध्यारो हुन्छ र उज्यालोको सिर्जना सूर्यबाटै हुन्छ । यसै हुनाले छठ पर्व (सूर्यषष्ठी ब्रत) उल्लासमय वातावरणमा धुमधामका साथ मनाई सुखशान्ति, समृद्धि, सुस्वास्थ्य तथा कल्याणको कामना गरिन्छ ।

प्रतिक्रिया

%d bloggers like this: