शनि, असार २७, २०७७
Sat, July 11, 2020

लकडाउनपछि बन्द उसिउलि हिजाेबाट सञ्चालनमा, करिव ५७ करोड व्यवसायिक घाटा

दैनिक ८ सय मेट्रिक टन क्लिंकर उत्पादन क्षमताको उद्योगले सरदर ६ सय मेट्रिक टन उत्पादन गर्दै आएको थियो । त्यस आधारमा ३९ हजार मेट्रिक टन क्लिंकर अर्थात ७ लाख ८० हजार बोरा सिमेन्ट उत्पादन हुन नसक्दा करिव ५७ करोड व्यवसायिक घाटा भएको उद्योगले जनाएको छ ।
……………………………….              ……………………………….

पूर्णपुष्टि, जेठ १७ ।  

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले गरेको लकडाउनसंगै बन्द रहेको उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि), जलजले शुक्रबार (हिजो) देखि सञ्चालनमा आएको छ । पूर्ण सरकारी स्वामित्वको गैंडा छाप सिमेन्ट उत्पादक  सो उद्योग पछिल्लो तीनसातायता उदयपुरमा नयाँ संक्रमित नभेटिएसँगै लकडाउनले अवरुद्ध भएको ६७ औं दिनमा सुचारु गर्न फाईरिङ भएको महाप्रबन्धक (जिएम) नवलकिशोर साहले बताउनुभयो ।

उदयपुरमा कोरोना नियन्त्रणोन्मुख भएको निश्कर्ष निकालिएसँगै उद्योगलाइ सञ्चालनमा ल्याएको महाप्रवन्धक साहले बताउनुभयो ।शुक्रबार उद्योगको सबै मेसिनहरूको पार्टपूर्जाहरूको परिक्षण, आवश्यक मर्मत, सम्हार गरी क्लिंकर मेसिनमा फायर गरी सञ्चालन थालिएको उहाँले बताउनुभयो । लामोसमय वन्द रहेर सुरू गर्न फायर गर्दा १० लाखसम्म खर्च लाग्ने गरेको  छ ।

दुईमहिनाभन्दा लामो लकडाउनले बन्द उद्योग करोडौं व्यवसायिक घाटा बेहोर्नु परेको छ । थप घाटाबाट जोगाउन र सिमेन्ट प्रयोगको ‘पिकसिजन’ मा अभाव टार्न उत्पादन सुचारु गरिएको उहाँले बताउनुभयो ।

दैनिक ८ सय मेट्रिक टन क्लिंकर उत्पादन क्षमताको उद्योगले सरदर ६ सय मेट्रिक टन उत्पादन गर्दै आएको थियो । त्यस आधारमा ३९ हजार मेट्रिक टन क्लिंकर अर्थात ७ लाख ८० हजार बोरा सिमेन्ट उत्पादन हुन नसक्दा करिव ५७ करोड व्यवसायिक घाटा भएको उद्योगले जनाएको छ ।

उद्योगका ३ सय ८० कर्मचारी,मजदुरलाई तलब भत्तावापत मासिक ६२ लाखका दरले हुनआउने १ करोड २५ लाख थप व्ययभार पनि परेको छ ।

यता उद्योग बन्दको अवधिमा विद्युत, कर्मचारी, मजदुरलाई अतिरिक्त समय भत्ता (ओटी), लाईमस्टोन, कोईला र लुब्रिकेन्टजस्ता सामग्री भने बचत भएको छ । ‘फुल फेज’ मा उद्योग चल्दा मासिक अढाईदेखि ३ करोड रुपैंयाम्म विद्युत महसुल उठ्ने गर्छ भने कर्मचारी, मजदुरलाई ओटीवापत मासिक ९० हजारदेखि १ लाख १० हजारसम्म अतिरिक्त भुक्तानी दिनु पर्छ । त्यस्तै लाईमस्टोन दैनिक एकहजार टन, कोईला दिनमा १ सय २५ टन र लुब्रिकेन्ट, डिजलजस्ता इन्धन दैनिक १५ हजारसम्म खर्च हुने गरेको उत्पादन महाशाखा प्रमुख सञ्जयलाल कर्णले बताउनुभयो ।

त्यस आधारमा विद्युत ५ करोड ५० लाख, ओभरटाईम (ओटी) ६५ लाख, लाईमस्टोन ६५ टन, कोईला ८ हजार टन र १० लाख हाराहारीको इन्धन बचतको अनुमान गरिएको छ । यसरी उत्पादन, विद्युत, तलबभत्ता, लाईमस्टोन, कोईला, इन्धन सबै नाफा घाटाको हिसाव गर्दा पनि उद्योगलाई कम्तीमा ५० करोड बढी खुद घाटा हुन पुगेको उद्योगका प्रशासन तथा अर्थ महाशाखा प्रमुखसमेत रहेका नायव महाप्रबन्धक (डिजिएम) ध्रुब देवकोटाले बताउनुभयो ।

उद्योगका प्रवक्ता तथा बिक्री विभाग प्रमुख रामबहादुर जिसीले मौज्दात सिमेन्ट सातादिनदेखि बिक्री सुरु गरिएको बताउनुभयो । डेढलाख बोराजस्तो स्टक रहेको सिमेन्ट बिक्री खुल्ला भएपछि दिन बिराएर बेचिएको र अव सकिन लागेको उहाँले बताउनुभयो ।

तस्विरहरू :

प्रतिक्रिया

%d bloggers like this: