बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

उदयपुर २ मा तीनै स्थानमा बामगठबन्धन, १ (क) मा एमाले, (ख) मा कांग्रेस विजयी, प्रतिनिधिसभा १ को गणना रोचक र चासोपूर्ण

पूर्णपुष्टि/उदयपुर, मंसीर २४ गते ।

उदयपुरमा भईरहेको मतगणनाबाट एक महिलासहित पाँचजना उम्मेदवारले विजय हाँसिल गरेका छन् । जसमा एकप्रतिनिधिसभासहित चारसिट बाम गठबन्धनले जितेको छ भने एकसिट कांग्रेसले जितेको छ । उदयपुर निर्बाचन क्षेत्र २ तर्फ बाम गठबन्धनले एकलौटी जित हात पारेको छ । प्रदेशसभा १ (क) मा एमाले र १ (ख) मा कांग्रेसले जितेको हो । शुक्रबार बेलुकादेखि मतगणना सुरु भई आईतबार राती आठबजेसम्मको परिणामबाट पाँचसिटको अन्तिम मतपरिणाम आएको हो ।

प्रतिनिधिसभा २ बाट बामगठबन्धनतर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रका सुरेशकुमार राई (हिमाल) विजयी हुनु भएको हो भने २ (क) प्रदेशसभामा बामगठबन्धनको समर्थन पाएको स्वतन्त्र उम्मेदवार नारायणब बुर्जा मगर विजयी हुनुभएको छ भने २ (ख) मा एमालेकी कला घले विजयी हुनुभएको छ । त्यस्तै प्रदेशसभा १ (क) मा एमालेका विमल कार्कीले र (ख) मा कांग्रेसका हिमाल कार्कीले विजय हाँसिल गर्नुभएको हो ।

क्षेत्र नं. २ मा बाम गठबन्धनका तीनै उम्मेदवारले भारीमतका साथ विजय हाँसिल गरेका छन् । २२,५५१ मतका साथ राईले प्रतिनिधिसभा सदस्य जितेका हुन् । उनका निकतम् प्रतिद्वन्द्वि नेपाली कांग्रेसका नारायणबहादुर कार्कीले १५, ४५५ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै प्रदेशतर्फ २ (क) ९८७० मतका साथ बुजा बिजयी भयो भने उहाँका निकटत् प्रतिद्वन्द्वि कांग्रेसका भेषबहादुर थापामगरले ५,९३४ मत प्राप्त गर्नुभएको थियो । २ (ख) मा १३, ५६९ मतका साथ घले विजयी हुनुभयो भने निकटतम् प्रतिद्वन्द्वि कांग्रेसकै रामबहादुर खत्रीले ८,९७६ मत प्राप्त गर्नु भएको थियो ।

त्यस्तै प्रदेशसभा १ (क) मा १७,५०१ मतका साथ एमालेका विमल कार्कीले विजय हाँसिल गर्नुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वि कांग्रेसका बिदुरबाबु बस्नेतले १५,८४४ मत प्राप्त गर्नुभयो । १ (ख) मा १६,७९२ मतका साथ कांग्रेसका हिमाल कार्कीले विजय हाँसिल गर्नुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वि माओवादी केन्द्रका रामबहादुर थापामगरले १५,१९४ मत प्राप्त गर्नुभयो ।

विजेता उम्मेदवारहरुले चुनावी मैदानमा गरिएका प्रतिबद्धताहरुलाई पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । देशमा आवश्यक नीति, कानून निर्माणदेखि लिएर विकासका कार्यहरुलाई तिब्रता दिइने प्रतिनिधिसभा २ का विजय उम्मेदवार सुरेशकुमार राई (हिमाल) ले बताउनुभयो ।

खसेको कुलमत ४२,९३० रहेको क्षेत्र नं. २ को प्रतिनिधि र प्रदेशसभातर्फको अन्तिम मतपरिणाम पाउनका लागि एकदिन दुई रात लागेको थियो । खसेको कुलमत ७४,५१० रहेको क्षेत्र नं. १ मा प्रतिनिधिसभाको गणना कार्य जारी छ । यो खबर तयारपार्दासम्मको अवस्थामा १३,३३४ मत गन्न बाँकी देखिएको छ ।

क्षेत्र नं. १ को मतपरिणाम रोचक र चासोपूर्ण

क्षेत्र नं. १ को प्रतिनिधिसभाको गनिदै गईरहेको मतपरिणाम सर्बसाधारणका लागि रोचक र चासोपूर्ण बनेको छ । प्राप्त मत विवरणले कांग्रेस र बाम गठबन्धनतर्फका उम्मेदवारबीच कडा प्रतिष्पर्धा देखाइरेको छ । २० हजारसम्मको गणनामा कांग्रेसका उम्मेदवार डा. नारायण खड्काले अग्रता कायम गरेकोमा त्यसपछिका गणनाहरुमा एमालेकी मञ्जुकुमारी चौधरीसंग पालैपालो जस्तो अग्रताको अवस्था देखिरहेको छ । यो क्रम अहिले ४२ हजार मत गणनाभईसक्दाको अवस्थामा पनि कायम रहेकाले सर्बसाधारणका लानि निकै रोचक र कार्यकर्ताहरुका लागि कस्ले बाजी मार्ने हो भन्ने कुराले बढि चासो बढाइरहेको छ ।

केही बुथबाट भने दुबै उम्मेदवारले बराबरी मत पाएको अवस्थासमेत देखिएको छ । वहाँहरुबीचको अन्तर थोरैमा ४ सम्म र बढिमा ३ सयसम्मको मात्र देखिएको छ । यो समाचार तयार पार्दाको अवस्थामा कांग्रेसका डा. खड्काको २७,०२० रहेकोमा ७३ मतान्तरमा २७,०९३ मतका साथ एमालेकी चौधरी अग्रस्थानमा देखिनुभएको छ ।

प्रत्यक्षतर्फको मतगणना पश्चात सोही कोठाहरु प्रयोग गरेर समानुपातिकतर्फको पनि मत गणना गरिने मुख्य निर्बाचन अधिकृत शर्माले बताउनुभयो । सदरमुकाम गाईघाट स्थित त्रियुगा उच्चमाविको भवनमा मतगणना भईरहेको छ । मतगणना भईरहेको ६ वटै कोठामा सिसि क्यामेरा जडान भएको छ । मतगणनालाई प्रभावकारी र विश्वसनीय बनाउन सिसि क्यामेराको निगरानीको व्यवस्था मिलाईएको पनि शर्माले बताउनुभयो । यसका साथै अन्य तीनओटा कोठामा सिसि क्यामेरा जडानसहित मतपेटीका भण्टारण गरिएको जनाइएको छ ।

प्रतिक्रिया

%d bloggers like this: