शनि, असार २७, २०७७
Sat, July 11, 2020

उदयपुरका दुइ पालिकाले असार १० मा गाउँ/नगरसभा गर्न सकेन, त्रियुगामा १ अरबमाथि बजेट प्रस्तुत

पूर्णपुष्टि, असार १०

आठ वटा पालिका रहेको उदयपुरमा आज असार १० गते सबै पालिकाले गाउँ/नगरसभा आयोजना गर्न सकेन । चार गाउँपालिका र चार नगरपालिका रहेको जिल्लामा एक गाउँपालिका र एक नगरपालिकाले सभा गर्न नसकेको हो ।

नीति कार्यक्रम तथा वजेट घोषणाका लागि हुने गाउँ÷नगरसभा आन्तरिक तयारी नपुगेको भन्दै कटारी नगरपालिका र उदयपुरगढी गाउँपालिकाले आयोजना गर्न नसकेको हो । कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले पालिकाको आन्तरिक तयारी पुरा नभएकाले आज नगरसभा आयोजना नभएको जानकारी दिनुभयो । आगामी १६ गते मिति तय गरिएको उहाँले बताउनुभयो । त्यस्तै उदयपुरगढीको सबै वडासभा भइनसकेकाले गाउँसभा आज हुन नसकेको एक कर्मचारीले जानकारी दिए ।

एकमात्र गाउँपालिका रौतामाई गाउँपालिकाले भने गाउँसभा आजै सम्पन्न गरेको जनाएको छ । पालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काका अनुसार आगामी वर्षका लागि ४७ करोड ४० लाख ६५ हजार अनुमानित बजेट पास गर्दै गाउँसभा सम्पन्न भएको हो । बजेट तथा योजनामा पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ । पूर्वाधार विकासतर्फ ७ करोड ७८ लाख बजेट विनियोजन भएको छ भने दोस्रो प्राथमिकतामा अािर्थक विकासलाई राखिएको छ । विदेशबाट फर्किआएकाहरुका लागि युवा स्वरोजगार, गरिबीका रेखामुनीकाको घरको छानो विस्तार गरी ४ बण्डलको दरले जस्तापाता, विपन्न, दलित, आगोलागी प्रकोपका लाई ४ वण्डलको दरले जस्तापाता वितरण, सुत्केरी महिलालाई गाउँपालिका उपाध्यक्ष कोशेली कार्यक्रम, गाउँपालिका अध्यक्ष विशेष सम्बोधन कार्यक्रम जस्ता लोकप्रीय कार्यक्रम घोषणा भएका छन् । गाउँसभाको पूर्ण तयारीका साथ गाउँसभा गरिएकाले सौहाद्रपूर्ण ढंगले आजै सम्पन्न भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले बताउनुभयो ।

त्रियुगा, बेलका र चौदण्डीगढी नगरपालिकाले नगरसभाको भब्य उद्घाटन गर्दै आगामीवर्षको अनुमानित बजेट सार्बजनिक गरेको छ । त्रियुगाले १ अरब, २ करोड, ७ लाख, ९६ हजार, ६ सय ४९ रुपैया अनुमानित बजेट प्रस्तुत गरेको छ । बेलकाले ७३ करोड, ६० लाख ९७ हजार बजेट प्रस्तुत गरेको छ भने चौदण्डीगढीले ६३ करोड, ५५ लाख बजेट प्रस्तुत गरेको बुझिएको छ । गाउँपालिकातर्फ लिम्चुङबुङले ३५ करोड ५९ लाख ७६ हजार बजेट प्रस्तुत गरेको छ भने ताप्लीले ३५ करोड २५ लाख ३६ हजार बजेट प्रस्तुत गरेको छ । सबैपालिकाले विकास पूर्वाधारलाई प्राथमिकता दिएको बुझिएको छ । साथै कोभिड १९ र विपद्का लागि पनि प्राथमिकताका साथ बजेट विनियोजन भएको बुझिएको छ ।

प्रतिक्रिया

%d bloggers like this: