शनि, जेष्ठ १, २०७८
Sat, May 15, 2021

मृत फेला परेकी बालिका बलात्कारपछि हत्या गरेको पुष्टी

पूर्णपुष्टि/खोटाङ, १४ माघ गते ।

खोलाको बगरमा गाडिएको अवस्थामा शव फेला परेको रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी आठ वर्षीया बालिका लुमणी भनिने ब्रिस्मा राईलाई बलात्कारपछि हत्या गरेको पुष्टी भएको छ । गत माघ १० गते राति स्थानीय चिम्चिमा खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेकी उनलाई सोही स्थानका १६ वर्षीय जीउधन राईले बलात्कारपछि हत्या गरेर ढाकछोप गर्न खोलाको बगरमा गाडेको पुष्टी भएको प्रहरीले जनाएको छ ।

घटना लगत्तै पक्राउ परेका जीउधनले दिएको बयान, घटनाको प्रकृति र शव परीक्षण गर्दा जबरजस्ती करणी गरेको पुष्टी भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो । “प्रहरी नियन्त्रणमा रहेका जीउधनले शुरुमा खेल्नेक्रममा दुर्घटना भएको बताएका थिए ।” उहाँले भन्नुभयो, “घटनाको प्रकृति र शव परीक्षणको प्रतिवेदन आएपछि हिरासतमा राखेर थप अनुसन्धान गर्दा जबरजस्ती बलात्कार गरेर हत्या गरेको स्वीकारेका छन् ।”

सोही दिन माघ १० गते दिउसो करिब १२ बजेबाट हराएकी बालिकाको खोजी गर्ने क्रममा हत्या गरेर घर नजिकैको खोलाको बगरमा गाडिएको अवस्थामा शव फेला पारिएको जनाइएको छ । घटना लगत्तै पक्राउ परेका जीउधन विरुद्ध हाडनाता करणी र कर्तव्य ज्यान सम्बन्धी महल अन्तरगतको मुद्दा दर्ता गरेर कारबाही थालिएको मुद्दा शाखाका प्रहरी नायब निरीक्षक मनोजकुमार यादवले जानकारी दिनुभयो ।

पक्राउ परेका जीउधन र मारिएकी लुमणी नाताले दाजुबहिनी हुन् । बाबुआमा बिहिन जीउधनले यसअघि पनि गाउँमा जाँडरक्सी खाएर अर्काको बिगार गर्दै हिँड्ने गरेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

%d bloggers like this: