आइत, कार्तिक ९, २०७७
Sun, October 25, 2020

गन्तव्य (कविता)

केदार राना, गाइघाट, उदयपुर

भावनाका लहडहरू
महासागरको लहर बनेर
जब आकासको उँचाइ नाप्न थाल्छ
एक जब्बर सपना
उद्वेगहरुसँगै उडान भर्छ
चाहनाको पोको लिएर
हुँइकन्छ मान्छे अनवरत खुट्ट्याउन अगम्य गन्तव्य

मृगतृष्णामा बाँचेकाहरू
जुनेली रातमा गाम-बेँसी छाडदै
झुल्के घाममा पखेरो-खहरे छिचोल्छन्
जिजिविषाको भारी
सपनाको फ्लाइओवरहरुमा गुडाउदै
लिकसँगै उद्देश्य छिचोल्छ
अजङ्गको जीवन यात्रामा
छचल्किन्छ कल्पना जब पानोरामिक दृश्य बनेर
चिहाउँछ मान्छे झ्यालबाट क्षित्तिजमा स्वप्निल गन्तव्य

अजम्मरी यात्राहरु
यामहरु फेरिए जस्तै
चाहेनन्,
चिसो सिरेटोमा लुटपुटिरहन न्यानो उच्छवासभित्र
जेठको हुरहुरे घाममा बसिरहन सिमली छाँयाको परिधिभित्र
अनुरागले उन्मत्त स्खलित हुन कसिएर मायाको बाहुलिभित्र
परम्पराको आडम्बरमा खुम्चिन बाँधिएर अत्याचारको पराकाष्ठाभित्र
अन्तर-कुन्तरमा आशाले हौस्याइरह्यो,
शरदको पतझड बोटमा वसन्तमा पालुवा पलाएकै छ
लिखुरे खोलोको समुद्रि चाहमा चट्टानी पर्वत छेडिएकै छ
टुक्राटाक्री जोडेर विचार मिसाए अमूल्य कोलाज बनेकै छ

तसर्थ, चाहनाको सुनामीले हुत्याइरह्यो,
निर्लज्ज मनहरु जति भयानक दुःस्वप्न भइ आएपनि
हल्लाउन मान्छेका सतिसाल अठोट
-समृध्दिका आधार बनाउने
-दुखहरुमा खुशी फूलिदिने
-आर्तनादमा शितलताले सुमसुम्याउने
यसैले,
भावनाका लहडहरु
चाहनाको सुनामी बनिदिंदा
जन्म र मृत्युबीच गन्तव्य खुट्ट्याएर
बनाउँछ मान्छे अर्को सुरम्य गन्तव्य

 

प्रतिक्रिया