शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

सम्पूर्ण बालबालिकाका प्रिय बालसाहित्य सर्जक ‘यशु श्रेष्ठ’

बसन्ती कुँवर
कक्षा – ९, नेपाल आदर्श मा.वि. गणबहाल, काठमाडौँ (नेपाल)

उहाँले नेपालमै पहिलो पटक शब्दविहीन चित्रकथा ‘छाता’ लेख्नुभयो । मात्राअनुसारको चित्रकथाको परम्परा बसाउनुभयो ।

साहित्यका विभिन्न क्षेत्रहरुमध्ये बालसाहित्य एउटा प्रमुख क्षेत्र हो । यही बालसाहित्यको एक धरोहर हुनुहुन्छ- यशु श्रेष्ठ । बालकथा, बालकविता, चित्रकथा लेखन, कथावाचन, कथालेखन तथा कथावाचनका तालिमहरु, बालबालिकाहरुसँग गरिने व्यवहार, मानसिक कसरत आदिका बारेमा तालिमसमेत दिनुहुने एक बहुप्रतिभाशाली, सफल तथा सुपरिचित बालसाहित्य सर्जक यशु श्रेष्ठ हामी बालबालिकामाझ असाध्यै प्रिय हुनुहुन्छ ।

उहाँको जन्म धादिङ जिल्लाको गजुरीमा भएको हो । प्रारम्भिक अध्ययन गजुरीकै श्री आदर्श मा.वि.मा गर्नुभयो । त्यसपछि उहाँको परिवार बसाइँ सरेर रौतहट जिल्ला पुग्यो । त्यसपछिको अध्ययन तथा साहित्यिक कदम पनि उहाँले यहाँबाट सुरु गर्नुभयो । ममतामयी माता श्री गंगादेवी श्रेष्ठ तथा पिता श्री कैलाश श्रेष्ठका कान्छा सुपुत्र उहाँले स्नातक तथा स्नातकोत्तर शिक्षा भने पाटन संयुक्त क्याम्पस, ललितपुर तथा रत्न राज्य लक्ष्मी क्याम्पस, काठमाडौँबाट पूरा गर्नुभयो ।

लगनशील, इमान्दार र मायालु स्वभावका उहाँ मध्यम वर्गीय परिवारमा हुर्कनु, बढ्नुभयो । उहाँले आफ्नो साहित्यिक यात्रा स्कुले जीवनदेखि नै सुरु गर्नुभए तापनि उहाँको पहिलो रचना भने २०५८ साल फागुण १५ गते भएको थियो । उहाँको पहिलो बालकथा प्रकाशन २०६० सालमा ‘सुनकेस्रा’ मासिकमा भएको थियो । त्यसपछि निरन्तर उहाँ बालसाहित्यमा लागि पर्नुभयो । हालसम्म उहाँका १४० भन्दा बढी बालपुस्तकहरु प्रकाशन भइसकेका छन् । उहाँले नेपालमै पहिलो पटक शब्दविहीन चित्रकथा ‘छाता’ लेख्नुभयो । मात्राअनुसारको चित्रकथाको परम्परा बसाउनुभयो । दृष्टिविहीन बालबालिकाका लागि फरक किसिमका ब्रेल पुस्तकहरुसमेत लेख्नुभएका उहाँ बालबालिकाका उमेर, रुचि र मनोविज्ञानअनुसार नयाँनयाँ खालका प्रयोगहरु गर्न रुचाउनु हुन्छ । नयाँनयाँ प्रयोग गरेर बालबालिकाका लागि उपयोगी हुने धेरै बालपुस्तकहरु लेखिसक्नुभएको छ । उहाँको कलम अझ तिखारिँदै अगाडि बढिरहेको हामी पाउन सक्छौँ ।

उहाँको २०६२ सालमा ‘देशको माया’ पहिलो बालकथा सङ्ग्रह प्रकाशित भएको थियो । त्यसपछि उहाँ यसरी बालसाहित्यमा लाग्नुभयो कि नेपाली समाज नै चकित परिरहेको छ । यति सानो उमेर र समयमा यसरी उचाइमा पुग्नु चानचुने कुरा हुँदै होइन । उहाँ नै सायद नेपालमै सबैभन्दा धेरै पुस्तक लेख्ने र प्रकाशन गर्ने सर्जक हुनुहुन्छ । उहाँ लेख्ने र प्रकाशन गर्ने मात्र गर्नुहुन्न, उहाँ त कस्तो किताब बालबालिकालाई मनपर्छ, कस्तो लेख्ने गर्नुपर्छ भनेर परीक्षण पनि गर्नुहुन्छ । बालबालिकामाझ पुग्नु हुन्छ । कथावाचन गर्नुहुन्छ । यशु सरले जस्तो राम्रो कथावाचन अरुले गरेको मैले आजसम्म देखेको छुइनँ । उहाँ नेपाल बालसाहित्य समाज, कथावाचन समाज जस्ता विभिन्न संस्थाहरुमा रही कामहरु गरिरहनुभएको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुसँग पनि कामहरु गरिरहनुभएको छ । अत्यन्तै मिहिनेती, मिजासिलो यशु सर हामी प्रत्येक बालबालिकामाझ असाध्यै प्रिय हुनुहुन्छ ।

उहाँ हाम्रो स्कुल नेपाल आदर्श मा.वि.मा पनि कहिलेकाहीँ आउनुहुन्छ । कथावाचन, लेखनका कुराहरु गर्नुहुन्छ । मानसिक र शारारिक स्वास्थ्यका लागि कसरत पनि गराउनुहुन्छ । उहाँको मायालु व्यवहारले हामी प्रत्येक बालबालिका स्कुलपछि पनि उहाँलाई भेट्न आउँछौँ । उहाँसँग बोल्न आउँछौँ । उहाँसँग खेल्न आउँछौँ ।

हाम्रो स्कुलमा कति साथीहरु अरुको घरमा काम गरेर पढ्ने पनि छन् । उनीहरुलाई यशु सरसँग खेल्ने, बोल्ने मन हुन्छ तर फुर्सद पाउँदैनन । यशु सर आउने दिन कहिलेकाहीँ उनीहरु ढिला आइपुग्छन् तर यशु सरले सबैलाई स्वागत नै गर्नुहुन्छ । यशु सर कहिले पनि बालबालिकासँग रिसाएको मैले देखेको छुइनँ । समयलाई व्यवस्थापन गरेर अघि बढ्नु है भन्नुहुन्छ । नयाँनयाँ कुराहरु गर्नुहुन्छ । जीवन कसरी बुझ्ने हो भनेर भन्नुहुन्छ । हाम्रो बसाइ, परिवार, पढाइ आदिका पनि कुरा गर्नुहुन्छ । हामीलाई हौसला दिनुहुन्छ । हामीलाई भित्तेपत्रिका कसरी बनाउने भनेर पनि तालिम दिने र कुराकानी गर्ने गर्नुहुन्छ । उहाँको निर्देशअनुसार काम गर्न पाउँदा धेरै मजा लाग्छ ।

उहाँ सबै बालबालिकामाझ प्रिय हुनुहुन्छ । हामी यशु सरलाई फेसबुक र युट्युवमा पनि पछ्याइरहेका हुन्छौँ । कोरोनाको महामारीमा पनि उहाँ बालबालिकालाई हौसला दिन, बालबालिकाका लागि काम गर्न छाड्नु भएको छैन । फोन, इमेलबाट भए पनि हौसला दिइरहनुहुन्छ । कथावाचन गर्ने, अध्ययन, पठन सिप, पठन संस्कृति बारेमा छलफल गर्ने गरिरहनु हुन्छ । बालबालिकाहरुले लेखेका रचनाहरुलाई पढ्ने र सुझाव दिने गर्नुहुन्छ । उहाँका बारेमा लेखेका लेख, अन्तर्वार्ताहरु पढ्दा, देशभरि पुगेर बालबालिका, अभिभावक, शिक्षकज्यूहरुसँग काम गरेको देख्दा यशु सरप्रति साह्रै सम्मान उम्लेर आउँछ ।

यति धेरै चर्चित, यति धेरै पुस्तक लेखिसक्नुभएका, प्रकाशन गरिसक्नुभएका यशु सर बालबालिकामाझ आउँदा बालबालिका नै भएर रमाउने, खेल्ने, जिस्कने, कुराकानी गर्ने गरेर हौसाएको देख्दा उहाँ कुन बालबालिकाको मनमा हुनुहुन्न र ? कुन बालबालिकाको प्रिय हुनुहुन्न र जस्तो लाग्छ । उहाँले हाम्रा लागि यति धेरै राम्रा कार्यहरु गर्नुभएको छ । यति धेरै हौसला दिनुभएको छ । त्यसैले उहाँको सम्मानमा हामीले केही लेख्नैपर्छ, बोल्नैपर्छ भन्ने मैले ठानेँ र यी केही शब्दहरु उहाँका सम्मानका लागि मैले अर्पण गरेँ । सबै बालबालिकाका अतिप्रिय यशु सरका लागि समर्पित गरेँ ।

 

प्रतिक्रिया