शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

तस्करले गैँडा मार्न थालेपछि नयाँ रणनीति अपनाउँदै निकुञ्ज

पूर्णपुष्टि, कात्तिक २५ 

चितवन राष्ट्रिय निकुञ्जमा चार वर्षपछि तस्करले गैँडा मार्न थालेपछि निकुञ्जले नयाँ रणनीति अपनाउदै संरक्षणमा जुटेको छ ।
गत साउनयता चोरी सिकारीबाट चार वटा गैँडा मारिएका छन् भने यहि अवधिमा प्राकृतिक कारण १० वटा गैँडा मरेका छन् । तस्करले गैँडा मार्न थालेपछि नयाँ रणनीति अपनाउन थालिएको निकुञ्जले जनाएको छ ।

निकुञ्जले चोरी शिकार नियन्त्रणका लागि तिहारअघि नै तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर निकुञ्ज विभाग हुँदै वन तथा वातावरण मन्त्रालयमा पठाउँदै छ । वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीको निर्देशनमा तत्काल योजना निर्माण गर्न लागिएको हो ।
हामी योजना बनाएर संरक्षणमा जुटेको जनाईएको छ । बीचको समयमा चोरी शिकार बन्द भएसँगै कतिपय संरचना भत्किएकाले पुनः पूर्ववत् अवस्थामा फर्काएर चोरी शिकार नियन्त्रणमा निकुञ्ज जुटेको छ ।

निकुञ्जभित्र कडाइसाथ गस्ती, बाहिर सुराक सञ्जालको व्यापक प्रयोग र नेपाल प्रहरीको अपराध अनुसन्धान ब्यूरोसँग सहकार्य गरेर प्रविधिको प्रयोग गरी चोरी सिकारी नियन्त्रण अभियान गरिन लागेको जनाएको छ ।
निकुञ्जका संवेदनशील क्षेत्रमा स्विप अप्रेसन सुरु गरिएको छ भने पुरै निकुञ्जलाई आफ्नो नियन्त्रणमा रहने गरी गस्ती गरिएको छ । पैदल, डुङ्गा, साइकल, मोटरसाइकल, गाडी, हात्तीबाट निगरानी गरिँदै आइएको छ । अहिले निकुञ्जमा ४६ वटा पोष्ट रहेका छन् ।

सङ्कटकालको समयमा तस्करी बढेका बेला पोष्टको सङ्ख्या ५२ पुर्याइएको थियो । निकुञ्जले पोष्ट थप गर्ने योजना बनाएको छ । मध्यवर्तीका बासिन्दाहरुसँग सहकार्य गरी सुराक सञ्जाललाई चुस्त बनाउन लागिएको जनाईएको छ ।
विसं २०७३ को चैतमा कसरा नजिकै सामुदायिक वनमा तस्करले गैँडा मारेयता प्राकृतिक कारणले मात्र मरेका थिए । गत वर्ष प्राकृतिक कारणबाट २६ गैँडा मरेको थियो । यस वर्ष तस्करका कारण मरेका चार गैँडा फेला परेसँगै मन्त्रालयको समेत ध्यानाकर्षण भएको हो ।

सन् २०१५ को गणना अनुसार नेपालमा ६ सय ४५ गैँडा रहेका छन् । यसमध्ये गैँडाको मुख्य वासस्थान चितवनमा मात्रै ६ सय ५ गैँडा भेटिएको थियो । निकुञ्जमा सबैभन्दा बढी गैँडा आर्थिक वर्ष २०५८/०५९ मा मरेका हुन् । यो वर्ष मरेका  ४८ गैँडामध्ये ३७ वटा चोरी सिकारीले मारेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । यस आर्थिक वर्षमा निकुञ्जमा गैँडा गणना गरिँदै छ ।
गत वर्ष गणना गर्ने अन्तिम तयारीमा कोरोना सङ्क्रमण बढेपछि रोकिएको थियो ।

प्रतिक्रिया

%d bloggers like this: