बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

उदयपुरको १ अगुवा कृषक पुरस्कृत

पूर्णपुष्टि, कात्तिक २८

सरकारी जागिरपछि तरकारी खेतीमा लागेका उदयपुरको एक अगुवा कृषक मुख्यमन्त्रि उत्कृष्ट कृषक पुरस्कारले सम्मानित भएको छ । त्रियुगा नगरपालिका–४ का अगुवा कृषक शिवजी निरौला (किसान)लाई कृषि ज्ञान केन्द्र उदयपुरले कृषि क्षेत्रमा योगदान पुर्याए वापत जिल्ला स्तरीय मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारले सम्मान गरेको हो ।
कृषि क्षेत्रमा प्रोत्साहन गर्न कार्यालयले स्वीकृत गरेको बार्षिक कार्यक्रम अनुसार आर्थिक बर्ष २०७६/०७७ बाट निरौलालाई नगद बीस हजारले सम्मान गरिएको कार्यालय प्रमुख प्रकाश विश्वकर्माले बताए । उनले अघिल्लो आर्थिक बर्षमा नै सम्मान गर्ने कार्यक्रम भएपनि कोभिड–१९ का कारण जमघट गर्न सक्ने अवश्था नरहेकाले ढिला गरी सम्मान गरिएको बताए ।

उनले आगामी दिनमा पनि कृषकहरुलाई प्रोत्साहन, क्षमता अभिबृद्धी, कृषिमा आधुनिकिकरण जस्ता कार्यक्रम ल्याईने बताए । नेपाल प्रहरीको सिपाही पदमा नियुक्ती भएर २०६० सालमा १८ बर्ष पुरा गरी असईबाट सेवानिवृत भएका शिवजी २०६३ सालदेखि व्यवसायिक कृषि पेसामा छन् ।

एक विघा क्षेत्रफलमा उनले व्यवसायिकरुपमा तरकारी खेती लगाएकाछन् । उनी नगरक्षेत्रकै उत्कृष्ट किसानकोरुपमा चिनिन्छन् । उनको तरकारी खेतीमा विषाधी मुक्त छ । आर्गेनिक तरकारी खेती उत्पादनमा जोड दिएका शिवजी भन्छन्, ‘कृषि पेसा गर्न ढिलो गरेछु ।
‘अहिले म सिजन अनुसारका तरकारी वेचेरै मासिक ८० हजारदेखि एक लाख रुपैँयासम्म कमाई रहेको छ ।, उनले भने, ‘असईको जागिरबाट त्यति कमाउन ३, ४ महिना लाग्छ । ‘राष्ट्रसेवकको सम्मान गर्छु तर, जति मेहनत गर्छौ त्यति पैसा छैन, उनले भने, ‘त्यतिको खटने हो भने सजिलै महिनाको एक लाख कमाइन्छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले सम्मान र खेतीको ग्यारेण्टीको अभावमा कृषकहरु यो क्षेत्रबाट नै विस्थापित हुँदै गएकाले यस्ता कार्यक्रमले उनीहरुको रुचीमा बृद्धी हुने बताए ।

‘किसानलाई हिलो र धुलाम्मे देख्दा गिज्याउने र सबैभन्दा तल्लो वर्गकोरुपमा हेर्ने चलन छ, प्रमुख परियारले भने, ‘जवसम्म कृषकलाई समान दृष्टिकोण र उनीहरुको योगदानको प्रंशसा गर्न सकिन्न तवसम्म उनीहरु अपहेलित जीवन जीउन बाध्य छन् ।

उनीहरुले गरेको दुःखकै कारण आफुहरुको पेट भरिएको छ भन्ने सोचाइ नहुँदा कृषि पेसा पेसा ओझेलमा परेको बताए । कार्यक्रममा सहभागिहरुले युवा रोजगारको मुख्य आधार नै कृषि पेसा भएको बताए ।

प्रतिक्रिया

%d bloggers like this: