आइत, जेष्ठ २, २०७८
Sun, May 16, 2021

गस्तीमा फेला परेको भरुवा बन्दुक पड्किएर वन रक्षकको मृत्यु

उदयपुर, मंसिर १८। भरुवा बन्दुक पड्किएर बुधबार राति उदयपुरमा एक वन रक्षकको मृत्यु भएको छ । सव डिभिजन वन कार्यालय तपेश्वरीमा कार्यरत वन रक्षक सुनसरी दुहवी घर भएका ४० वार्षीय लेखनाथ वास्तोलको मृत्यु भएको हो ।  जंगल गस्तीमा फेला परेको भरुवा बन्दुक कार्यालय ल्याउने क्रममा पड्किएर वन रक्षक वास्तोलाको मृत्यु भएको वन डिभिजन कार्यालय गाईघाटका प्रमुख अम्बिका प्रसाद पौडेलले जानकारी दिनुभयो ।  प्रमुख पौडेलका अनुसार गस्तीटोलीलाई देखेर सिकारीले छाडेको बन्दुक बारुद भरिएको अवस्थामा थियो । वनकै गाडीमा राखेर ल्याइएको बन्दुक राति पाउने १० ः ०० बजे कार्यालयभित्र लैजान गेट खोल्ने क्रममा पड्किएको र छर्राले लागेर बास्तोलाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उहाँले बताउनुभयो ।  बन्दुक कस्तो अवस्थामा फेला परेको भन्ने बारेमा विस्तृतमा अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताउनुभयो । घटनाको खबर लगत्तै प्रहरीको अनुसन्धानटोली खटिएको उहाँले बताउनुभयो । बन्दुक कसले छाडेको हो भन्ने बारेमा एकिन हुन बाँकी रहेको प्रहरीको भनाई छ । वन्यजन्तुको चोरी सिकारी गर्ने समूह जंगल पसेको र वन रक्षक गस्तीमा आएको चाल पाएर बन्दुक त्यहीँ फालेर भागेको हुनसक्ने एसपी दाहालले बताउनुभयो ।

प्रतिक्रिया

%d bloggers like this: