बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

दुई गाउँघर क्लिनिक भवन हस्तान्तरण

पूर्णपुष्टि/उदयपुर, चैत १५ गते

वल्र्डभिजन इन्टरनेश्नलको सहयोग, हुरेण्डेक उदयपुरको साझेदारी र जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा छुट्टाछुट्टै दुई ठाउँमा निर्मित गाउँघर क्लिनिक भवन समुदायलाई हस्तान्तरण भएको छ ।

११ लाख ४४ हजार ९ सयको लागतमा रौतामाई गाउँपालिका वडा नं. ४ नचनेमा निर्मित भवन र त्यतिकै लगानीमा त्रियुगा नगरपालिका १५ छामलिङमा निर्मित भवन समुदायलाई हस्तान्तरण भएको हो ।

नचनेको भवन मंगलबार र छामलिङको भवन सोमबार उद्घाटनसंगै समुदायलाई हस्तान्तरण भएको आयोजक हुरेण्डेक उदयपुरले जनाएको छ । नचनेको भवनको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियार र रौतामाई गाउँपालिकाकी कार्यवाहक अध्यक्ष कुमारी राना ज्यू ठकुरीले संयुुक्तरुपमा गर्नुभयो । साथै उहाँहरुले वडाध्यक्ष र क्लिनिक व्यवस्थापन समिति अध्यक्षलाई हस्तान्तरण प्रमाणपत्र प्रदान गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिसस प्रमुख परियारले स्वस्थ्य सेवा जनताको मौलिक हक भएकाले भवन निर्माणबाट जनतालाई व्यवस्थितरुपमा सेवा उपलब्ध गराउन सहज भएको बताउनुभयो । विशेष अतिथि ठकुरीले गाउँघर क्लिनिकबाट जनतालाई गाउँमै स्वास्थ्य सेवा मिल्ने बताउनुभयो । विशेषगरी वालवालिका, महिला, बृद्धबृद्धालाई स्वास्थ्य सेवाको पहुँच बृद्धि हुने उहाँले बताउनुभयो । युवा नेता केशव राईले गाउँका जनतालाई स्वास्थ्य सेवा सहज बनाउने उद्देश्यले भवन निर्माण गरिदिने निकायलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

छामलिङको भवन पनि एक समारोहकाबीच उद्घाटन गर्दै जिसस प्रमुख परियारले समुदायलाई हस्तान्तरण गर्नुभयो ।
गतसालको चैतदेखि सुरु भई सात महिनाको हाराहारीमा निर्माण सम्पन्न दुबै भवन ट्रस, जस्ता, गाह्रोको पक्की बनेका छन् । भवनमा दुईकोठासंगै चर्पी र बाथरुम छन् ।

६५ घरधुरीले सेवा पाउने नचनेको क्लिनिक र १२० घरधुरीले सेवा पाउने छामलिङको क्लिनिकलाई स्थानीय स्वास्थ्य चौकीले सञ्चालन गर्नेछ ।

प्रतिक्रिया

%d bloggers like this: