मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

गाँजालाई औषधीजन्य बनस्पतिको रुपमा स्वीकार गरिने प्रस्ताव पारित

पूर्णपुष्टि, मंसिर २०

अब गाँजालाई औषधीजन्य वनस्पतिको रुपमा प्रयोग गरिने भएको छ । हाल गाँजालाई खतरनाक लागुऔषधको रुपमा हेरिएको थियो । गाँजालाई औषधीको रुपमा सदुपयोगका साथ प्रयोग गर्ने हो भने राम्रो र भरपर्दा औषधी बनाउन सकिने डाक्टरहरु बताउँछन् । तर यसलाई दुरुपयोग गरी सेवनमा लापर्वाही गर्न भने नमिल्ने बताउँछन् ।

गराष्ट्रसंघीय नियोगले गाँजालाई खतरनाक लागुपदार्थको सूचीबाट हटाउने प्रस्ताव पारित गरिसकेको छ । लागुऔषधसम्बन्धी राष्ट्रसंघीय नियोगले बुधबार बहुमतका आधारमा प्रस्ताव पारित गरेको अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले गाँजालाई खतरनाक लागुऔषधको सूचीबाट हटाउन सिफारिस गरेको थियो । भियनामा सम्पन्न नियोगको वार्षिक सम्मेलनमा गाँजाजन्य वस्तुलाई खतरनाक लागुपदार्थको सूचीबाट हटाउने प्रस्तावमा २७ देशले समर्थन जनाएका थिए भने २५ देशको विपक्षमा मत परेको थियो ।

राष्ट्रसंघको ’सिंगल कन्भेन्सन अन नार्कोटिक ड्रग्स १९६१’ अनुसार गाँजालाई खतरनाक लागुपदार्थको सूचीमा राखिएको थियो । पछिल्लो निर्णयअनुसार अब यसलाई औषधिजन्य गुण भएको र कम खतरनाक लागुपदार्थको सूचीमा वर्गीकरण गरिएको छ ।

गाँजालाई मान्छेको दैनिक व्यवहारमा पनि उपयोगी मानिएको छ । नेपालको मध्यपश्चिम पहाडमा यसले दाउरा आपूर्ति गर्छ। यसको चोपबाट चरेस उत्पादन हुन्छ, जुन महँगो हुनाले ‘ब्ल्याक गोल्ड’ भनिन्छ। गाँजाको रेसाबाट कपडा र पातबाट उच्च कोटीको प्रांगारिक मल बनाइन्छ ।

नेपालमा गाँजा खुलाउनुपर्ने विषयले पहिलोपटक संसदमा २०७५ फागुनमा प्रवेश पाएको थियो । प्रतिनिधिसभा बैठकमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद विरोध खतिवडाले यसबारे कुरा उठाएका थिए ।

गाँजाको महत्व हामीकहाँ परम्परागत रूपले नै स्वीकारिएको छ । उति बेला बूढापाकाले अनिद्रा र शारीरिक पीडा हटाउन तथा एक्ला, अशक्त र पट्यारलाग्दा दिन बिताउन गाँजा सेवन गर्ने चलन थियो। भजनकिर्तनको आनन्द लिन, चाडपर्व मनाउन, घरपालुवा जनावर उपचार गर्न र साधुहरूलाई दान दिन पनि गाँजा प्रयोग हुन्थ्यो ।

पछिल्लो समय भएका विभिन्न वैज्ञानिक अनुसन्धानले गाँजा औषधिका रूपमा प्रयोग गर्न सकिन्छ भन्ने पुष्टि गरेको छ। यही अनुसन्धानका आधारमा गाँजा सेवनलाई कानुनी मान्यता दिने पहिलो देश उरुग्वे हो।

नेपालमा हिन्दु धर्मको प्रभावले गाँजा चलनमा आएको पाइएको छ । नेपाल र भारतमा फागु पर्व बेला गाँजाको फूल (भाङ) खाने चलन छ । भगवान शिवले समुद्र मन्थन बेला अमृत शुद्धीकरण निम्ति शरीरबाट गाँजा उत्पादन गरेको भनाइ छ । अर्को व्याख्याअनुसार त्यही अमृतको थोपा जमिनमा परेपछि गाँजाको बिरूवा उम्रेको हो ।

 

प्रतिक्रिया

%d bloggers like this: