सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

संगितकर्मी संघ काभ्रेमा पुनः चन्द

पूर्णपुष्टि,मंसिर २३

बनेपामा सम्पन्न राष्ट्रिय संगितकर्मी संघ काभ्रेको चौथो जिल्ला अधिवेशनले अमरकृष्ण चन्दलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । धुलिखेल नगरपालिकाका मेयर अशोक व्यान्जुको प्रमुख आतिथ्यतामा सम्पन्न कलाकारहरुको छाता संगठन राष्ट्रिय संगितकर्मी संघ काभ्रेको चौथो जिल्ला अधिवेशनले पुनः कलाकार निर्देशक अमरकृष्ण चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि व्याञ्जुले कला साहित्यले समाज परिवर्तनमा उल्लेख्य योगदान पु¥याएको बताउँदै स्थानी तह, प्रदेश र संघ तिनैवाटा सरकारले कलाक्षेत्रको विकासको लागि निति नै बनाएर सहयोग गर्नुपर्ने धारणा राखे ।

आफू पनि कलाकारिता अनि साहित्यमा निकै समय सक्रिय रहेको स्मरण गराउँदै कोभिडको महामारीको समयभित्र बाह्रवटा कथा लेखेको बताए । उनले आफू र धुलिखेल नगरपालिकाबाट कलाकारलाई सम्मान गर्दै आएको र निरन्तर गरिरहने बताए । मेयर व्याञ्जुले कलाकारहरु कै लागि चाँडै नै धुलिखेलमा एकेडेमी बनाउन लागेको बताए ।

कार्यक्रममा विशेष अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले काभ्रे जिल्लामा चलचित्र छायाँकनको मुख्य हब बनाउने योजना रहेको बताए । दाहालले काभ्रे जिल्लाभित्र चलचित्रका लागि स्टुडियो बनाउने समेत बताए । उनले चाँडै नै चलचित्र क्षेत्रको विकासका लागि काभ्रेका पालिकाहरुलाई समट्दै वृहत कार्यशाला गर्न लागेको जानकारी दिए ।

कार्यक्रममा संस्थाका पूर्व केन्द्रिय अध्यक्ष रेशम थापाले कलाकारहरु एक भई हक अधिकारका लागि लागिपर्नुपर्ने अवस्था आएको बताए । यस्तै वरिष्ठ लोकगायक मच्छेश्वर सापकोटाले गीत संगीतमा उत्ताउलो छाडा प्रवृतिको न्युनिकरण गर्दै चेतनामुलक, समाजलाई सन्देश दिने गीत संगीत सिर्जना गर्नुपर्ने धारणा राखे । केन्द्रिय वरिष्ठ उपाध्यक्ष नमराज ढुंगानाले संगीत बिकास बोर्डको आवश्यकता औंल्याए ।

संघको अधिवेशनले चन्दको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । जिल्ला तथा राजधानीमा रहेर कलाकारितामा सक्रिय कलाकारहरु आवद्ध राष्ट्रिय संगितकर्मी संघको चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । चन्दको अध्यक्षतामा नवनिर्वाचित समितिमा वरिष्ठ उपाध्यक्षमा सविता ढुंगाना, उपाध्यक्ष शर्मिला लामा थिङ, सचिव मधु लामा, सह सचिव अनिशा तामाङ, कोषाध्यक्ष केदार न्यौपाने, सह कोषाध्यक्ष विनिता सिंजाली मगर रहेका छन् । यस्तै सदस्यहरुमा अशोक दाहाल, भगवान खत्री, सन्तोष तामाङ, शुभद्रा ढंगाना, पुजन धिताल, सुन्दरी तामाङ निर्वाचित भएका छन् ।

प्रतिक्रिया