शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

महासचिव मोहन वैद्यले उदयपुरबाट गरे सरकारको लामो आलोचना

पूर्णपुष्टि, मंसिर २४ ।

नेपाल कम्यूनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य (किरण) ले उदयपुरको गाईघाटमा आज भएको पत्रकार सम्मेलन सरकारको कडा आलोचना गर्नुभयो । क्रान्तिकारी पत्रकार महासंघ, १ नं. प्रदेशद्वारा आयोजित पत्रकार सम्मेलनमा सरकार असक्षम भएको बताउदै उहाँले दुईतिहाई वहुमतको सरकारले जनजीविका, रोजगार र राष्ट्रिय स्वधिनताको सन्दर्भमा काम गर्न नसकेको बताउनुभयो । नाममात्रको कम्युनिष्ट सरकारको संज्ञा दिदै उहाँले  सिमा सुरक्षा र एमसिसिको सन्दर्भमा वर्तमान सरकारले ठोस कदम चाल्न नसकेको बताउनुभयो । एमसिसिको नाममा अमेरिकाले नेपाललाई रणभूमि बनाउन लागेको र भारतले छिमेकीको नाममा सिमा थिचोमिचो गर्दा पनि सरकारले चुप बसेको आरोप लगाउनुभयो । कोरोना महामारीमा जनताप्रति सरकार उत्तरदायी बन्न नसकेको बताउनुभयो । सरकार भाषणमा मात्र सिमित रहेको उहाँले बताउनुभयो ।

संघीय जनगणतन्त्रका लागि आफुहरु लडिरहेको बताउदै उहाँले संसदीय चक्र जति घुमे पनि अवस्था जस्ताको तस्तै रहने, देश परिवर्तन र विकास नहुने धारणा उहाँको थियो । संघीयताको विरुद्धमा विभिन्न षड्यन्त्र भईरहेको पनि उहाँले बताउनुभयो ।

सत्ताको विकल्पमा संयुक्त मोर्चा निर्माणमा पनि लागेको उहाँले बताउनुभयो । नेकपाका दुई अध्यक्षको जुंगाको लडाइले सरकार कमजोर बनेको र त्यसको विकल्पमा संयुक्त मोर्चाको आवश्यकता रहेको बताउनुभयो । देशको समस्या समाधानका लागि जनता मैदानमा उत्रनु पर्ने अवस्था रहेको बताउनुभयो ।

कोरोनाप्रति सतर्कता हुनुपर्ने तर सरकार र साम्राज्यबादी देशले आवश्यकभन्दा बढि डर पैदा गरेको बताउनुभयो । यो महामारी रोग भएकाले सतर्कता अपनाउदा हुने बढि त्रसित हुन नहुने बताउनुभयो ।

४० साल पछिको सरकारमा नाम मात्र फेरिएर प्रविति र ब्यक्ति भने उही आएकाले जनगणतन्त्र जरुरी रहेको बताउनुभयो । जनगणतन्त्रमा जनतालाई दमन गर्ने नेताहरु बाहिर फालेर जनताले नै नेतृत्व हुने बताउनुभयो ।

माओवादीको नेतृत्वको गरेका प्रचण्डले अव कम्युनिष्ट बाटो छाडेको, विचलित भएको र त्यसरी विचलित भएकाको हिसाव किताव नहुने बताउनुभयो । डा. बाबुराम भट्टराईले त आफैले म कम्यूनिष्ट हैन भनेकाले उनको झनै हिसाव किताव नहुने बताउनुभयो । कम्यूनिष्टबाट  भागेका र विचलित भएकाहरुसंग एकता नहुने उहाँले बताउनुभयो ।

विप्लब (माओवादी) को अहिलेको शैलीले कार्यरत एकता हुन नसक्ने उहाँले बताउनुभयो । सच्चा कम्यूनिष्टहरुसंग एकताको पक्षमा सधै रहेको र आव्हान गरिरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

%d bloggers like this: