शनि, जेष्ठ १, २०७८
Sat, May 15, 2021

उदयपुरमा सोमबार देखि स्वास्थ्य बिमा सुभारम्भ

पूर्णपुष्टि, मंसिर २४

सोमवार देखि उदयपुरमा स्वास्थ्य विमा सुरु भएको छ । नेपाल सरकारले देशभरी ६१ जिल्लामा लागु गरेको स्वास्थ्य विमा उदयपुरमा पनि सुरु गरिएको हो । उदयपुरको ८ ओटै पालिकाहरुमा स्वास्थय विमा सुरु गरिएको छ ।

सामान्य परिवारका बिरामीलाईसमेत उपचारमा पहुँच पुर्याउने उदेश्यले नेपाल सरकारले राष्ट्रिय बीमा बोर्ड टेकुमार्फत कार्यक्रम अघि सारेको थियो । वीमा वोर्डले सोमबार सदरमुकाम गाईघाटमा औपचारिक कार्यक्रमको आयोजना गरी वीमा कार्यक्रम लागु भएको जानकारी दिएकोछ ।

कार्यक्रममा प्रदेश सांसद अम्बिका थापाले उदयपुरका जेष्ठ नागरिक भुवानसिंह श्रेष्ठलाई वीमा परिचयपत्र हस्तान्तरण गरी उद्घाटन गर्नुभयो । लगत्तै सांसद थापालाई वीमा वोर्डका कार्यकारी निर्देशक दामोदर निरौलाले वीमा कार्यक्रममा आवद्द भएको परिचयपत्र दिनुभयो ।

उद्घाटन कार्यक्रममा त्रियुगा नगरपालिकाका वडाध्यक्ष भिमबहादुर पुलामी मगर, धनमाया मगर र कुलप्रसाद भण्डारीलाई बेलका नगर प्रमुख दुर्गाकुमार थापा, चौदण्डिगढी नपा प्रमुख खगेन्द्र राई र त्रियुगा नपा उपप्रमुख देविकुमारी चौधरीले वीमा परिचय पत्र हस्तान्तरण गर्नुभयो । 

कार्यक्रममा बोल्दै सांसद थापाले संबिधानले नै स्वास्थ्य अधिकार सुरक्षित राखेकाले वीमामा जनताको थोरै सहभागितामा धेरै प्रतिफल लिन सकिने बताउनुभयो ।

उहाँले अतिबिपन्न परिवारलाई लक्षित गरी सरकारले कार्यक्रम अघि सारेकाले वीमामा आवद्ध भएका कोही पनि नागरिक अव स्वास्थ्य उपचार नपाएर बस्नु पर्ने अवश्था नआउने बताउनुभयो ।

यसका अलावा थप सदस्य भए प्रति व्यक्ति सात सय रुपैँया दस्तुर लाग्नेछ । उपचार सेवा लिने ब्यक्तिले परिचय पत्रका आधारमा तोकिएको अस्पताल वा स्वास्थ्य केन्द्रबाट एक वर्षसम्म एकलाख रुपैयाँ सम्मको उपचार खर्च छुट पाउने छन् ।

स्वास्थ्य बीमामा आबद्ध व्यक्तिले उपचारका लागि वोर्डले स्वीकृती दिएका अस्पताम मात्र उपचार गराउनु पर्ने छ । स्वास्थ्य वीमा कार्यक्रम पूर्ण रुपका अपाङ्ग, एचआइभी संक्रमित, कुष्ठरोग भएका ब्यक्ति र ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकले भने बीमा बापत लाग्ने कुनै पनि शुल्क तिर्नु नपर्ने वोर्डका सदस्य चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

वोर्डका निर्देशक टिका चापागाईका अनुसार स्वास्थ्य बीमा गरेमा सरकारले निःशुल्क प्रदान गर्ने सेवासँगै बहिरङ्ग, अन्तरङ्ग र आकस्मिक कक्षबाट प्रदान गरिनेछ । साथै बीमा कार्यक्रमले तोकेका र परीक्षण सेवा पनि पाउने भएका छन् ।

कार्यक्रममा बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले आफ्नो नगरपालिकाका ७५ प्रतिशत जनतालाई पहिलोचरणमा वीमामा आवद्धता गराउने उद्घोष गर्नुभयो । ‘नगरभरका सबै व्यक्तिको स्वास्थ्य बीमा गर्ने लक्ष्य राखिएको छ, ।

चौदण्डिगढी नगरपालिकाका प्रमुख खगेन्द्र राईले स्वास्थ्य वीमा लागु हुनु पुर्व गम्भिर प्रकृतिका रोग लागेका विरामीलाई उपचार गराउनका लागि नगरपालिकाले छुट्टै कोषको स्थापना गरेको र आगामी दिनमा यो कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो । राईले जनताका सामान्य स्वास्थ्यलाईसमेत वीमाले छोएकाले कार्यक्रम प्रभावकारीताका लागि सक्दो सहयोग गर्ने बताउनुभयो ।

 

प्रतिक्रिया