शुक्र, माघ २, २०७७
Fri, January 15, 2021

उदयपुरको कोभिड अस्पतालमा कोरोना संक्रमितको संख्या शुन्य

पूर्णपुष्टि,मंसिर २८

उदयपुरको कोभिड अस्पतालमा बेल्टारका सबै विरामी निको भएर घर फर्किए संगै अस्पतालमा कोेरोना संक्रमितको संख्या  शुन्य भएकोे छ । संक्रमित ३ महिला र ७ पुरुषको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार उनीहरु सबै डिस्चार्ज भएसँगै अस्पताल रित्तिएको हो ।

पछिल्लो  २ सातायता ११ संक्रमित भेटिएकोमा ७ जनाको अस्पतालमा र ४ जना घरमै आईसोलेसनमा बसेर निको भएको चौदण्डीगढीका नगरप्रमुख खगेन्द्र राईले बताउनुभयो ।

उनका अनुसार जिल्लामा कोविड संक्रमण उच्च हुँदै गएपछि जिल्लाका ८ वटै स्थानीयतह मिलेर बेलटचारमा कोविड अस्पताल सञ्चालनमा ल्याउँदा स्थानीय संक्रमितलाई धेरै सहज भएको छ । सशस्त्र प्रहरी बलको व्यारेक राख्न २ वर्षअघि नगरपालिकाले निर्माण गरेको संरचनामै कोविड अस्पताल सञ्चानलमा ल्याउँदा जिल्लाभरीका  जनतालाई फाइदा भएको मेयर राईले बताउनुभयो ।

चौदण्डीगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तेजबहादुर पोखरेलका अनुसार सञ्चानलमा आएको झण्डै ६ महिनापछि कोभिड अस्पतालका सबै संक्रमित निको भएको हो । पोखरेल स्वयं पनि २ साताअघि संक्रमित भएर होम आईसोलेसनमा रहेका थिए ।

चौदण्डीगढीकै कांग्रेस नेता प्रशान्त राई तथा अन्य २ जना संक्रमित पनि होम आईसोलेसनबाटै कोरोनालाई जित्न सफल भएको अस्पताल प्रमुखसमेत रहेका पोखरेलले बताउनुभयो । दिनमा आधा दर्जनसम्म संक्रमित भर्ना हुन आएको अस्पतालमा एकताका ३६ जनासम्म विरामीको उपचार गर्दागर्दै पोखरेल आफै संक्रमित हुनपुगेका थिए ।

हालसम्म सो अस्पतालमा ४५ महिलासहित १ सय ४५ जना संक्रमितको उपचार भईसकेको छ । उमेर समूह अनुसार ९ वर्षसम्मका २ बालिका, १० देखि १९ वर्षसम्मका ६ महिला ३ पुरुष, २० देखि ५९ वर्षसम्मका ३४ महिला र ९२ पुरुष तथा ६० वर्षमाथिका ३ महिला र ५ पुरुष संक्रमित निको भएको पोखरेलले जानकारी दिनुभयो ।

२ वर्षअघि निर्मित सशस्त्र प्रहरीका ४ वटा ब्लक रहेको खाली जग्गामा टेन्ट टाँगेर उपचार सेवा सुरु भएको अस्पताललाई दीर्घकालीन सेवा दिने उदेश्यले नयाँ पक्की भवन सम्पन्नको पूर्व संध्यामा पुगेको छ । २ करोड ६८ लाख १८ हजार २ सय १३ रुपैंया लागतमा निर्माणको अन्तिम चरणमा पुगेको ट्रस प्रविधिको भवनमा ८ स्थानीयतहबाट १ करोड र स्वीस सरकारले १ करोड ५० लाख सहयोग गरेको मेयर राईले बताएका छन् । अपुग रकम प्रतिनिधिसभा सदस्य डा. नारायण खड्काको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट लगाउने सल्लाह भईरहेको बताइएको छ ।

राईका अनुसार त्रियुगा, कटारी, चौदण्डीगढी र बेलका नगरपालिकाले १५ लाखका दरले सहयोग दिदा लिमचुङबुङ, ताप्ली, उदयपुरगढी र रौतामाई गाउँपालिकाले १० लाखका दरले बजेट दिएपछि अस्पताल सञ्चालन गर्दै नयाँ भवन बनाउन सहज भएको हो । त्रियुगा नगरप्रमुख बलदेव चौधरी अध्यक्षताको स्थानीयतहहरुको छाता संगठन ‘उदयपुर विकास बोर्ड’ को पहलमा कोविड उपचार गर्न अस्पताल खोलिएको हो । बोर्डको सचिव बेलका नगरप्रमुख दुर्गाकुमार थापा, कोषाध्यक्ष चौदण्डीगढी मेयर खगेन्द्र राई छन् भने अन्य स्थानीयतह प्रमुख सदस्य रहेका छन् ।

भवन निर्माण भएपछि २ जना विशेषज्ञ डा.को व्यवस्था गरेर कोविड अस्पताललाई साधारण अस्पतालमा रुपान्तरण गरेर सञ्चालन गर्ने लक्ष्य उदयपुर विकास बोर्डले लिएको जनाएको छ ।

 

प्रतिक्रिया