बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

सहकारी हस्तान्तरण : स्थानीयमा २९२, प्रदेशमा ३० 

पूर्णपुष्टि/उदयपुर, बैसाख २४ गते

-संघियता कार्यान्वयनसँगै सहकारी डिभिजन कार्यालय उदयपुरले आफ्ना काम कारवाही स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।  कार्यालयले सोमबार स्थानीय तहका पदाधिकारी तथा अधिकृतहरुलाई अभिमुखिकरण गरी काम कारवाही हस्तान्तरण गरेको हो ।

जिल्लाका ८ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई विभागको निर्देशनअनुसार सामग्रीहरु सहित काम कारवाही हस्तान्तरण गरिएको कार्यालय प्रमुख जितमान जिमिले बताउनुभयो । प्रमुख जिमिका अनुसार कार्यालयले सहकारी सम्बन्धि ऐन, कानुन व्यवस्था जस्ता बिषयमा स्थानीय तहका पदाधिकारी र अधिकृतहरुलाई जानकारी गराउँदै कार्यालयमा दर्ता भएका सहकारीहरु कार्यक्षेत्रअनुसार सम्बन्धित स्थानीय तहलाई जिम्मा लगाइएको हो ।

जिल्लामा ३ सय २२ वटा सहकारी संस्था रहेका छन् । त्यसमध्ये सम्बन्धित स्थानीय तहलाई कार्यक्षेत्र बनाएका २ सय ९२ वटालाई सम्बन्धित तहमा हस्तान्तरण गरिएको र बाँकी रहेका ३० वटा एक भन्दा बढि स्थानीय तहमा कार्यक्षेत्र बनाएकाले उनीहरुलाई प्रदेश सरकारमा बुझाउने तयारी भएको जनाइएको छ ।

स्थानीय तहमध्ये सबैभन्दा बढि त्रियुगा नगरपालिकामा १ सय १९ वटाले कार्यक्षेत्र बनाएका छन् । त्यसमध्ये १ सय ६ वटा हस्तान्तरण भएभने बाँकी १३ वटा प्रदेश सरकारमा हस्तान्रण हुनेछन् । त्यसैगरी सबैभन्दा कम लिम्चुङबुङ गाउँपालिकामा ६ वटा रहेकाछन् । यसमा ५ वटा सम्बन्धित र १ वटा प्रदेशमा हस्तान्तरण गरिने भएको छ ।

त्यसैगरी कटारी नगरपालिकामा ४८ मध्ये ४५ स्थानीय र ३ वटा प्रदेश, चौदण्डी नपामा ६१ मध्ये ५७ स्थानीय र ४ वटा प्रदेश र बेलका नपामा २७ मध्ये २५ स्थानीय र २ प्रदेश हस्तान्तरण गरिएको छ । गाउँपालिकातर्फ रौतामाई ३४ मध्ये ३० स्थानीय, ४ प्रदेश र उदयपुरगढीमा १७ मध्ये १४ स्थानीय ३ प्रदेश र ताप्लिमा १० मध्ये १० वटै स्थानीय सरकारलाई हस्तान्तरण गरिएको जिमिले बताए ।

हालसम्म कृषि, पशु, जनस्वास्थ्य, महिला विकास लगायतका कार्यालयहरु स्थानीय तहमा गईसकेका छन् ।

प्रतिक्रिया

%d bloggers like this: