मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

चिनिया कम्पनी र त्रियुगा नगरपालिकाबीच सम्झौता सम्पन्न

पूर्णपुष्टि/उदयपुर, जेठ १३ गते

-उदयपुरको त्रियुगा नगरपालिका र चिनिया कम्पनीबीच सोमबार सोलार हाइड्रोमा लगानी गर्ने सम्झौता भएको छ । मेयर बलदेव चौधरीका अनुसार नगरपालिका र चिनका प्रतिष्ठित कम्पनी जेङसी ग्रुपबीच सम्झौता भएको हो ।

नगरपालिकाको तर्फबाट मेयर चौधरी र कम्पनीको तर्फबाट जी.इ. सियोङले सम्झौतापत्रमा संयुक्त हस्ताक्षर गनुभयो । सम्झौता अनुरुप कम्पनीले सोलार हाइड्रोपावर, कृषि, सिंचाइ, स्वच्छ खानेपानी, सरसफाई, फर्निचर र पर्यटन जस्ता योजनाका लागि सम्झौता भएको छ । पहिलो चरणमा १५ मेगावाटको सोलार हाइड्रो पावर स्थापना गर्नसक्ने कम्पनीले आगामी तीन महिनादेखि काम थाल्ने भनेपनि छिट्टै गरेर दुईमहिनादेखि नै काम थाल्ने जनाइएको छ । पहिलो चरणको यो सम्झौतासंगै समग्रमा त्रियुगा सभ्याता र विकास तथा बरुवा बेल्दोभान एकिकृत विकास परियोजनाका लागि लगानी गर्न तयार चिनियाँ कम्पनी जेङसी ग्रुपले करिब डेड सय करोड लगानी गर्नका लागि प्रारम्भिक अध्ययनसमेत गरेको छ ।

दोस्रोचरणमा त्रियुगा सभ्याता र विकास तथा बरुवा–बेलदोभान विकासको एकिकृत परियोजना अन्तर्गत शिरदेखि तिरसम्म विविध योजनाहरु सञ्चालन हुने मेयर चौधरीले बताउनुभयो । अनमोल मल्टी प्रपोज कम्पनी जोइन्ट भेन्चरको माध्यमबाट त्रियगा नगरपालिका (स्थानीय सरकार), स्थानीय जनता र कम्पनी गरी थ्री पीपीको मोडलमा कार्य अगाडी बढाउन लागिएको उहाँले बताउनुभयो । नगरपालिकाले सयौं विघा उर्बर जमिनलाई बगरमा परिणत गराई चुनौतीकै रुपमा रहेका त्रियुगा नदी र बरुवाखोलालाई विकासमा ढालेर समृद्ध नगरपालिका बनाउन लागेको हो । करिब ३ खर्ब रुपैया लगानी लाग्नसक्ने १ सय मेगावटको सोलार हाइड्रोपावर स्थापना गर्ने उद्देश्य लिएको कम्पनीले त्रियुगा नगरपालिकाको चुहाडेस्थित कालिखोला तोरीबारीदेखि सप्तकोशीसम्मको करिब ४२ किलोमिटर दुरीको त्रियुगा नदीको दुबैतर्फ तटबाँध निर्माण, चुरे र महाभारत पहाडबाट आउने खहरे नियन्त्रण गरी कृषिका लागि सिंचाई गर्ने उद्देश्य लिएको छ । साथै बरुवा खोलाको बेलदोभान हाईड्याम निर्माण गरी विद्युत उत्पादन गर्ने, नगरपालिका क्षेत्रमा चुनढुंगाको सम्भाव्यता हेरी सिमेन्ट उद्योग स्थापना समेतका योजना रहेका छन् ।

बैकल्पिक सौर्य उर्जालाइ प्राथमिकता दिने भन्ने नेपाल सरकारको नीति अनुसार बैदेशिक लगानी भित्राएको मेयर चौधरीले बताउनुभयो । संघीय सरकार, प्रदेश सरकार र लगानी वोर्डको समन्वयमा काम अगाडि बढाउने तयारी रहेको उहाँले बताउनुभयो ।

पहिलो चरणको सम्झौता र प्रारम्भिक अध्ययनका लागि २७ सदस्यीय चिनिया कम्पनी टोलीलाई आइतबार नगरपालिकाले गाईघाटमा स्वागत गरेको थियो । टोलीलाई होटल कोहवरमा स्थानीय जातीय तथा सांस्कृतिक झाँकी प्रस्तुतीसहित खानपान र बासको व्यवस्था मिलाइएको थियो ।

प्रतिक्रिया

%d bloggers like this: