मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

उत्कृष्ट साकेला सिलिको विशेष प्रदर्शनी, इटहरी (तरहरा) प्रथम

पूर्णपुष्टि/उदयपुर, जेठ १४ गते

-पूर्वमा किराँत राई समुदायको महान पर्व उभौली साकेला धुमधामका साथ मनाउने क्रममा शनिबार र आइतबार उदयपुरमा लोप हुदै गएको र महत्वपूर्ण साकेला सिलिहरुको प्रदर्शनी भएको छ ।

नवौं गीत राई स्मृति साकेला सिलि प्रतियोगिताको आयोजनासहित भब्यरुपले साकेला सिलि प्रदर्शनी भएको हो । किराँत राई यायोक्खा प्रारम्भिक कमिटि गाईघाटद्वारा आयोजित प्रदर्शनीमा इटहरी नगरपालिका वडा नं. २० तरहरा साकेला समुहले सबैभन्दा उत्कृष्ठरुपले शिलिहरु प्रदर्शन गरेर प्रथम स्थान हाँसिल गरेको छ । नगद ३० हजार पुरस्कारसहित ४० तोला चाँदीजडित शिल्ड र प्रमाण पत्र पाएको तरहराले मोछामा, रैछाकुले, साकेला शिलि प्रदर्शन गरेको थियो ।
मोछामा, वापा–वामा, साकेला, चाबुङ (ढिक्की कुटेको), गाँसा सैमा (जाल हान्ने) सिलिहरु कौशलतापूर्वक प्रस्तुत गरेको मोरङको पथरी साकेला समुहले दोस्रो स्थान हाँसिल गरेको छ । उसले २० हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेको छ भने धरान उपमहानगरपालिका १९ पिपरा साकेला समुहले आकर्षकढंगले ५ वटा सिलीहरु प्रदर्शन गरी तेस्रो स्थान हाँसिल गरेको छ । नगद १० हजार र प्रमाण पत्र हात पारेको उक्त समुहले मोछामा, धरवासा (परेवा सिलि), तावा (मयुर), रैका (बेसारा), छिनैपा/नुई) बाँदर, धनुषको सिलिहरु प्रदर्शन गरेको थियो ।

त्यसैगरी त्रियुगा नगरपालिका ३ मोतिगडा साकेला समुह र त्रियुगा नगर कमिटि साकेला समुहले सान्त्वना पाएका छन् । नगद ७ हजार र प्रमाणपत्र प्राप्त गरेको नगर कमिटिले मोछामा, तावा, सिकिपरी (कुलपित्र, तयामा खियामा), मौवा (कल्चुडो), तयामा सिखयामा सिली प्रदर्शन गरेको थियो भने मोतिगडा समुहले मोछामा, नुई, छिनैपा (बाँदर, खारु (भस्मे फाँडेको), चारुइमा/चासुङ (अन्न भेला पार्ने), विदावारी सिली प्रदर्शन गरेको थियो ।

आयोजक समितिका अध्यक्ष प्रकास राईका अनुसार साकेलामा खास सिलिको महत्व रहन्छ । प्रकृति पुजक किराँत राई समुदायले सिलि मार्फत किराँती सभ्यता अनुरुपको प्रकृति, वातावरण, मौसम, खेतीपाती, जीवनसैली, गतिविधी, जीवजन्तु तथा पशुपन्छीको चालचलनलाई उतार्ने गर्दछन् । ढोल झ्याम्टाको तालमा साकेला नाँच्दै सिलिमार्फत नै अन्नबाली रोपेको, गोडेको, काटेको, झाँटेको र भकारीमा थन्काएकोसम्म देखाइन्छ । सिलिमार्फत गंगटा हिडेजस्तो, चरा उडेजस्तो, भाले भुट्भुटिए जस्तो, बाँदर उफ्रेजस्तो चाल, चलन र शैली अत्यन्तै आकर्षक र रमाईलो देखिन्छ । साकेला गीतमार्फत चेली–माइतीको पौरानीक गाथा र महत्व, किराँत पूर्खा सुम्निमा पारुहाङको चर्चा, बयान गरिन्छ । किराँती भेषभुषा, गरगहनामा सजिए हातमा चौरीगाईको पुच्चर, सेउली लिएर जोर ठोल, झ्याम्टाको तालमा नाँचिन्छ । नयाँ पुस्तामा साकेला सिली लोप हुदै गएकाले सिलीकै प्रवद्र्धनका लागि विशेष प्रदर्शनी राखिएको किराया नगर कमिटिका अध्यक्ष दिपक राईले बताउनभयो । विना सिलीको साकेला नाँच खल्लो हुने र त्यसले खासै महत्व नराख्ने भएकाले बाबु, बाजेहरुको पालामा नाचिने पुराना सिलीहरुसमेतको जगेर्ना र नयाँ नयाँ सिलिका लागि यस किसिमको कार्यक्रम गरिदै आएको छ । मूल्यांकनमा सबैभन्दा बढि अंक सिलीलाई नै प्रदान गरिएको निर्णायक मण्डलका सदस्य कर्णसेर राईले बताउनुभयो ।

किराँत सभ्याताको प्रवद्र्धनका लागि २०६४ सालदेखि गाईघाटमा हरेक उभौलीमा भब्यरुपले साकेला कार्यक्रमको आयोजना गरिदै आएको छ । जसमा गाईघाटका समाजसेवी नरध्वज राईले आप्mनी स्वर्गिय छोरी गिता राईको स्मृतिमा प्रथम पुरस्कार र ४० तोला चाँदीजडित शिल्डका साथै दश लाख रुपैयाको साकेला कोष खडा गरिदिनुभएको छ । यसवर्ष दोस्रो पुरस्कारका लागि हिमाली यातायात व्यवसायी संघ गाईघाटका अध्यक्ष प्रेम चामलिङले स्वर्गिय पत्नी प्रेमीला राईको स्मृतिमा “प्रेमीला राई स्मृति दोस्रो पुरस्कार” प्रदान गर्नुभयो भने डा. कैलास राईले स्वर्गिय आमा कुविरा राईको स्मृतिमा तेस्रो पुरस्का प्रदान गर्नुभएको हो । सान्वना पुरस्कारका लागि गाईघाटकी हिरामती राईले स्वर्गीय छोरा अरुण राईको स्मृतिमा र मिथला राईले स्वर्गिय पति लालसेर राई (त्रियुगा नगरपालिकाका प्रथम मेयर) को स्मृतिमा प्रदान गर्नुभयो । उदयपुरको चौदण्डी नगरपालिका ४ बसाहाका ढोलेले उत्कृष्ट ढोले घोषित भए भने तरहराका सिलिमपा र लिलिममा उत्कृष्ट ठहरिए ।

कुल देवता र पितृहरुलाई सम्झदै मुन्दुम भाकेर कुलधामीले साकेला फुकाउने र विधिवतढंगले नै मार्ने चलन छ । त्रिनपा ११ साकेलाटोल स्थित साकेलाथान र मोछोमा घरमा राईधामी निरबहादुर राईले विधिवतरुपमा पूजा गरी साकेला नाच खुल्ला गर्नुभएको थियो । कुलका धामीले फुकाएपछि मात्र साकेला नाच्ने, ढोल, झ्याम्टा बजाउने चलन छ र सोही ढंगले बीट मार्ने चलन छ । अहिले पनि राई समुदायको घरमा कुलपुजामा बजाईने ढोल, झ्याम्टा धामीले नखुलाएसम्म बजाउने चलन नरहेको किराँत अगुवा जीतमान राईले बताउनुभयो । कुल देवता र पित्रलाई नसुनाई चलाएमा रिसाउने भएकाले बर्षमा दुईपटक मंसीेरे पूर्णे (उधौली) र बैसाखे पूर्णे (उभौली)मा विशेष पूजाका साथ खुलाउने उहाँले बताउनुभयो । आप्mनो कुददेवता, पितृ ढोल, झ्याम्टा बजाएर साकेला नाचेमा खुसी हुने र फलिफाप मिल्ने पौराणिक विश्वास अनुरुप किराँत राई समुदायमा चलन चलि आएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

%d bloggers like this: