मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

नेपालले मलेसियालाई ६९ रनले हरायो

बैशाख ९

त्रिदेशीय ट्वान्टी–ट्वान्टी क्रिकेट श्रृङ्खलामा नेपालले मलेसियालाई ६९ रनले पछि पार्दै जित हात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको दुई सय १८ रनको लक्ष्य पछ्याएको मलेसियाले १९ ओभर एक बलमा अलआउट हुँदै एक सय ४८ रन मात्रै बनाउन सक्यो ।

मलेसियाका लागि अमिनुद्दिम राम्लीले सर्वाधिक ४१ रन बनाए । नेपालका सोमपाल कामी, सन्दीप लामिछाने र कमलसिंह ऐरीले तीन÷तीन विकेट लिए । सुशन भारीको नाममा एक विकेट रह्यो । आजै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका कमलसिंह ऐरीले पहिलो खेलमै तीन विकेट लिँदै करियरको उत्कृष्ट सुरुवात गरेका छन्  ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा सात विकेट गुमाएर दुई सय १७  रन बनायो । नेपालका करण केसीले १३ बलमा ७ छक्कासहित ४५ रन बनाए । यस्तै आशिफ शेखले ४२, ज्ञानेन्द्र मल्लले ४१, दीपेन्द्रसिंह ऐरीले ३३, कुशल भुर्तेलले १६, विनोद भण्डारीले आठ र सोमपाल कामीले दुई रन बनाए ।

कुशल मल्ल १९ रनमा नटआउट रहे । नेपालले आज बनाएको दुई सय १७ रन अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेटकै दोस्रो धेरै रन हो । यसअघि सन् २०१९ को साग गेममा नेपालले भुटानसँगको खेलमा बनाएको दुई सय ३६ रनको स्कोर अहिलेसम्मकै धेरै हो । यसअघि नै प्रतियोगिताको फाइनलमा पुगिसकेको नेपाल शीर्ष स्थानमा रहेको छ ।

आजको खेलमा नेपालले दुई खेलाडी परिवर्तन गरेको छ । अभिनाष बोहराको ठाउँमा कमलसिंह ऐरी र साहब आलमको ठाउँमा सुशन भारीलाई राखिएको छ । कमलसिंह ऐरीले टी ट्वान्टीमा डेब्यु गरेका छन् ।

आजको खेलबाट सन्दीप लामिछानेले टी ट्वान्टी क्रिकेटमा एक सय खेल पूरा गरेका छन् । उनी टी ट्वान्टी खेलमा सतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् ।

नेपालले अघिल्लो खेलमा मलेसियालाई ९ विकेटले हराएको थियो । नेपाल प्रतियोगिताको फाइनलमा पुगिसकेको छ भने मलेसिया बाहिरिसकेको छ । उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स पर्सि ११ गते खेल्नेछन् ।

प्रतिक्रिया