Date
बुध, असार २, २०७८
Wed, June 16, 2021

काेराेना खबर अपडेट : बिस्तृत खबर | जेठ ३, २०७८ – Purnaputi Khabar

पूर्णपुष्टि, जेठ ३ ।

उदयपुरमा कोरोना संक्रमण तिब्ररुपमा बढेको छ । जिल्लामा संक्रमितको संख्याले चारसय नाघेको छ । पछिल्लो २४ घण्टामा ४९ जना थपिएका छन् । यो जिल्लामा ठूलो संख्यामा थपिएको संक्रमण हो । त्रियुगा नगरपालिकाका २७, कटारी नगरपालिकाका १३, चौदण्डीगढी नगरपालिकाका २ जना, उदयपुरगढी गाउँपालिकाका ५ र ताप्ली गाउँपालिकाको १ जनामा संक्रमण पुष्टि भएको हो । १ सय १४ जनाको परिक्षण गरिदा २० महिला र २९ पुरुष गरी ४९ जना संक्रमित भेटिएका हुन् । परिक्षण एन्टिजेनबाट ५९ जना र पिसिआरबाट ५५ जनाको परिक्षण भएको जनाइएको छ ।

जिल्ला स्वास्थय कार्यालय उदयपुरका अनुसार ४९ जना संक्रमित थपिएसंगै जिल्लामा संक्रमितको संख्या ४ सय ३४ पुगेको छ । जसमा १ सय ८७ महिला र २ सय ४७ जना पुरुष रहेका छन् । संक्रमितहरु मध्ये ३ सय ९३ जनाको होम आइसोलेशनमा उपचार भईरहको छ भने ४१ जनाको संस्थागत आइसोलेशनमा उपचार भइरहेको छ । संक्रमितहरु मध्ये आजसम्म २३ जना निको भएका छन् ।

पछिल्लो दुईदिनमा उदयपुरमा कोरोनाले ज्यान जानेको संख्या ६ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको अनुसार आज धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा त्रिनपा ३ की एक महिलाको ज्यान गएको हो । हिजो एकैदिन पाँचजनाको ज्यान गएको थियो । एकजनाको बेल्टार अस्पतालमा विहानै मृत्यु भएको थियो । अन्य तीनजना विराटनगर र विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको थियो । हिजो बेलुका त्रिनपा १ जोगिदहका एक ३७ वर्षिय पुरुषको पनि उपचार नपाएरै ज्यान गएको थियो । होम आइसोलेशनमा बसेका उनी स्वास्थ्यमा समस्या आउनासाथ बेल्टार अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि जिल्ला बाहिर लैजान खोज्दा कतै अस्पतालमा बेड नपाएपछि जिल्ला अस्पताल बोक्से लगिएको थियो । अस्पताल लगिएको केहीबेरपछि उनको ज्यान गएको थियो । अक्सिजनको मात्र अत्यन्तै न्यून भइसकेको अवस्थामा आइपुगेका विरामीको केहीबेरमै ज्यान गएको अस्पतालका निमित्त मेडिकल सुपरिटेनडेन्ट जीवनारायण मण्डलले बताउनुभयो

डक्टर मण्डलका अनुसार राम्रो कोरोना अस्पताल बेलैमा लैजान पाएको भए उनी बाच्न सक्ने थिए ।

यो संगै उदयपुरमा मृत्यु हुनेको संख्या १३ जना स्वास्थ्य कार्यालयको तथ्यांकमा छ ।

कटारीका १ जनाको पनि आजै कोरोनाको कारण ज्यान गएको खबर छ । सुरक्षा स्रोतका अनुसार कटारीका ८० वर्षिय पुरुषहरुको ज्यान गएको हो । उनको विवरण स्वास्थ्य कार्यालयमा समेटिसकेको छैन ।

उदयपुरमा कोरोनन संक्रमित र ज्यान गुमाउनेको संख्या त्रियुगा नगरपालिकामा उच्च छ । यो संख्या सुरुदेखि नै उच्च कायम रहेको छ । जिल्लाको ४ सय ३४ संक्रमित मध्ये २ सय २३ जना त्रियुगाकै मात्र छन् । त्रियुगामा मृत्यु हुनेको संख्या ९ रहेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा जम्मा १३ जनाको मृत्यु हुदा ९ जना त्रियुगाकै हुन् ।

त्यसैगरी दोस्रो स्थानमा बेलका नगरपालिका ६६ जना संक्रमित छन् । त्यसैगरी चौदण्डीगढी नगरपालिकामा ६१, कटारी नगरपालिकामा ४८ जना संक्रमित रहेका छन् । गाउँपालिकाहरुतर्फ सबैभन्दा बढि रौतामाई गाउँपालिकामा १५ जना, दोस्रो संख्या उदयपुरगढीमा १२ जना छन् । त्यस्तै लिम्चुङबुङ गाउँपालिकामा ८ जना र ताप्ली गाउँपालिकामा १ जना रहेको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला अस्पताल उदयपुरमा दरबन्दी अनुसारको जनशक्ती नहुदा कोरोना महामारीको बेला काम गर्न असहज भएको छ । अस्पतालका प्रमुख डाक्टर निमित्त मेडिकल सुपरिटेनडेन्ट जीवनारायण मण्डलका अनुसार मुख्य गरी १४ जना डाक्टरको दरबन्दी रहेको अस्पतालमा दरबन्दी अनुसारको डाक्टर छैनन् । १० जना एमडी डाक्टरको दरबन्दी रहेपनि दरबन्दीमा कोही छैनन्, २ जना करारका डाक्टर राखिएका छन् । ४ जना एमबीबीएस डाक्टरको दरबन्दी रहेकोमा १ जनामात्र स्थायी दरबन्दीका छन् भने अन्य ५ जना करारमा राखिएका छन् ।

त्यसभन्दा तलका पदहरुमा पनि दरबन्दीका जनशक्ती नभई काम चलाउन करारमा नियुक्ती गर्नु परेको छ ।

हल कोरोना महामारीको अवस्थामा जनशक्तिको अति आवश्यक परेको मेसु मण्डलले बताउनुभयो ।

जनशक्तिहरु भएको खण्डमा नयाँ अप्रेशन थिएटर बनाउने, मेसिनहरु जोड्ने गर्न सकिन्थ्यो । तर त्यस्तो गर्न नसकिदा जनताको गुनासो आउने गरेको छ । ५० बेडको अस्पताल भनिए पनि जनशक्ति र मेसिनहरुको अभाव छ अस्पतालमा । कोरोनाको बेला अस्पतालमा दुईओटा भेन्टीलेटर र आइसियु रहेपनि भेन्टीलेटर चलाउनसक्ने दक्ष जनशक्ति नहुदा त्यतिकै थन्काउनु परकेो डाक्टर मण्डल बताउनुहुन्छ । भएका जनशक्तिहरुलाई अहिलेको अवस्थामा काम गर्न अति नै मुस्किल र चाँप परिरहेको उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले आज पनि निशेधाज्ञ अवज्ञा गर्नेहरुलाई कारवाही गरेको छ । अवज्ञा गर्दै चलेका ७९ वटा सवारी साधनलाई कारवाही गरेको हो । अनावश्यक हिड्डुल गर्नेहरुलाई सम्झाईबुझाई गर्नुका साथै जनचेतनामुलक कार्यक्रमहरुसमेत गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

देशिभर कोरोना संक्रमितको संख्या ४ लाख ६४ हजार २ सय १८ पुगेको छ । पछिल्लो २४ घण्टामा ९ हजार २ सय ४७ जना थपिएसंगै संक्रमितको संख्या सो परिमाणमा पुगेको हो ।

नेपालमा मृत्यु हुनेको संख्या ५ हजार २ सय १५ पुगेको छ ।पछिल्लो २४ घण्टामा २ सय १४ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६७ जनाले कोरोनालाई जित्दा देशमा निको हुनेको संख्या ३ लाख ४५ हजार ५ सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मञ्त्रालयले जनाएको छ ।

विश्वमा कोरोना संक्रमितको संख्या १६ करोड ३७ लाख २९ हजार ६४ पुगेको छ । गएको २४ घण्टामा विश्वभर ५ लाख ४४ हजार ४ सय ४८ जना कोरोना संक्रमितको संख्या थपिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाले विश्वमा ९ हजार ९ सय ३० जनाले ज्यान गुमाएसंगै विश्वमा मृत्यु हुनेको संख्या ३३ लाख ९३ हजार ६ सय ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ लाख १६ हजार ८ सय ५७ जना निको हुदा विश्वमा कोरोना जितेर निको हुनेको संख्या १४ करोड २२ लाख १६ हजार ५७ सय पुगेको छ ।

प्रतिक्रिया