शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

लिम्चुङबुङको क्षतीग्रस्त सडक मर्मत सुरु

उदयपुर, साउन २२ गते । 

अविरल वर्षाले क्षतीग्रस्त लिम्चुङबुङ गाउँपालिकाका केन्द्रसम्म पुग्ने सडक मर्मत सुरु भएको छ । गाईघाट–मुर्कुची–लिम्चुङ्बुङ सडकको  पुँवारे, टाट्ने र माझखर्क गरी तीनस्थानबाट एकैसाथ मर्मतका कार्य मंगलबारदेखि मर्मत सुरु गरिएको हो ।

वर्षात यता प्राकृतिक नाकाबन्दीमा परेको सो पालिकाको केन्द्रलाई जोड्ने गरी मर्मत कार्य थालिएको लिम्चुङबुङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भक्त राईले बताए । रौतामाई गाउँपालिका हुदै जाने भएकाले उक्त मर्मत कार्यमा सो पालिकाको पनि सहभागिता रहेको छ ।

रौतामाईका अध्यक्ष गजेन्द्रबहादुर खड्काका अनुसार पूर्वधार विकास मन्त्रालय, १ नं. प्रदेशले २० लाख रुपैया सहयोग गर्ने र त्यसमा हुने थप लागत दुईवटा पालिकाले व्यहोर्ने भएको छ । “मुर्कुची–पुवारे––डिल्लिबर–माझखर्कसम्मको सडकमा प्रदेश सरकारले गरेको सहयोग भन्दा बढि लागेको लागत हामी दुई पालिकाले व्यहोर्नेछौं ।” अध्यक्ष खड्काले भने “ करिब ४० लाखसम्ममा मर्मत कार्य पुरा होला भन्ने अनुमान छ ।” अध्यक्ष खड्कासहितको टोलीले आज मर्मत कार्य भईरहेको सडकको अनुगमन गरेको छ ।

मुर्कुची–पुँवारे–डिल्लिबर–माझखर्क–लिम्चुङ्बुङ सडक मर्मत उपभोक्ता समितिका अध्यक्ष मनोज बुढाथोकीले तीन ठूला स्काईभेटर मेसिन लगाएर तीनै ठाउँबाट एकैसाथ सडक मर्मत सुरु गरिएको बताए । वर्षाले आएको पहिरोले आधा दर्जन बढी स्थानमा ठूलो पहिरो गएको अध्यक्ष बुढाथोकीले बताए ।

वर्षात नभएको खण्डमा एक हप्ताभित्र लिम्चुङबुङको केन्द्र बाराहासम्म गाडी पु¥याउने लक्ष्य रहेको उनले बताए । सोही अनुरुप काम भईरहेको उनले बताए । लामो खडेरीपछि एक्कासी परेको अविरल वर्षाले सडक अवरुद्ध बनाउँदा पालिकाबासी खाद्य संकटमा छन् ।

कम्तिमा सडक मर्मत गरी पालिकासम्म खाद्यन्न ढुवानी गर्ने उद्देश्य रहेको छ ।

प्रतिक्रिया

%d bloggers like this: