सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

सरकारी गाडीको दुरुपयोग बढ्दो

सम्पादकीय

गएको शनिबार प्रहरीले एक प्रशंसनीय काम नै गर्यो । उसले छाडारुपले गुडिरहेको सरकारी गाडीलाई नियन्त्रणमा लियो । प्रशासन कार्यालयको पास नै नलिई आफुखुसी विदाका दिन प्रयोग गर्ने ९ वटा सवारी साधन प्रहरी नियन्त्रणमा पर्यो । यसरी सरकारी सवारी साधनको दुरुपयोग गर्ने कुनै पनि कर्मचारीलाई छुट छैन । यो कानून, नियम विपरित कार्य हो तर, नियमन निकायले यसको निगरानी र कडाई गर्न सकिरहेको छैन । उसले कडाई गर्न नसकेको प्रतिफल नै यसरी छाडारुपमा सरकारी सवारी साधनहरु विदाका दिन पनि आफुखुसी चलिरहेको ।  सरकारी निकाय जो आफैले नियमको खिलाफ चल्नु सामान्य कुरो हैन । त्यस्तालाई कडाइ गर्नु र दण्ड सजाय भोगाउनु पर्ने काम पनि नियमन निकायकै हो । तर, यस्ता काम भईरहेको छैन ।

उदयपुर जिल्लामा नयाँ सिडियोको आगमन, नयाँ सुरक्षा प्रमुखहरुको आगमन जस्ता कुराले पनि यो केही सक्रियता देखिएको वा देखाइएको हुनसक्छ । सुरुमा केही सक्रियता देखाउने चलन पुरानै चलिआएको हो । यसो भन्दैमा सबै एकै नासे हुन्छन् भन्ने पनि हुदैन । कसैकसैले अरु भन्दा फरक र उदाहरणीय काम गरेर जाने उदाहरणहरु पनि प्रशस्त छन् । जे जस्तो भएपनि गएको शनिबार प्रशासनकै निर्देशनमा हुनसक्छ प्रहरीले निगरानी बढायो र ९ वटासम्म सरकारी गाडीहरु दुरुपयोगको अवस्थामा फेला पार्यो । ट्राफिक प्रहरीले सरकारी नम्बर प्लेटका सवारी साधन देखेपछि रोकेर पास खोज्यो, ती गाडीहरुले दिन सकेनन् ।

जिल्ला हुलाक कार्यालय उदयपुरको स १ ब ३४८ नम्बरको गाडी, पूर्वधार विकास कार्यालय उदयपुरको ब १ ब ७३८० नम्बरको गाडी, उदयपुरगढी गाउँपालिकाको बा १ झ २८०१ नम्बरको गाडी, जिल्ला मालपोत कार्यालय उदयपुरको स १ ब ३०६ नम्बरको गाडी, त्रियुगा नगरपालिकाको स १ ब ३४७ नम्बरको गाडी पास विहिन अवस्थामा फेला परेका हुन् । त्यस्तै कर्जना नगरपालिका सिराहाको ना १ झ १६५४ नम्बरको गाडी, सुरुङगा गाउँपालिका सप्तरीको स १ ब ११५१ नम्बरको गाडी, भरेलु तथा साना उद्योग सप्तरीको स १ ब ४३७ नम्बरको गाडी र दुधौली नगरपालिका सिन्धुलीको स १ ब ७८६ नम्बरको गाडी पनि पास विहिन अवस्थामा फेला परेका हुन् ।  यस्तो कार्यले निरन्तरता पाउनुपर्छ । किनकी जनताको करले किनिएका ति सवारी साधनहरु जनताको सेवाका लागि हो । कुनै कर्मचारीको मनोमानी र नीजि कामको लागि होइनन् । सवारी साधन नहुँदा जनताको काम प्रभावित नबनोस् । काम छिटो छरितो बन्न सकोस् भन्ने हेतुले सरकारले दिएका वा सम्बन्धीत निकायले किनेका सवारी साधनहरुको निगरानी बढाउनै पर्छ । यस्तो अवस्थामा धेरै मोटरसाईकलहरु पनि छन् । ट्राफिक प्रहरीले मात्र हैन, यस्तो दुरुपयोगको खबरदारी हरेक नागरिकले पनि गर्नुपर्छ ।

पक्राउ परेका ती सरकारी सवारी साधनहरु सामान्य चेतावनीमा छुटेको पाईयो । कारवाही विनै सामान्य चेतावनीमा छाडिदा फेरी नियमको उलंघन हुने र दुरुपयोग बढ्ने हुन्छ । यस कुरामा भने सम्बन्धीत निकायको ध्यान पुग्न जरुरी छ । सरकारी तथा सार्बजनिक सम्बत्तिहरु विल्कुदै दुरुपयोग हुनु हुदैन । त्यसको संरक्षण हरेक नागरिकको दायित्व पनि हो ।

गएको शनिबार प्रहरीको यो कदमले झस्किएका सरकारी सवारी साधन चालक तथा प्रयोगकर्ता कर्मचारी तथा जनप्रतिनिधिहरु आगामी दिनमा कति सचेत र नियम पालक हुन्छन्, व्यवहारमा हेर्न बाँकी छ । हरेक नागरिकले चियोचर्चो गर्नु र निगरानी तथा खबरदारी गर्नु जरुरी छ । नागरिकको चासो बढेमा प्रहरीको सक्रियता पनि बढ्दछ भने सम्बन्धीत पक्षहरु पनि सजक हुन्छन् । यसबाट सरकारी सम्पत्ति वा साधनको दुरुपयोग जोगिन्छ । सरकारी सम्पत्ती जोगिनु भनेको नागरिकको सम्पत्ति जोगिनु हो ।

बेलाबेलामा कतिपयले सरकारी गाडी प्रयोग गरेर निजी भ्र्र्रमण गर्ने, पिकनीक जाने, डिस्कोतिर जाने गरेको पनि सुन्न र समाचार पढ्न पाईन्छ । कम्तिमा उदयपुरे जनप्रतिनिधि तथा कर्मचारीहरु यस्तो दोषमा नपरुन् ।  दुरुपयोगकप्रतिको खबरदारी कार्यले निरन्तरता पाउनुपर्छ । आउदो शनिबारदेखि दोहोरिएको अवस्थामा कोही फेला परे भने कारवाही नै गर्नुपर्दछ । अनिमात्र बढ्दोरुपमा रहेको सरकारी गाडी दुरुपयोगको अवस्थामा कमी आउछ ।

 

साउन, २१ गते पूर्णपुष्टि पत्रिकामा प्रकाशन भएको ।

प्रतिक्रिया

%d bloggers like this: