सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

कटारी महोत्सव असोज ११ देखि १७ सम्म हुने

ऋषि राई 

कटारी/साउन, २८ गते ।

उदयपुरको कटारीमा प्रथम कटारी ऐतिहासिक पर्यटन तथा साँस्कृतिक महोत्सव हुने भएको छ । कला संस्कृतिको संरक्षण प्राकृतिक सम्पदा र पर्यटन प्रवद्धृन तथा स्रष्टा सम्मान हाम्रो अभियान भन्ने मूल नाराका साथ आगामी असोज ११ गतेदेखि १७ गतेसम्म महोत्सव हुने भएको हो ।

कटारी नगरपालिकाको आयोजनामा हुने महोत्सवको लागत २८ लाख बढी हुने अनुमान गरिएको छ । आज कटारीका पत्रकारहरुसँग अनौपचारिक छलफल गर्दै महोत्सव संञ्चालक समितिका सचिव नेत्र बहादुर राईले अहिले प्रायोजक र सह प्रायोजकको टुंगो लगाउने कामको प्रकृया अन्तिममा पुगेको बताउनुभयो ।

त्यसैगरी समितिका अध्यक्ष टेकराज लाङ्घाली मगरले महोत्सब सफल पार्न सबैलाइ सहयोगको अपिल गर्नुभयो । महोत्सवका लागि कटारी नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ बाट १५ लाख बजेट समेत छुट्याएको छ । महोत्सवका लागि आज नै नगरपालिकासँग सम्झौता भईसकेको पनि समितिले जनाएको छ ।

विगतको महोत्सव भन्दा फरक र नगरले पर्यटन ,संस्कृतिको क्षेत्रमा उपलब्धिमूलक रुपमा महोत्सव आयोजना गर्न लागेको सचिव राईले बताउनुभयो । ‘प्रत्येक वडामा पुगेर सल्लाहा सुझावका साथै त्यहाँको प्रवद्धृन गर्नुपर्ने कुराहरुलाई समावेश गर्छौं’राईले भन्नुभयो –‘नगरपालिकाको जनप्रतिनिधिहरुको पनि महोत्सवका लागि एउटा समिति बनाएर चुस्त दुरुस्त रुपमा लाग्ने कुरा भएको छ ।’

महोत्वसको गेटमा नगरपालिकाकै टिकट विक्री हुने र सो पैसा नगरपालिकामा नै जाने पनि समितिले जानकारी दिएको छ । ‘उक्त पैसाबाट पर्यटनका लागि केहि न केहि पूर्वाधार बनाउने योजना मेयरसावको रहेछ । ’सचिव राईले भन्नुभयो –‘पर्यटन प्रवद्धृनको स्टललाई नै प्राथमिकतामा राख्नेछौं ।’महोत्सवमा चर्चित कलाकारहरुको प्रस्तुती , तथा विभिन्न नृत्य प्रतियोगिता लगायतका कार्यक्रम समेत आयोजना गरिनेछ ।

प्रतिक्रिया

%d bloggers like this: