सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

नेपालमा भेटियो मकै सिध्याउने फौजी किरा

साउन ३१ गते । 

अमेरिकी फौजी किरा नेपालमा फेला परेको छ । मकै बाली सखाप पार्ने किरा नेपालमा प्रवेश गरेको पुष्टि भएको हो ।

ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, नवलपरासीलगायतका जिल्लाका मकै खेतिमा यस किराको संक्रमण भेटिएको प्लान्ट क्वारेन्टाइन तथा विषादी ब्यवस्थापन केन्द्रले जनाएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का किट वैज्ञानिक अजयरत्न बज्राचार्य र बिनु भाटको अनुसन्धानमा फौजी किरा नेपाल प्रवेश गरेको पुष्टि भएपछि प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले किराबारे थप अनुसन्धान अगाडि बढाएको थियो ।

नेपालमा पहिलोपटक देखिएको यो किराले छोटो समयमै मकैबाली सखाप पार्ने भएकाले कृषि क्षेत्रमा चिन्ता थपिएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीले बताए ।

पूर्वको झापादेखि पश्चिमको दाङ जिल्लाका विभिन्न भागबाट संकास्पद नमूना केन्द्रले परिक्षणका लागि भारत पठाएको थियो । भारतीय कृषि अनुसन्धान परिषद्को कृषि किट संशाधन ब्यूरो बैङ्लोरले गरेको परिक्षणमा अवशेष पुष्टि भएको प्रवक्ता सुवेदीले बताए ।

हल्का खैरो र सादा पहेँलो रङ्गको यो किराको अण्डा ०.४ लामो र ०.३ एमएम अग्लो हुन्छ । उस्तै उचाईका तर ४.५ सेन्टिमिटर लामो यसको लाभ्रा हुन्छ । यो किराको वयस्क भाले १.६ सेन्टिमिटर लामो र यसको पखेटाको फैलावट ३.७ सेन्टिमिटर हुन्छ ।

किराको वयस्क पोथी भालेभन्दा केही ठूलो हुन्छ । वयस्क पोथी १.७ सेन्टिमिटर लामो र यसको पखेटाको फैलावट ३.८ सेन्टिमिटर हुने किराहरुको वैज्ञानिक इन्साइकोपिडियाले उल्लेख गरेको छ ।

अमेरिकापछि पहिलोपटक सन् २०१६ मा पश्चिमी अफ्रिकामा देखिएको फौजी किरा अहिले एसियाको २५ मुलुकमा फैलिएको छ । यो किराको पुतली एक रातमा १०० किलोमिटरसम्म यात्रा गर्न सक्ने वैज्ञानिकहरुको दाबी छ ।

किराले भर्खरै उम्रदै गरेको पातदेखि डाँठ, घोगा र बोट नै सखाप पार्छ । नेपालको प्रमुख खाद्यान्न बाली भनेर चिनिएको मकैको उत्पादनमा किराले ठूलो असर र्पुयाउन सक्ने प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत एवं प्रवक्ता रामकृष्ण सुवेदी बताए ।

प्रतिक्रिया