शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

होटलमा नेपाली रैथाने खानाको मेनु अनिवार्य

भदौ १३ गते ।

नेपाली रैथाने खाना परिकारको मेनु ठूला होटेलमा अनिवार्य राख्नुपर्ने भएको छ । विशेष गरी सरकारले चारतारे र पाँचतारे होटेलका लागि नयाँ मापदण्ड तोक्न लागेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले वार्षिक कार्ययोजनामा १५ दिनभित्र नयाँ मापदण्ड तोक्ने प्रतिबद्धता जनाएको छ । नेपाली मौलिक खानाहरुको प्रचारप्रसार गर्नका लागि ठूला होटलले नेपाली मौलिक खानाको छुट्टै स्थल हुनुपर्ने गरी होटेल मापदण्ड तोक्ने मन्त्रि भट्टराईले बताए ।

नेपालमा १५ वटा पाँचतारे होटेल स्थापना भइसके पनि विदेशी खानाले गर्दा नेपाली मौलिक परिकार लोप हुदै गएको छ । अहिले यस होटेलहरुमा इटाली, फ्रान्स, टर्की, चिनियाँ, भारतीय, थाइ, मलेसियन, जापानिज, कोरियन खाना प्रचलित रहेको छ ।

मौलिक परिकारको अन्तराष्ट्रियकरण गर्नका लागि सरकारले पहल गर्ने भएको छ । प्रवद्र्धनका लागि हरेक गतिविधिमा परिकार अनिवार्य गर्ने र बुकलेट प्रकाशन गरेर खानालाई समावेश गर्ने योजना बनाएको मन्त्रालयले जनाएको छ ।

अवको तीन महिना भित्र अन्तराष्ट्रिय पर्यटन प्रवद्र्धनका हरेक गतिविधिमा मौलिक परिकारलाई समावेश गरी प्रवद्र्धनको योजना बनाइएको छ । यसको जिममेवारी नेपाल पर्यटन बोर्डलाई दिइएको छ ।

होटेल संघ नेपाल र सेफ एशोसिएशन नेपालको पहलमा देशैभरीबाट करीब २ सय रैथाने खाना छनोट गरी ‘कुकबुक’ सार्वजनिक गरिएको थियो । त्यसमध्ये २८ रैथाने खानालाई अन्तर्राट्रिय प्रवद्र्धनमा लैजाने प्रतिवद्धता सरकार, निजी क्षेत्र र पर्यटन बोर्डले गरिसकेका छन् ।

उक्त छनोमा परेको रैथाने खानालाई पाँचतारे होटेलको मेनुमा समेट्ने सहमति भएको होटेल संघ नेपाल (हान)ले जनाएको छ । रैथाने खानाको प्रवद्र्धन अपरिहार्य भएपनि ठूला होटेलबाट स्वैच्छिक रुपमा रैथाने खाना प्रवद्र्धधनमा पहल नभएपछि अनिवार्य गर्न लागिएको जनाएको छ ।

सरकारले मापदण्ड नै तोक्दा लागू गर्न सजिलो हुने भएकाले मन्त्री भट्टराईले हानसँगको सहकार्यमै उक्त नीति आफ्नो कार्ययोजनामा समेटेका हुन् ।

देशका विभिन्न जातजातिले मौलिक रूपमा पकाउने रैथाने परिकारलाई छनोट गरी त्यसबाट उत्कृष्ट परिकार छनोट गरिएको थियो । रैथाने खाना छनोट गरी त्यसलाई विदेशको नेपाली रेष्टुरेन्ट र नेपालका ठूला होटेलबाट प्रवद्र्धन गर्ने गरी एक वर्ष अगाडि नै अभियान चलाइएको थियो । तर, होटेलले चासो नदिएपछि मापदण्ड नै तोकेर अनिवार्य गर्न लागिएको हो ।

नेपाली मौलिक खानामा क्वाँटी, सिस्नोको झोल, फाँडो, ज्वानोको झोल, पंचका (आलुतामा बोडीको झोल) सुपको रुपमा प्रयोग गरिएको छ । त्यस्तै चुक, सखरखण्ड, ताजा सागपातको सलाद, चुकौनी, टिमुरे आलु, फूलौरा खाजा हो ।

सेकुवा, तरुवा, पकुवा, छोयला, साँधेको, उसिनेको, मम, चटामरी, ढुंग्रे रोटी, बारा, जोगिभात, दालभात, हिमाली ढिँडो मुख्य खानाको रुपमा राखिएको छ । त्यस्तै योमरी, सिकर्नी, दहीफल, खिर, ठेकुवा डेजर्टमा राखिएको छ ।

प्रतिक्रिया